पोखरा महानगरपालिका वडा नं. २७ का जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागितामा लेखनाथ भ्यु पार्क तथा वनभोज स्थलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष पूर्णकुमार गुरुङको उपस्थितिमा आयोजित कार्यक्रममा वडा कार्यालयका कर्मचारीहरू समेत सहभागी भएका थिए। कार्यक्रममा विभिन्न प्रजातिका करिब १५० वटा बिरुवा रोपिएको जनाइएको छ।
वनभोज स्थलका रूपमा परिचित लेखनाथ भ्यु पार्कमा वृक्षारोपण गर्दा पार्कको सौन्दर्यता थप वृद्धि हुनुका साथै वातावरण संरक्षणमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको वडा अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
उहाँले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा सार्वजनिक स्थलहरूको सौन्दर्य अभिवृद्धिका लागि वडा कार्यालयले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको बताउनुभयो।
स्थानीय पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको लेखनाथ भ्यु पार्कमा गरिएको वृक्षारोपणले भविष्यमा पार्कलाई अझ आकर्षक र वातावरणमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।