आमा


हजारौं पीडाहरु बिर्सिएर
नौ महिना कोखमा राखी
अस्पतालको शैयामा
शल्यक्रियाको आर्तनाद पीडालाई
खटेर या भनौं बिलकुल बिर्सिएर
मलाई हेर्न आत्तिएको त्यो अनुहार

दशधारा दूध पिलाउदै
ताते ताते गराउदै
म पल्टिएर रुनु भन्दा पहिला
भक्कानिएर आँसु झार्ने त्यो कोमल मन

बिद्यालयको पहिलो दिन
वातावरण नयाँ नौलो थियो
मैले न्यास्रो मान्नु भन्दा पहिला नै
अत्तालिएर बस्ने त्यो मन

बच्चाको उल्लासमय सफलतामा
खुशीका साथ साथै
भबिष्यमा के होला भनी
चिन्ता राखिराख्ने त्यो मन
असफलताको कठिन घडिमा
मलिन मलिन भइरहने ती अनुहार

हो त्यही अनुहार हेर्न दिन
आज आमाको मुख हेर्ने दिन

यो स्वार्थले भरिएको संसारमा
निस्वार्थ प्रेम गर्ने आमा
यो शर्तबद्धताको संसारमा
शर्तविहिन त्याग गर्ने आमा
मेरो सफलता र असफलतामा
स- प्रेम स्वीकार्ने मेरी आमा
हामी सबै सबै कि आमा

दया र करुणाको खानी हौं आमा
प्रगतिको लागि प्रेरणाको स्रोत हौं आमा
हमेशा तिम्रो नजिक हुन पाउ आमा
मातातीर्थ औंशीको शुभकामना आमा॥

प्रतिक्रिया दिनुहोस