सहिद तथा बेपत्ता योद्धाहरूको सपना साकार पार्ने दायित्व

महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल (२०५२ फागुन १४) र झापा विद्रोहका सहिदहरू— नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, विरेन राजवंशी र नारायण श्रेष्ठ (२०२९ फागुन २१) सहादत भएको ऐतिहासिक दिनलाई जोडेर हामी प्रत्येक वर्ष सहिद सप्ताह मनाउने गर्दछौँ । सहिद सप्ताहको यस सन्दर्भमा महान् जनयुद्ध, एकीकृत जनक्रान्ति र विभिन्न क्रान्ति र मुक्ति अभियानमा बलिदान गर्नुहुने सम्पूर्ण आदरणीय सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछु । सम्पूर्ण बेपत्ता योद्धाहरूप्रति गहिरो तथा न्यानो अभिवादनसहित सम्मान व्यक्त गर्दछु । सम्पूर्ण घाइते योद्धाहरू, जेलमा हुनुहुने राजबन्दी कमरेडहरूमा उच्च सम्मान तथा स्मरण गर्दछु । बलिदान गर्नुहुने सहिद तथा बेपत्ता योद्धाका परिवारहरूलाई अविचलित भई सहिद तथा बेपत्ता योद्धाहरूले देखेको सपना पूरा गर्न नयाँ सङ्कल्पसहित अघि बढ्न र आफू पनि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

लेखक : सावित्रा दुरा ‘आस्था’

क्रान्ति धेरै अप्ठ्यारो बाटोबाट अघि बढ्ने गर्छ । ठूलाठूला अप्ठ्यारा र चुनौतीका पहाडहरूलाई पन्छाएर मात्र क्रान्ति पूरा हुने गर्दछ । अवरोधका पर्खालहरू पन्छाउँदै बलिदानका हजाराैँ शृङ्खलाहरू पार गर्नुपर्ने हुन्छ । जनयुद्धमा हामी सबैले त्यही गर्यौँ जे क्रान्तिलाई आवश्यक थियो । हजाराैँ योद्धाहरूको बलिदान भयो । सयौँ योद्धाहरू बेपत्ता भए र अहिले पनि बेपत्ता अवस्थामै छन् । हजारौँ योद्धाहरू घाइते भए, हजारौँले जेल, नेल र यातना भोग्नुपर्ने अवस्था बन्यो । अर्थात् त्याग, तपस्या र बलिदानको समुच्च रूप जनयुद्ध हुन पुग्यो । महान् आदर्श र उद्देश्यसहित श्रमिक जनताको उज्यालो भविष्य कोरेर अघि बढेको यात्रा २०५२ सालदेखि अविचलित अघि बढ्यो । दस वर्ष पार गर्दा नै नेपाल र नेपालीको दिलदिमागमा अड्डा जमाउन सफल भयो । विश्व सर्वहारा वर्गका लागि नेपालबाट उत्साहको नयाँ सन्देश दिन सफल भयो । जिउँदै आँखा निकालिएर बलात्कृत हुँदासमेत महिलाहरूले महान् आदर्शलाई गल्न दिएनन् ।

बलिदानका लागि प्रतिस्पर्धा गर्ने पार्टी संसारमा विरलै हुने गर्दछन् । विरलैमध्येको एक नेपालको माओवादी पार्टी र महान् जनयुद्ध हुन पुग्यो । भौतिक शरीर ढल्यो तर आदर्श सगरमाथा बनिरह्यो । यो सबै सही विचार र क्रान्तिकारी नेतृत्वका कारण सम्भव भयो । विचारधारात्मक रूपमा सही वा गलत हुनुले सबै चीजको निर्धारण गर्ने कुरा हाम्रो राजनीतिक जीवनमा हामी सबैले भोग्न र देख्न पायौँ । जब शान्तिप्रक्रियामा पार्टी आयो, सुरुआतमा नयाँ लहर नै देखापर्यो । देश माओवादीमय बन्न पुग्यो । बिस्तारै यो कम हुँदै अन्तत ओरालो लाग्दै गयो । संसदीय व्यवस्थामा फोहोर सफा गर्न गएको पार्टी नेतृत्व आफैँ फोहोरी बनेर संसदीय भासमा नराम्रोसँग फस्यो । महान् उद्देश्य र प्राप्त गरेका उपलब्धिहरू, रगतसँग साटिएका हतियार, धेरै दुःख–कष्टबाट जन्मिएको जनमुक्ति सेना, जनसत्ता सबै क्रमशः विघटित भए । सार छोडेर रूपमा दौडने नेतृत्व बन्यो । आतङ्क र सत्तामोहका कारण नेतृत्वले संसदीय जन्जालबाट मुक्त हुने त परको कुरा, सबैलाई त्यस आहालमा चोबल्ने वातावरण बनाउँदै लग्यो । दुःखमा साथ दिएका जनता निरास बने । शरीरभरि गोलीका छर्रा बोकेर घाइते योद्धाहरू, हजारौँ–लाखौँ युवा बिदेसिन बाध्य भए । निराशा, अकर्मण्यता, आक्रोश र पीडा सिङ्गो माओवादी आन्दोलनमा देखापर्यो । बलिदानको मूल्यलाई वैज्ञानिक समाजवाद र साम्यवादको गन्तव्यसम्म जोडेर अघि बढेको माओवादी धारा बीचैमा सपनाहरूलाई तुहाएर वा तोडमोड गरेर संसदीय व्यवस्थामा डुब्न पुग्यो । नेतृत्वमा देखापरेको विचलन र वैचारिक स्खलनले हाम्रा उद्देश्यहरू अलपत्र परे । त्याग, तपस्या र बलिदान गर्ने परिवारहरू थप निराशा, अन्योल र आक्रोशित हुन पुगे । आफ्ना छोराछोरी, आफन्त गुमाउदाँको पीडा त छँदैछ, पार्टी नेतृत्व विशेषतः प्रचण्ड–बाबुरामले आत्मसमर्पण र विश्वासघात गर्दा त्योभन्दा ठूलो पीडा हुन पुग्यो ।

 

जनयुद्धमा हाम्रा सहिदका छोराछोरीले आफ्ना बाबुआमा कस्ता थिए ? राम्रोसँग चिन्न पाएनन् । श्रीमान्–श्रीमतीबीचको माया के हो ? अनुभूत गर्न पाएनन् । बाबुआमाले छोराछोरीलाई मातृवात्सल्य दिएर हुर्काउन पाएनन् । एउटै घरका चार–पाँचजनाको बलिदान हुँदासमेत विचलित भएनन् । आफ्ना इष्टमित्र, आफन्त गुमाउँदा पीडा कति भयो ? शब्दमा चित्रण गर्न गाह्रो हुन्छ तर पनि निराश भएनन्, गौरव नै गरे । हाम्रा बेपत्ता योद्धाका परिवारहरू, छोराछोरी, श्रीमान्–श्रीमती, आमाबुबालगायत आफ्ना आफन्त आउने आसमा अझै पनि दिन गनिरहेका छन् । दुःखसुखमा आफ्ना बेपत्ता आफन्तहरूलाई सम्झेर दिन व्यतित गरिरहेका छन् । अझै पनि ती योद्धाहरूको स्थिति सार्वजनिक गरिएको छैन । सहिद तथा बेपत्ता योद्धाका कतिपय आमा–बुबा, आफ्ना छोरा–छोरी आउने आसैआसमा यो धर्ती छोडेर बिदा भइसक्नुभएको छ । न सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्न सकियो, न त बेपत्ता योद्धाहरू नै सार्वजनिक भए । बेपत्ता पार्ने कार्यमा संलग्न अपराधीहरूलाई न कुनै सजाय भयो, न त सहिद तथा बेपत्ता योद्धाहरूलाई राज्यले स्थापित नै गर्यो । विडम्बना ! यी मुद्दाहरूलाई पूरै ओझेलमा पार्दै लगिएको छ ।

हामीलाई थाहा छ, क्रान्तिकारीहरूले सपना देख्नुपर्छ । सपनालाई मर्न दिनु हुँदैन । क्रान्तिको सपना बीचैमा तुहियो भनेर निराशा, कुण्ठा, घृणा र आक्रोश मात्र पाल्नु हुँदैन । मात्र आलोचना क्रान्तिकारी समाधान होइन । प्रतिक्रान्तिको जबाफ क्रान्तिबाट दिन सक्नुपर्दछ । बलिदानको मूल्य क्रान्तिबाट नै खोजिनुपर्छ । बलिदान गर्ने परिवारलाई क्रान्तिबाट भाग्ने छूट हुँदैन । न त थाकेर, गलेर, निराश भएर बस्ने अधिकार नै हुन्छ । एउटा कालखण्डमा क्रान्तिको नेतृत्व गर्ने नेताले सधैँ क्रान्तिको नेतृत्व गरिरहन्छ भनेर बुझ्नु पनि अधिभूतवादी सोचाइ हुनसक्छ । नेतृत्व पनि वस्तु भएकाले वस्तु बिग्रन सक्छ, भत्किन सक्छ । राम्रो हुँदासम्म राम्रो भन्ने र नराम्रो हुँदा साथ छोड्नसक्ने वैचारिक तागत हामीले बनाउनैपर्छ । प्रचण्ड नेतृत्वद्वारा क्रान्तिलाई विचलित बनाउँदासमेत नेतृत्व मानिराख्न कुनै जरुरी हुँदैन र आवश्यक पनि छैन । जसले सही कार्यदिशाका आधारमा क्रान्तिको सही नेतृत्व गर्छ त्यो नै वास्तविक अर्थमा नेतृत्व हुन लायक हुन्छ । अहिलेको सन्दर्भमा नेकपाका महासचिव कमरेड विप्लवले क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिबद्धतासहित एकीकृत जनक्रान्तिको मार्ग तय गरेर अघि बढिरहनुभएको छ । सगरमाथानजिक पुगेर दुर्घटना गराइएको क्रान्तिलाई पुनः सङ्गठित गर्ने र क्रान्ति पूरा गर्ने विषय सामान्य होइन । हाम्रा सहिद तथा बेपत्ता योद्धाका परिवारहरूले हाम्रा आफन्तका अधुरा सपना पूरा गर्न पुनः एकपटक नयाँ सङ्कल्पसहित क्रान्तिकारी नेतृत्वलाई साथ दिनुपर्छ । अबको जनक्रान्तिको बलियो खम्बा र ऊर्जा बनेर सहिद तथा बेपत्ता योद्धा परिवारले साथ दिनुपर्छ भन्ने कमरेड विप्लवको भनाइलाई हामीले चरितार्थ गर्न जरुरी छ । दलाल पुँजीवादी सत्ता अन्त्य गरेर वैज्ञानिक समाजवादी सत्तामार्फत श्रमिक वर्गको अधिकार सुनिश्चित गर्ने विषय नै हाम्रा सहिद तथा बेपत्ता योद्धाहरूको सपना थियो । यसबाट हामी विचलित हुनु हुँदैन । मृत्यु अवश्यम्भाबी छ तर पहाडजस्तो गह्रुँगो मरन आवश्यकता परे हामीले पनि हाम्रा आफन्तले झैँ रोज्न सक्नुपर्छ । सहिद सप्ताहका अवसरमा सम्पूर्ण सहिद तथा बेपत्ता योद्धा परिवारहरूलाई गह्रुँगो तर असम्भव नभएको क्रान्तिको सुनौलो मार्गमा लामबद्ध हुन अपिल पनि गर्दछु । हामी सबैको मेहनत र बलमा नै क्रान्ति सम्भव र जित सुनिश्चित छ ।

प्रतिक्रिया दिनुहोस