स्याङ्जाको हरिनास गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि कुल ४४ करोड २४ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ । बजेट अधिवेशनमा गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको हो।
चालु खर्चतर्फ ३० करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ १३ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ ।
नीति तथा कार्यक्रम तथा बजेटले उत्पादनमुखी अर्थतन्त्र, रोजगारी सिर्जना, गुणस्तरीय सेवा प्रवाह तथा दिगो विकासमार्फत हरिनासवासीको जीवनस्तर उकास्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ। छ।
सुशासन प्रवद्र्धनका लागि डिजिटल शासन, पेपरलेस प्रशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता तथा पारदर्शी सेवा प्रवाहलाई जोड दिइएको छ ।
साथै वन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा दिगो विकासका कार्यक्रमलाई समेत प्राथमिकताका साथ अगाडि बढाइने भएको छ। गाउँपालिकाले कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी तथा सुशासनलाई प्राथमिकतामा राखेको छ।
समृद्ध हरिनास, सुखी हरिनासवासी भन्ने दीर्घकालीन लक्ष्यसहित सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि, आत्मनिर्भरता र समावेशी विकासलाई केन्द्रमा राखेको छ ।
कृषि क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार मान्दै गाउँपालिकाले कृषि आधुनिकीकरण, यान्त्रिकीकरण तथा व्यावसायीकरणमा जोड दिएको छ । उच्च मूल्यका बाली उत्पादन, बीउ उत्पादन, सिँचाइ विस्तार तथा कृषि उद्यम प्रवद्र्धनमार्फत उत्पादन र आम्दानी वृद्धि गर्ने लक्ष्य लिइएको छ।
त्यसैगरी पशुपालन क्षेत्रको विकास, पशुरोग नियन्त्रण, घाँस तथा आहार व्यवस्थापन, कृत्रिम गर्भाधान सेवा विस्तार तथा युवामुखी स्वरोजगार कार्यक्रममार्फत कृषि तथा पशुपालनलाई आत्मनिर्भर बनाउने नीति अघि सारिएको छ ।बजेट मार्फत गांउपालिकाको सम्पुर्ण क्षेत्र विकास गर्ने गांउपालिका अध्यक्ष खिम नारायण मानन्धरले बताउनु भयो।