जातिभेद र रङ्गभेदबारे – बिप्लव

यो संयोग मात्र होइन, पुँजीवादको केन्द्र अमेरिकामा रङ्गभेदका कारण जर्ज फ्लोइडको ज्यान जानु र दलाल पुँजीवादमा भर्खर पसेको पछौटे (पुँजीवादी दृष्टिमा) नेपालमा जातिभेदका कारण नवराज विक र टीकाराम सुनारसहित छजना युवाहरूको सामूहिक हत्या हुनु, बरु पुँजीवादी विचार, राजनीति र आर्थिक सम्बन्धसँग यसको सम्बन्ध छ । पुँजीवाद–दलाल पुँजीवादमा समृद्धि र समानताका अनेकौँ सूचकाङ्कका नाराले टुप्पी छोपिँदा पनि मानव जातिका बीचमा विभेद र दमन अन्त्य हुँदैनन् भन्ने जीवन्त प्रमाण हुन् यी । यसले पुँजीवादको संशोधन होइन, रूपान्तरण, सुधार होइन, क्रान्ति आवश्यक बनाइदिएको छ ।

अमेरिकामा रङ्गभेदविरुद्ध र नेपालमा जातिभेदविरुद्ध उच्च जनज्वार पैदा भएको छ । यो खुसीको कुरा हो तर कुनै पनि सामाजिक एवम् मानवघटना टक्लक्क भवितव्यका रूपमा आउँदैनन् । तिनको सम्बन्ध सामाजिक एवम् व्यक्तिको सोचविचारसँग हुन्छ । उनीहरूको राजनीति, अर्थसम्बन्ध र संस्कारसँग हुन्छ । अमेरिकाको रङ्गभेद र नेपालको जातिभेदका घटना कुनै भवितव्य, आकस्मिक वा परिस्थितिजन्य घटना वा दुर्घटना होइनन् । आकाशबाट चट्याङ परेजस्तो, पहाडबाट पहिरो झरेजस्तो वा सडकमा गाडी ठक्कर खाएजस्ता होइनन् । यी पुँजीवादी–दलाल पुँजीवादी समाज, राज्य र संस्कारले नागरिकहरूको दिमागमा भरिदिएका गलत फोहोरी सोचविचार, त्यसले तयार गरेका सामाजिक, आर्थिक सम्बन्ध र संस्कारका कारण यी घटना भइरहेका छन् ।

सामन्तवादी कालसम्म एकथरी मान्छेहरू समाजमा दैवी शक्तिको भ्रामक एवम् काल्पनिक सोचविचार थोपरेर त्यही काल्पनिक दैवी शक्तिको बलमा आफूलाई अन्य मान्छेभन्दा माथि, उच्च र श्रेष्ठ भएको प्रचार गर्थे । उनीहरूले देखाउने मात्र होइन, जनताको अचेतना वा भ्रमको फाइदा उठाएर शासन गर्थे र अत्याचार मच्चाउँथे । पोप, पादरी, मुल्लाह, ऋषिमुनी, लामाहरूको शासन यस्तै अत्याचारी, बर्बर शासन थियो । उनीहरूले मान्छेहरूलाई पशुलाई गर्ने व्यवहारभन्दा पनि तल्लो स्तरको गर्थे तैपनि चित्त नबुझेर इच्छाअनुसार डुबाउने, चिर्ने, झुन्ड्याउने गर्थे । यी सारा कार्य भगवान्को आदेश र उनीहरूको उच्चताका नाममा हुने गर्थे । अनेकौँ अकथनीय विपत्ति र बलिदानको सामना गर्दै अठाह्रौँ शताब्दीमा भौतिकवादले दैवी सिद्धान्तलाई धुलो चटाइदिएपछि त्यो बर्बरताबाट मानव जातिले केही हदसम्म भए पनि मुक्ति पायो । तर सामन्तवादको ठाउँ पुँजीवादले लिएपछि सुरुमा भौतिकवादी पुँजीवादी विचारबाट सत्तामा आएको पुँजीपति वर्गले आफ्नो शोषणकारी शासनलाई दीर्घकालीन रूपले चलाउन भौतिकवादी विचारद्वारा असमर्थ भएपछि एउटा खुट्टो दैवी सिद्धान्तकै आसनमा फर्काउन पुग्यो । त्यसपछि उन्नति र फाइदा विज्ञानबाट लिने, शासन दैवी सिद्धान्तबाट गर्न खोज्ने दुईपाटे विचार पुँजीवादले अँगालिरहेको छ । जनताको चेतनालाई भुट्न अध्यात्मवादको प्रचार गर्ने अनि अकुत मुनाफाका लागि विज्ञानलाई प्रयोग गर्ने गरिरहेको छ । पुँजीवादको यही भ्रामक र गलत विचार हो जसले आजसम्म पनि केही मान्छे र जातिलाई अरूभन्दा उच्च र श्रेष्ठ हौँ भन्ने मूर्खता पढाइरहेको छ । उनीहरूको दिमागलाई सारा मानवसभ्यताका विरुद्ध विषाक्त तुल्याइरहेको छ । तिनै गलत, फोहोरी र विषाक्त दिमाग भएका जमातहरूले अमेरिकादेखि नेपालसम्म रङ्गभेद र जातिभेदका बर्बर घटनाहरू गराइरहेका छन् । यिनको सम्बन्ध सीधा पुँजीवादी–दलाल पुँजीवादी भगवान्वादी सोचविचारसँग सम्बन्धित छ ।

पुँजीवादी विचार लिएका नेताहरूले सधैँ भन्ने गरेका छन्– आफूले चुनाव जित्नु र सत्तामा आउनुको कारण भगवान्, प्रभु, अल्लाहको दया, कृपा वा इच्छा हो (जनताको भोटको कत्रो अपमान !) । अमेरिकाको संवैधानिक व्यवस्था नै कस्तो छ भने राष्ट्रपति चुनिएपछि बाइबल समातेर शपथ लिनुपर्छ । ट्रम्पले परमेश्वरको इच्छाले जितेँ भन्दै दुईवटा बाइबलमाथि हात राखेर शपथ लिएका थिए । भारतमा मोदी भगवान्को नाम नलिई कोठाबाट पनि निस्किँदैनन् । भारत–नेपालबीचको विशेष सम्बन्धको कारण नै पशुपतिदेखि तिरुपति भगवान्सम्मको सम्बन्ध हो भन्छन् । मुस्लिम देशका प्रायः नेताहरू अल्लाहको कृपा भन्दै भाषण छाँट्छन् । नेपालमा समेत राष्ट्रपति, प्रधानमन्त्री, संसद्को शपथ भगवान्का नाममा खुवाइन्छ । कम्युनिस्ट भनिने नेताहरूसमेत मन्दिरमन्दिर पुगेर ढोग गर्दै, दाम चढाउँदै, पूजा गर्दै हिँड्छन् । भगवान् समाजमा शासन गर्ने साधन बनिरहेको छ । आखिर यो एउटा विचार–दृष्टिकोण हो जसले समाजमा कोही उच्च, कोही निच, केही धनी, कोही गरिब, कोही नेता, कोही रैती, कोही शासक, कोही शासित हुनु भगवान्को कृपा र इच्छा हो भन्ने चेत भर्छ र यस्तो चेतलाई सही ठान्छ । यो चेतना फैलाउनेमा हरेक धर्मभीरु र पुँजीवादी नेताहरू मुख्य जिम्मेवार छन् । अनि यस्तो गलत, विषालु सोचविचार बोकेको राज्य, सरकार र समाजमा जातिभेद र रङ्गभेद हुनु, एउटा जातिले अर्कोलाई आफूभन्दा तल ठान्नु, तलकासँग असमान सम्बन्ध बनाउनु, त्यो नमान्दा अत्याचार मच्चाउनु र दमन गर्नु स्वाभाविक हुन्छ । पक्कै पनि केही गोरा जातिवादी र हिन्दु उच्च जातिवादी, ठकुरीवादीहरूले यसबेला यी हत्या र दमनलाई उचित ठानेका होलान् । उनीहरूको तर्क हुनसक्छ– हाम्रो उच्चता र श्रेष्ठता भगवान्को सिर्जना हो । यसलाई नमान्ने काला र कथित दलितहरू अपराधी हुन् । उनीहरूलाई हत्या गर्नु वा दमन गर्नु भगवान्को आदेश हो ! किनकि पुँजीवादी–दलाल पुँजीवादीहरूको जीवन दृष्टिकोण नै यस्तो छ । यस्तो गलत विचार बोकेको समाजमा जति नै विकास सूचकाङ्क पेस गरे पनि त्यसको अर्थ छैन ।

समाजको पुरानो भगवान्वादी विचार दृष्टिकोणलाई पर राख्ने हो भने पनि पुँजीवादी–दलाल पुँजीवादी आर्थिक सम्बन्धले समेत जातिभेद र रङ्गभेदलाई मलजल गर्नेभन्दा अरू केही गरिरहेको छैन । कोहीसँग असीमित पुँजी जम्मा हुने र कोहीसँग खान–लाउन पनि नहुने, कसैले जति थुपार्न पनि हुने, कसैले जीवन धान्न पनि नसक्नेजस्तो आर्थिक सम्बन्धले एउटालाई माथि र अर्कोलाई तल पार्ने गरिरहेको छ । जोसँग करोडौँ, अर्बौं र खर्बौं पैसा छ उसले श्रमिक नागरिक, गरिब जनतालाई मान्छे नै ठान्दैन । उसले श्रमिक जनताभन्दा आफूलाई तुलनै गर्न नमिल्ने गरी उच्च र श्रेष्ठ ठान्छ । श्रमिकलाई जोत्ने, लुट्ने र दमन गर्ने विषयलाई आफ्नो अधिकार ठान्छ । वैज्ञानिकहरूका अनुसार यो अन्तरलाई नरोक्ने हो भने एउटा समयमा मान्छेहरू दुई भागमा भेट्नै नसक्ने गरी विभाजित हुने, एउटा एकदमै उच्च र अर्को एकदमै सामान्य हुने अवस्था आउनेछ । जब आर्थिक सम्बन्ध नै त्यस्तो बनिरहन्छ र यसैलाई नमुना विकास र स्वतन्त्रता भनिन्छ भने समाजमा उच्च र निच, शासक र शासित हुने प्रस्ट छ । त्यहाँ स्वतः जातिभेद र रङ्गभेद पैदा हुन्छ । अहिले अमेरिका र नेपालमा भएको विभेद र दमन पुँजीवादी अर्थसम्बन्धको कारण पनि हो ।

तेस्रो कुरा सामाजिक संस्कार पनि पुँजीवादमा विभेदमैत्री छ । सारा मानव जाति एउटै हो भन्ने वैज्ञानिकताका विपरीत मान्छेहरू जन्मिँदैमा उच्च र निच, तल्लो र माथिल्लो, शासक र शासित भएर जन्मिन्छ । हामी उच्च हौँ, हामी निच हौँ, ऊ माथि हो, हामी तल हौँ । उच्च भनिएकालाई स्वतः मान्नु पर्छ । गोराको मान गर्नुपर्छ, तल्लो र कालो शोषित हुनुपर्छ । क्षत्री, ठकुरी, ब्राह्मणहरूलाई अन्य जातिले स्वतः मान्नुपर्छ र उनीहरूको सर्वोच्चता स्वीकार्नुपर्छ भन्ने मान्यताहरू चलिरहेका छन् । यस्ता संस्कार मान्ने समाजका कारणले पनि जातिभेद र रङ्गभेदका घटना भइरहेका छन् ।

यी सबै तथ्यहरूले पुष्टि गर्छन्– आज विश्व–मानव जातिले भोगिरहेका जातिभेद, रङ्गभेद र वर्गभेदहरू, ती विभेदका कारण भइरहेका मानवताविरोधी जघन्य अपराधहरूको समाधान पुँजीवादी विकासको मापनद्वारा होइन, मानवचेतना र दृष्टिकोणमा रूपान्तरण गरेर मात्र सम्भव छ । तर पुँजीवादीहरू प्रजातन्त्रको खोल यसरी हल्लाइरहेका छन्, सारा समस्याको निदान गर्ने जादुको छडी नै पुँजीवादी प्रजातन्त्र वा लोकतन्त्र हो । मानव समाजमा जति विभेद, अत्याचार, दमन भए पनि जे घटनाहरू भए पनि, जस्ता असभ्यताहरू लादिए पनि, दमन र अत्याचार मच्चिए पनि प्रजातन्त्रमा विश्वास गरेर सहन गर्नुपर्छ । उत्पीडक, दमितहरूले पुँजीवादी प्रजातन्त्रको शासनभित्र जस्ता अत्याचार भए पनि प्रजातन्त्रका लागि सहन गर्नुपर्छ । राजनीतिक प्रणालीमा प्रजातन्त्र सही भएपछि त्यसभित्र हुने जाति, रङ्गभेदका घटनाहरू भवितव्य र दुर्घटना मात्र हुन् । प्र्रजातन्त्रमा हुने त्यस्ता घटनाहरूलाई प्रजातन्त्रकै लागि मानिदिनुपर्छ । त्यसमा तलमाथि पर्यो भने प्रजातन्त्र नै समाप्त हुनसक्छ । पुँजीवादी प्र्रजातन्त्र रहेन भने मानव समाज नै रहनेछैन ! वास्तवमा त्यो कुनै प्रजातन्त्र नै होइन, न त प्रजातन्त्र जोगाउने कुरा नै हो । यो गोरा जाति, कथित हिन्दु उच्च जाति र पुँजीपति वर्गको शासन लाद्ने निरङ्कुशतन्त्र, तानाशाहीतन्त्र, उच्च जातिवादीतन्त्र, विभेदतन्त्र हो, पुँजीवादी विभेदलाई स्वीकार्य बनाउने जालीतन्त्र हो ।

कुनै जमानामा बाइबल, कुरान र पुराणलाई अन्धविश्वासी मान्छेहरू सारा समस्याको समाधान गर्ने बुटी ठान्थे तर विज्ञानको उदयसँगै धार्मिक ग्रन्थहरू जसरी संस्कार जोगाउने पोथ्रामा मात्र खुम्चिएका छन् । आज पुँजीवादी विश्व–व्यवस्थाका सञ्चालकहरूले पुँजीवादी प्रजातन्त्रलाई त्यस्तै सारा समस्याको निदान गर्ने अचुक बुटीका रूपमा प्रस्तुत गर्ने गरेका छन् जब कि यो पुँजीवादी प्रजातन्त्रको मन्त्रभित्र अमानवीयता, असभ्यता, नश्लवाद, जातिवाद, रङ्गवादको विषाक्त विचार भरिएको छ । यसलाई जति फूलबुट्टा भरेर उभ्याउन खोजे पनि सभ्य मानवसभ्यताका लागि जीवन घातक वस्तुमा परिणत भइसकेको छ । यसभित्र हुने अमानवीय अपराधहरूलाई जति नै दुर्घटना, भवितव्य बनाएर कानुनी, प्रशासनिक, आर्थिक सुधारबाट समाधान हुन्छ भने पनि त्यो सम्भव छैन । बरु पुँजीवादी–दलाल पुँजीवादी ईश्वरीय दृष्टिकोण, पुँजीवादी शासन, अर्थसम्बन्ध र संस्कारका विरुद्ध मानव जागरण, विद्रोह र क्रान्ति आवश्यक छ । अर्थात् पुँजीवादी संसारको अन्त्य र वैज्ञानिक साम्यवादको प्राप्तिमा मात्र सर्वअस्वीकार्य रङ्गभेद र जातिभेदको समाधान निर्भर छ ।

प्रतिक्रिया दिनुहोस