देशको बिभिन्न स्थानमा विभत्स तरिकाले हत्या गरिएका घटनाहरु सार्बजनिक भैरहेको अबस्थामा झापाको दमक नगरपालिका -१० स्थित सेतुमाडीमा पनि शनिबार बिहान एक जना युवतीको हत्याको घटना सार्बजनिक भएको छ। दमक नगरपालिका-८ बसन्तटोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारीको शव स्थानीय रतुवा खोलामा बोरामा पोको पारेर फालिएको अवस्थामा भेटिएको छ ।
नेपाल प्रहरीका अनुसार रमा बुधबार राति घरबाट हराएकी थिइन् । शनिबार बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा पोको पारिएको अवस्थामा उनको शब भेटिएको थियो । प्रहरीका अनुसार अन्य कुनै ठाउँमा रमाको हत्या गरिएको र उनको शव पुलमाथिबाट खोलामा फालिएको जस्तो देखिन्छ ।
झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले घटनाको अनुसन्धान भइरहेको बताए उनका अनुसार मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले उक्त शब हेरेर आफ्नै छोरी भएको पहिचान गरेका थिए । रमाका आफन्तले प्रहरीलाई गत जेठ १३ गते राति करिब ९:३० बजेको समयमा रमा घरबाटै हराएको बताएका थिए । घर नफर्किएकी उनको खोजी भइरहेकै अवस्थामा शनिबार विभत्स अवस्थामा शव फेला परेको हो ।