पोखरा । पोखरास्थित गण्डकी मेडिकल कलेज (जिएमसी) मा अध्ययनरत एक चिकित्सकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । कलेजमा एमएस (ओटोलेरिंगोलोजी) दोस्रो वर्षमा रेजिडेन्ट डाक्टरका रूपमा कार्यरत डा. अमिर उप्रेतीको पोखराको बुलौंदीस्थित एक रिसोर्टको पोखरीमा पौडी खेल्ने क्रममा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार साथीहरूसँगै पौडी खेल्न गएका उप्रेतीको डुबेर ज्यान गएको हो । उप्रेती डुबेपछि सँगै रहेका साथीले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको प्रवक्ता बस्नेतले जानकारी दिए ।
मृतक उप्रेतीको शव पोस्टमार्टमपश्चात अन्तिम संस्कारका लागि परिवारलाई बुझाइसकिएको छ । उनी मिति २०८३ वैशाख २६ गते भएको उक्त दुर्घटनामा परेका थिए ।
गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत एवं प्राचार्य प्राडा रबीन्द्रप्रसाद श्रेष्ठले शोक वक्तव्य जारी गर्दै डा. उप्रेतीको निधनले कलेज परिवार स्तब्ध भएको बताएका छन् ।श्रेष्ठले मृतकको आत्माको चिर शान्तिको कामना गर्दै डा. गरिमा लगायत सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।