मादी, कास्की । मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष दुर्गा बहादुर गुरुङले आर्थिक वर्ष २०८३/०८४ को योजना तर्जुमा तथा वडा भेलामा आफ्नो चार वर्षे कार्यकालमा सम्पन्न भएका विकास निर्माण तथा जनसेवामूलक कार्यक्रमहरूको विस्तृत विवरण प्रस्तुत गर्नुभएको छ।
वडाध्यक्ष गुरुङले २०७९ सालको स्थानीय तह निर्वाचनपछि “विकास, सेवा र सुशासन” लाई मूल आधार बनाएर वडा सञ्चालन गरिएको बताउँदै सीमित स्रोतसाधन र भौगोलिक चुनौतीका बाबजुद वडा नं. ७ लाई विकासको गतिमा अगाडि बढाउन सफल भएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार पालिका र स्थानीयको लागत साझेदारीमा थाक गाउँ जोड्ने सडक, पानीघाट समाजघर जाने सडक, नौलेडाँडा गाउँ जाने सडक लगायतका विभिन्न सडकहरूमा ढलान तथा स्तरोन्नति गरिएको छ। साथै ढोडेनी, सूर्यडाँडा, महाघारी तथा लेखनाथ खानेपानी मुहान क्षेत्रका सडक सुधार, तल्लोछाचोक–उपल्लो स्वर–सिम्ले–धानुबास सडक विस्तार तथा मादी–५ हुँदै ढोडेनी सडक विस्तारका कार्य अगाडि बढाइएको छ।
पैदल यात्रीहरूको सुविधाका लागि ठकुरी गाउँदेखि तिलहारसम्म, महाघारीदेखि धानुबास आधारभूत विद्यालयसम्म तथा थाक गाउँभित्र विभिन्न सिँढी बाटो निर्माण गरिएको जानकारी पनि उहाँले दिनुभयो।
स्वास्थ्य क्षेत्रतर्फ विभिन्न संघसंस्थासँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको, प्रत्येक तीन महिनामा घुम्ती स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको तथा मादी आधारभूत अस्पतालमा चिकित्सकसहित रात्रिकालीन सेवा सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो। साथै पालिका स्तरीय अस्पताल निर्माण तथा अस्पताल भवन विस्तार र कर्मचारी आवास निर्माणको कार्य अगाडि बढिरहेको जानकारी दिनुभयो।
शिक्षा क्षेत्रमा विद्यालय बस व्यवस्थापन, अंग्रेजी माध्यमको पठनपाठन, आवश्यक शैक्षिक सामग्री व्यवस्थापन, एसईई परीक्षार्थीका लागि छात्रावास सेवा तथा विद्यालय पूर्वाधार विकासका कार्यहरू सम्पन्न भएको बताइएको छ। धानुबास कालिका माध्यमिक विद्यालयका लागि आर्थिक स्रोत व्यवस्थापन गरी विद्यालय बस सञ्चालनमा ल्याइएको पनि उहाँले उल्लेख गर्नुभयो।
सामाजिक सुरक्षा सेवा प्रभावकारी बनाउन ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूका लागि सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा घरदैलोमै पुर्याइएको छ। पोखरामा बसोबास गर्ने वडा नं. ७ का नागरिकहरूको सुविधाका लागि प्रत्येक महिनाको २० र २१ गते घुम्ती सेवा शिविर सञ्चालन हुँदै आएको जानकारी पनि उहाँले दिनुभयो।
कृषि तथा सिँचाइ क्षेत्रमा लिफ्टिङ सिँचाइ योजनाको विस्तार, मौरीघार वितरण लगायतका कार्यक्रम सञ्चालन गरी कृषकहरूको आयआर्जन वृद्धि गर्ने प्रयास गरिएको छ। आयोजनाको सम्झौताबाट वार्षिक ९ लाख रुपैयाँ सहयोग प्राप्त हुने व्यवस्था गरिएको छ भने आगामी आर्थिक वर्षमा एक घर एक धारा खानेपानी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताइएको छ।
पर्यटन प्रवर्द्धनका लागि थाक हिल तथा सोझोकुना क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ। यसबाट स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
यसैगरी नौलेडाँडा, छाचोक, थाक तथा खतेडाँडा क्षेत्रमा समाजघर निर्माण तथा मर्मत, शुभकामना क्लब भवन निर्माण, खेलमैदान संरक्षण लगायतका सामाजिक तथा खेलकुद पूर्वाधार विकासका कार्यक्रमहरू सम्पन्न भएका छन्।
वडाध्यक्ष गुरुङले आगामी दिनमा कृषि आधुनिकीकरण, पर्यटन विकास, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा विस्तार, खानेपानी तथा सिँचाइ सुधार, रोजगारी सिर्जना र दिगो पूर्वाधार विकासलाई प्राथमिकता दिइने बताउनुभयो।
कार्यक्रमको अन्त्यमा उहाँले चार वर्षमा हासिल भएका उपलब्धिहरू वडा कार्यालय, गाउँपालिका, संघीय तथा प्रदेश सरकार, विभिन्न संघसंस्था, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, राजनीतिक दल, युवा तथा सम्पूर्ण वडा बासीको साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै सबैप्रति आभार व्यक्त गर्नुभयो।
साथै पारदर्शिता, सुशासन र जनसेवालाई केन्द्रमा राखेर आगामी दिनमा पनि वडा नं. ७ को समृद्धिका लागि निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।