लेखनाथ खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा मुरारी शर्मा निर्वाचित

पोखरा महानगरपालिका–२७ स्थित लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २५औँ रजत जयन्ती, २१औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ। अध्यक्ष पदमा मुरारी शर्मा निर्वाचित भएका छन्।

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा खसेको १२२ मतमध्ये मुरारी शर्माले ४० मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिस्पर्धी पुष्पकमल ढुङ्गानाले ३८ मत र नारायणी भट्टराई रक्षाले ३७ मत प्राप्त गरेका थिए। निर्वाचनमा खसेका मतमध्ये ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।

अधिवेशनअघि अन्तिम समयसम्म सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा जानुपरेको थियो। निर्वाचित अध्यक्ष शर्मा संस्थाका बहालवाला अध्यक्ष हुन् भने पुष्पकमल ढुङ्गाना बहालवाला उपाध्यक्ष र नारायणी भट्टराई रक्षा बहालवाला सचिव हुन्।
अन्य पदहरू भने सर्वसम्मत रूपमा चयन गरिएको थियो। खुला सदस्यमा डम्मरबहादुर थापा, मेघराज भण्डारी, भरत न्यौपाने, मुकुन्द घिमिरे, सूर्यनाथ भण्डारी र टिकाराम भुर्तेल चयन भएका छन्। महिला सदस्यमा विमला कुमारी थापा बस्नेत, पार्वती अधिकारी पौडेल र राधा सापकोटा निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको रहने संस्थाले जनाएको छ। नयाँ नेतृत्वले संस्थाको सेवा विस्तार, खानेपानी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तथा उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस