नेपालमा नयां दल दर्ताको होड : युवाको चेतना कि पपुलिज्म!

नेपालमा पछिल्ला केही वर्षयता राजनीतिक दल दर्ता गर्ने प्रवृत्ति अभूतपूर्व रूपमा बढ्दै गएको छ। Gen Z आन्दोलन पछि युवाहरूमा राजनीतिक चेतना र सामाजिक विषयप्रतिको जागरणले एउटा सकारात्मक माहोल सिर्जना गरेको थियो। तर अहिले त्यो चेतना र ऊर्जा पनि दल दर्ता गर्ने होडबाजी मा परिणत हुँदै गएको देखिन्छ। अहिले हरेक असन्तुष्ट समूह, युवाको टोली, वा कुनै नेताले आफ्नो विचार सुनेर पुरानो दलले सम्मान नगरेको महसुस गरेपछि तुरुन्तै नयाँ पार्टी दर्ता गरेर राजनीतिक मैदानमा उत्रने प्रवृत्ति बढ्दै गएको छ। यस्तो व्यवहारले नेपालको राजनीतिक प्रणालीलाई बलियो बनाउनेभन्दा पनि, त्यसलाई टुक्र्याउने र बिखण्डनतर्फ धकेल्ने काम गरिरहेको छ।

राजनीतिक दल दर्ता गर्नु लोकतान्त्रिक अधिकार हो, तर जब त्यो अधिकार व्यक्तिगत महत्वाकांक्षा, पपुलिज्म र अस्थायी लोकप्रियताको साधन बन्छ, तब त्यो लोकतन्त्रको मजबुती होइन, दुर्बलताको लक्षण हो। नेपालको वर्तमान राजनीतिक परिदृश्यमा अधिकांश नयाँ दलहरू विचार, नीतिगत दृष्टि र दीर्घकालीन योजनाभन्दा पनि नारामुखी र व्यक्तिमुखी देखिन्छन्। हरेक नयाँ दल “हामी नयाँ विकल्प हौं” भनेर अघि सर्छ, तर नीति, योजना र संगठनात्मक क्षमतामा पुराना दलहरूसँग खास फरक देखिंदैन। यसले जनतामा “सबै उस्तै छन्” भन्ने निराशा झन् बढाइरहेको छ।

युवाहरूमा राजनीति प्रति चासो हुनु राम्रो कुरा हो, तर अहिले देखिएको प्रवृत्ति भने चिन्ताजनक बन्दै गएको छ। देशमा राजनीतिक अस्थिरता, रोजगारको अभाव र पुराना दलप्रतिको अविश्वासले गर्दा युवाहरूले उद्यम, प्रविधि, नवप्रवर्तन वा सामाजिक नेतृत्वको बाटो रोज्ने सट्टा, दल दर्ता र नेतृत्वको प्रदर्शन तिर आकर्षित भइरहेका छन्। उनीहरूमा तत्कालिक लोकप्रियता र पहिचान खोज्ने मानसिकता बढ्दै गएको छ, जुन दीर्घकालमा राजनीतिक संस्कृतिका लागि हानिकारक बन्न सक्छ। यो प्रवृत्ति जारी रहँदा देशमा राजनीतिक अस्थिरता झन् गहिरिने, र लोकतान्त्रिक मूल्यहरू नारा र प्रचारमा सीमित हुने खतरा छ।

नेपालको राजनीतिलाई सही बाटोमा ल्याउनको लागि सबैभन्दा पहिले राजनीतिज्ञ स्वयं सचिनु जरुरी छ। पुराना दलका नेताहरूले अब जनताको मनोविज्ञान बुझ्न, नयाँ पुस्तालाई स्थान दिन र पारदर्शिता र जवाफदेहिताको संस्कार स्थापित गर्न आवश्यक छ। यदि उनीहरूले आफूलाई नबदले भने, नयाँ दलहरू बनेर पनि देशले नयाँ दिशा पाउने छैन। पुराना गल्तीहरू दोहोर्याउने नयाँ अनुहारहरूले परिवर्तन ल्याउन सक्दैनन्।

अब नेपालमा नयाँ दलको होइन, बलियो वैकल्पिक शक्तिको आवश्यकता छ — यस्तो शक्ति जसले विचार, नीति र मूल्यका आधारमा पुराना दलहरूको विकल्प दिन सकोस्। वैकल्पिक शक्ति भन्नाले हरेक असन्तुष्ट समूहले आफ्नो पार्टी खोल्नु होइन, तर समान सोच, साझा उद्देश्य र दीर्घकालीन दृष्टिकोण भएका युवाहरूको एकीकृत आन्दोलन हो। युवाहरूले साना साना समूहमा विभाजित भएर “हाम्रो पार्टी” भन्नुभन्दा, साझा दृष्टि र उद्देश्यका साथ अघि बढ्न सके भने मात्र वास्तविक परिवर्तन सम्भव छ।

राजनीति कुनै लोकप्रियताको खेल होइन; यो जिम्मेवारी, सेवा र इमानदारीको क्षेत्रमा आधारित अभ्यास हो। दल दर्ता गरेर मात्र परिवर्तन सम्भव हुँदैन — जबसम्म नेताहरूको सोच, चरित्र र कार्यशैली परिवर्तन हुँदैन। नेपालमा अहिले नयाँ दल होइन, नयाँ सोच, इमानदार नेतृत्व र दीर्घकालीन दृष्टि आवश्यक छ। जब युवाहरू सच्चा अर्थमा देशका लागि एक भएर काम गर्छन्, व्यक्तिगत प्रचार होइन, सामूहिक योगदानको भावना बोकेर अघि बढ्छन् — त्यतिबेला मात्र नेपालको राजनीति स्थिर, सशक्त र जनमुखी बन्नेछ।

प्रतिक्रिया दिनुहोस