२६ औं आदर्श कपको उपाधि स्याङ्जाको होराइजनलाई, पुलिस टाइब्रेकरमा स्तब्ध

लेखनाथ । स्याङ्जाको होराइजन क्लब वालिङले ‘२६ औँ आदर्श कप फुटबल प्रतियोगिता–२०८२’ को उपाधि जितेको छ । शनिबार लेखनाथको भण्डारढिक खेलमैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा गण्डकी प्रदेश प्रहरीको टोलीलाई ‘टाइब्रेकर’ मा हराउँदै होराइजन च्याम्पियन बनेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको ६१ औँ मिनेटमा होराइजनका जर्सी नम्बर ९ का स्ट्राइकर वसन्तबहादुर रानाले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, होराइजनको खुसी धेरै समय टिक्न सकेन । खेलको इन्जुरी समय (९२ औँ मिनेट) मा पुलिसका जर्सी नम्बर ४४ का मिडफिल्डर रोजल दाहालले जवाफी गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।

त्यसपछि थप गरिएको १० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट निर्णायक गोल हुन सकेन । अन्ततः खेलको निर्णय टाइब्रेकरबाट लिइयो । पेनाल्टी सुटआउटमा होराइजनका खेलाडीले धैर्य र आत्मविश्वास देखाउँदै नतिजा आफ्नो पक्षमा पारे ।

रोजल दाहाल उत्कृष्ट खेलाडी घोषितु

प्रतियोगितामा गण्डकी प्रदेश प्रहरीका रोजल दाहाल सर्वोत्कृष्ट खेलाडी घोषित भए । यस्तै, विधागततर्फ उत्कृष्ट प्रशिक्षकको उपाधि होराइजनका सुन्दर श्रेष्ठले जिते । उत्कृष्ट गोलरक्षक होराइजनका टोपबहादुर राना, उत्कृष्ट डिफेन्डर होराइजनकै सन्दीप श्रेष्ठ तथा उत्कृष्ट मिडफिल्डर एवं प्लेमेकर पुलिसका सुशील लामा घोषित भए ।

‘फेयर प्ले’ टिमको उपाधि तनहुँ जिल्ला फुटबल संघ (एन्फा तनहुँ) ले प्राप्त गर्यो । विजेता खेलाडीलाई ‘फस्ट च्वाइस फुड प्रालि’ का मार्केटिङ म्यानेजर रमेश घिमिरे, क्लबका सल्लाहकार छत्रधर आत्रेय, पूर्वअध्यक्ष विजय गुरुङ, विशाल श्रेष्ठ, संस्थापक अध्यक्ष चेतबहादुर गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

समापन समारोहमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले भण्डारढिकमा कभर्ड हल निर्माणका लागि बजेट विनियोजन भए पनि कार्यान्वयन नहुनु दुःखद भएको बताए । आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष गुरुङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस