पोखरा, असार — लेखनाथ खानेपानी उपभोक्ता संस्थाको २५औँ रजत जयन्ती, २१औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मुहान संरक्षण तथा खानेपानी व्यवस्थापन वर्तमान समयको प्रमुख चुनौती भएको उल्लेख गर्दै यसको समाधानका लागि पोखरा महानगरपालिका आवश्यक सहजीकरण गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै मादी गाउँपालिका–७ का वडा अध्यक्ष दुर्गा गुरुङले लेखनाथ खानेपानीको मुख्य मुहान वडा नम्बर ७ मा रहेको जानकारी गराउँदै मुहान संरक्षण तथा व्यवस्थापनका विषयमा कुनै असमझदारी नरहेको र संस्थालाई वडा कार्यालयको तर्फबाट सदैव सहयोग रहने बताउनुभयो।
त्यसैगरी लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली, पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन थापा, संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख पदमबहादुर कुँवर, संस्थाका पूर्व अध्यक्ष चन्द्रकृष्ण कर्मचार्य, संस्थापक अध्यक्ष सालिकराम पौडेल तथा खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले आगामी कार्यसमितिमा खानेपानी क्षेत्रको मर्म बुझेका, संस्थामा योगदान गरेका तथा सक्षम व्यक्तित्वहरू नेतृत्वमा आउने विश्वास व्यक्त गर्नुभयो।
संस्थाका सचिव नारायणी भट्टराई ‘रक्षा’ले सञ्चालन गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थाका गतिविधि तथा भावी योजनाबारे प्रकाश पार्दै अध्यक्ष शर्माले संस्थामा राजनीतिक दलका कार्यकर्ताका रूपमा नभई खानेपानीको समस्या पहिचान गरी समाधानका लागि योगदान दिन सक्ने व्यक्तिहरू नेतृत्वमा आउनुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमको समापन संस्थाका उपाध्यक्ष पुष्पकमल ढुङ्गानाले गर्नुभएको थियो। अधिवेशनले संस्थाको नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ।