इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सोमबार अमेरिकासँग जारी वार्तामा धेरै मुद्दाहरूमा सहमति भइसकेको बताएका छन् । तर, कुनै पनि सम्झौतालाई अन्तिम रूप दिनका लागि अहिले नै कुनै समय तय नगरिएको उनले प्रष्ट पारेको समाचार संस्था एएफपीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, एक पत्रकार सम्मेलनमा बघाईले यो जानकारी दिएका हुन् । उनले सम्झौता चाँडै नै हुन लागेको दाबी कसैले पनि गर्न नसक्ने बताए ।
अमेरिकाको राजनीतिक व्यवहार लगातार अस्थिर देखिएको छ । इरानको अर्ध–सरकारी समाचार संस्था ‘तसनीम न्यूज एजेन्सी’का अनुसार बघाईले अमेरिकाभित्र केही घण्टामै परिवर्तन हुने विरोधाभासपूर्ण अडानले गर्दा वार्ता थप जटिल बनेको बताएका छन्।
६० दिनको रोडम्यापका सम्बन्धमा उनले यस अवधिमा आणविक मुद्दासहित केही विषयहरूमाथि छलफल गर्ने योजना रहेको बताए । तर, हालका लागि इरानले आणविक विवरणहरूमाथि छलफल गरिरहेको छैन ।
अर्कोतर्फ, आइतबार अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले इरान र अमेरिकाबीचको कूटनीतिक प्रयासमा महत्त्वपूर्ण प्रगति भएको बताएका थिए ।
होर्मुज जलमार्गका सम्बन्धमा चाँडै नै राम्रो समाचार आउन सक्ने उनको भनाइ थियो । नयाँदिल्लीमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँगको संयुक्त पत्रकार सम्मेलनमा रुबियोले आगामी केही घण्टाभित्र केही सकारात्मक समाचार मिल्न सक्ने बताएका थिए । यद्यपि, अझै पनि अन्तिम सम्झौता भइनसकेको र केही कामहरू बाँकी नै रहेको उनले उल्लेख गरे ।