पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा बेगनास तालस्थित बराह मन्दिर परिसरमा प्रवेशद्वार (गेट) हस्तान्तरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाका पूर्वअध्यक्ष सुरेन्द्र सापकोटा भाटले ६८ जना सदस्यले प्रतिव्यक्ति एक हजार रुपैयाँ संकलन गरी स्थापना गरेको सहकारी अहिले करिब ७ करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको स्मरण गराउँदै आगामी दिनमा संस्था अझ सशक्त र प्रभावकारी बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।
शुभकामना मन्तव्य व्यक्त गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारीले बराह क्षेत्र पर्यटनको दृष्टिले ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासका लागि सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले लेखनाथ उद्योग वाणिज्य संघले यस क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष ढकानाथ कँडेलले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो।
संस्थाका अध्यक्ष विष्णु लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदीपराज कँडेलले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।