नयां र पुराना भनिएका दलका भिन्नता के हुन!

नविन केसी
नेपाली राजनीतिक वृत्तमा “पुराना दल” भन्ने शब्द मध्यम वर्गको निराशा र असन्तोषको प्रतीक बनेको छ। यही असन्तोषबाट नयाँ वैकल्पिक शक्तिहरू जन्मिए—जसले पुराना दलहरुलाई कमजोरी बनाउन, नैतिकता, पारदर्शिता र उत्तरदायित्वको वाचा गरे। तर आज प्रश्न उठ्न थालेको छ—के नयाँ भनिएका शक्तिहरू पुराना दलहरुले अपानाएका बाटोमा त हिँडिरहेका छैनन्?

नयांहरुले पुराना दलमाथि लागेको पहिलो आरोप थियो—व्यक्तिवाद। पार्टी र संस्थाभन्दा नेता ठूलो बन्नु। तर आज वैकल्पिक भनिएका शक्तिहरू पनि नीति र संरचनाभन्दा छवि, लोकप्रियता र एक–दुई व्यक्तिको वरिपरि केन्द्रित देखिन थालेका छन्। आलोचना गरिएको संस्कारकै पुनरावृत्ति हुनु, परिवर्तनको आत्मालाई कमजोर बनाउने संकेत हो।

दोस्रो आरोप थियो—नैतिक मापदण्डमा दोहोरो मापदण्ड। पुराना दलले गलत काम आफ्ना लागि जायज र अरूका लागि अपराध ठान्थे। आज नयाँ शक्तिहरू पनि आफ्ना निर्णय, नियुक्ति वा गठजोडलाई “परिस्थिति जन्य” भन्दै प्रमाणिात गर्न खोज्दा, त्यही दोहोरो मापदण्ड पुनः देखिन थालेको छ। जुन कुरा हिजो गलत थियो, आज सही ठहरिनु—यहीँबाट नैतिक पतन सुरु हुन्छ।

तेस्रो कमजोरी थियो—आलोचनाप्रति असहिष्णुता। पुराना दलले प्रश्नलाई शत्रुता ठान्थे। तर नयाँ शक्तिका समर्थक वृत्तमा पनि असहमतिको आवाजलाई पुरानो सोच, षड्यन्त्र वा नकारात्मकता भन्दै दबाउने प्रवृत्ति देखिन थालेको छ। लोकतन्त्रमा प्रश्न डर होइन, सुरक्षा हो—यो सत्य बिर्सनु खतरनाक संकेत हो।

यहाँ मूल समस्या नयाँ वा पुरानो हुनु होइन; Ethical value को क्षय हो। जब सत्ता, लोकप्रियता र भावनात्मक समर्थन नै लक्ष्य बन्छ, तब नैतिकता बिस्तारै साधनमा झर्छ। यही नै त्यो विष हो, जुन सानो–सानो मात्रा सेवन गरिँदै समाजको चेतना नै कमजोर बनाइरहेको छ।

सबैमा कमजोरी हुन्छ सुधार गर्दै जाने हो।लोकप्रियतावादमा लागेका नयां दलहरुले राजनीतिलाई विचार विहिन सेलीब्रेटीइज्मको नमुना बनाउने खतरा छ।राज्य सञ्चालनको विषयलाई हेलचक्राइ गर्नु हुदैन।यो बैचारिक खडेरीले मुलुकलाई ढिलोछिटो दुर्घटना उन्मुख तर्फ पुराउंने खतरा छ।

Gen Z आन्दोलनले परिवर्तनको ठुलो आशा बोकेको थियो। तर परिवर्तन अनुहार फेर्ने मात्र होइन; संस्कार बदल्ने प्रक्रिया हो। पुरानाको आलोचना गरेर आएको नयाँ शक्तिले यदि त्यही कमजोरी दोहोर्‍यायो भने, त्यो परिवर्तन होइन—पुनरावृत्ति हो।

अन्धो समर्थन होइन, सचेत बुझाईका साथ र सहयोगको समर्थन आजको आवश्यकता हो। व्यक्ति होइन, प्रणाली बलियो बनाउने राजनीति अभ्यासको जरुरी छ। लोकप्रियताभन्दा नैतिकता माथि राख्ने संस्कार हो। नयाँ भनिएका शक्तिले पुरानाको कमजोरी दोहोर्‍याए भने, तिनलाई प्रश्न गर्नु नै परिवर्तनप्रतिको साँचो निष्ठा हो।

साथै नयाँ अनुहारले मात्र राजनीति शुद्ध हुँदैन।Ethical value बिना कुनै पनि शक्ति अन्ततः पुरानै बन्छ।

प्रतिक्रिया दिनुहोस