थाक गाउँ जोड्ने सडक निर्माण योजनाको आर्थिक सार्वजनिक कार्यक्रम सम्पन्न

मादी गाउँपालिका–७, कास्की।मादी गाउँपालिका वडा नं. ७ अन्तर्गत रहेको थाक गाउँ जोड्ने सडक निर्माण योजनाको आर्थिक सार्वजनिक तथा प्रगति समीक्षा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गाउँको दीर्घकालीन विकास, यातायात पहुँच विस्तार तथा स्थानीय जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त योजनाको निर्माण कार्य सम्पन्न भएपछि आर्थिक पारदर्शिता र जनउत्तरदायित्वलाई प्रवर्द्धन गर्ने हेतुले आर्थिक सार्वजनिक कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रम थाक गाउ जोड्ने सडक निर्माण उपाभोक्ता समितिका अध्यक्ष श्री शेर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष श्री दुर्गा बहादुर गुरुङको उपस्थिति रहेको थियो। त्यसैगरी थाक गाउँ जोड्ने सडक निर्माण अभियानका परिकल्पनाकार तथा आर्थिक संकलन समितिका संयोजक श्री विष्णु बहादुर गुरुङ, अनुगमन समितिका संयोजक तथा युवा नेता श्री बालकृष्ण गुरुङ, स्थानीय समाजसेवी, बुद्धिजीवी, भद्रभलाद्मी, आमा समूहका प्रतिनिधि, युवा क्लबका पदाधिकारी, निर्माण उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन निर्माण उपभोक्ता समितिका सचिव श्री रामप्रसाद गुरुङले गर्नुभएको थियो।

कार्यक्रममा आर्थिक संकलन समितिले योजनासम्बन्धी सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गरेको थियो। प्रस्तुत विवरणअनुसार मादी गाउँपालिकाबाट प्राप्त रु. ३३,२४,६८८ र स्थानीयवासी तथा विभिन्न सहयोगदाताबाट संकलित रु. ७१,००,८९० गरी साझेदारी योजनाअन्तर्गत जम्मा रु. १,०४,२५,५७८ को लागतमा सडक निर्माण कार्य सम्पन्न भएको जानकारी गराइएको थियो। आर्थिक विवरण सार्वजनिक गरिएपछि उपस्थित स्थानीयवासीहरूले योजनाको पारदर्शिता तथा उत्तरदायित्वप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।

कार्यक्रममा बोल्दै आर्थिक संकलन समितिका संयोजक विष्णु बहादुर गुरुङले थाक गाउँसम्म सडक पु¥याउने सपना धेरै वर्षदेखिको साझा आकांक्षा रहेको उल्लेख गर्नुभयो। उक्त सपना साकार पार्न आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग गर्ने सम्पूर्ण गाउँवासी, देश तथा विदेशमा रहेका सहयोगी दाजुभाइ–दिदीबहिनी, मादी गाउँपालिका तथा वडा कार्यालयप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले गाउँको विकासका लागि सबैको एकता, सहयोग र प्रतिबद्धता नै मुख्य शक्ति भएको बताउनुभयो।

प्रमुख अतिथि एवं वडाध्यक्ष दुर्गा बहादुर गुरुङले आफ्नो मन्तव्यमा थाक गाउँ जोड्ने सडक निर्माण केवल एउटा भौतिक पूर्वाधार मात्र नभई गाउँको समग्र विकाससँग जोडिएको ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँले सडक निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

वडाध्यक्ष गुरुङले स्थानीय सरकारको स्रोत र साधन सीमित भए पनि जनताको सक्रिय सहभागिता, सहयोग र साझेदारीमार्फत ठूला तथा दिगो विकासका कामहरू सम्भव हुने उदाहरणका रूपमा यस योजनालाई लिन सकिने बताउनुभयो। उहाँले विकास निर्माणका काममा प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने आर्थिक संकलन समिति, निर्माण उपभोक्ता समिति, अनुगमन समिति, स्थानीय समाजसेवी, युवा क्लब, आमा समूह तथा सम्पूर्ण स्थानीयवासीलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो।

त्यसैगरी अनुगमन समितिका संयोजक तथा युवा नेता बालकृष्ण गुरुङले गाउँको विकासका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो। उहाँले विकास निर्माणका कार्यहरूलाई पारदर्शी, गुणस्तरीय र दिगो बनाउन समुदायको निरन्तर निगरानी तथा सहभागिता आवश्यक हुने धारणा राख्नुभयो। सडक निर्माणपछि गाउँको आर्थिक तथा सामाजिक विकासमा नयाँ अवसरहरू सिर्जना हुने विश्वास समेत व्यक्त गर्नुभयो।

कार्यक्रममा विभिन्न वक्ताहरूले थाक गाउँ जोड्ने सडक निर्माण योजनाले स्थानीयवासीको लामो समयदेखिको चाहना पूरा गरेको उल्लेख गर्दै यसले गाउँको समृद्धि र विकासको नयाँ ढोका खोल्ने बताएका थिए। सडक निर्माणसँगै दैनिक आवतजावत सहज हुने, कृषि उत्पादन बजारसम्म पुर्‍याउन सुविधा हुने, स्वास्थ्य तथा शैक्षिक सेवामा पहुँच बढ्ने र गाउँको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिएको थियो।

निर्माण उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर गुरुङले समापन मन्तव्य व्यक्त गर्दै योजनाको सफल कार्यान्वयनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा निकायप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो। गाउँको विकासका लागि निर्माण उपभोक्ता समितिको अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गर्न पाएकोमा आफूलाई गौरवान्वित र भाग्यमानी महसुस भएको बताउँदै आगामी दिनमा पनि गाउँको विकास र समृद्धिका लागि निरन्तर योगदान दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले थाक गाउँ जोड्ने सडक निर्माण योजना स्थानीय सरकार र समुदायबीचको सहकार्य, एकता, पारदर्शिता र साझेदारीको उत्कृष्ट नमुना भएको बताएका थिए। उनीहरूले आगामी दिनमा पनि यस्ता विकास निर्माणका कार्यहरूमा सबै पक्षको सक्रिय सहभागिता र सहयोग कायम रहने विश्वास व्यक्त गरेका थिए।

स्थानीय सरकार, जनप्रतिनिधि, निर्माण उपभोक्ता समिति, आर्थिक संकलन समिति, अनुगमन समिति तथा सम्पूर्ण स्थानीयवासीहरूको साझा प्रयासबाट सम्पन्न भएको थाक गाउँ जोड्ने सडक निर्माण योजना मादी गाउँपालिका–७ को विकास यात्रामा एक महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धिका रूपमा स्थापित भएको छ।

प्रतिक्रिया दिनुहोस