एमालेकै प्रदेश सांसदले भने, ‘एमाले मन नपरे तारामा भोट हाल्नुस !

नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम)ले कम्युनिष्ट मत सदाका लागि बुर्जुवामा जाने खतरा रहेको औंल्याएका छन् । आज विहान सामाजिक सञ्जाल फेसवुकमा एक स्टाटस लेख्दै उनले देश घण्टीमय भएको र त्यसको असर कास्कीमा पनि देखिएकोतर्फ ईंगित गर्दै त्यसको प्रभाव कालाकान्तरसम्म गएर कम्युनिष्ट मत बुर्जुवा बन्ने खतरा रहेको औंल्याएका हुन् ।

कम्युनिष्ट मत एउटा पार्टीबाट अर्को पार्टीमा सर्नुसम्मलाई सकारात्मक मानिए पनि बुर्जुवा वर्गमा परिणत हुँदा कम्युनिष्ट आन्दोलन नै रक्षात्मक हुने अवस्थामा पुग्ने उनले चेतावनी दिएका छन् । वामपन्थी मत नेपालमा बढी भए पनि विभाजित हुनुलाई उनले दुर्भाग्य भएको तर बुर्जुवातिर नसर्नुचाहिं सकारात्मक रहेको उल्लेख गरेका छन् । विगतमा माओवादीको मत बढ्दा बढ्दा एमालेको घटेको थियो, अनि एमालेको बढ्दा माओवादीको मत घटेको थियो र दुवै पार्टी मिल्दा झण्डै दुई तिहाई पुगेको थियो,उनले सञ्जालमा लेखेका छन्,‘तर अहिलेको निर्वाचनमा दुई पार्टीमा भोट हाल्दै आएका मतदाताहरुले कतै मत परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हालेमा तिनीहरु फेरी वामपन्थी पार्टीमा फर्केर आउने सम्भावना कम हुन्छ अर्थात तिनीहरु सँधैका लागि बुर्जुवा वर्गमा पलायन हुन सक्छन् ।’ उनले यसो भएमा अर्को निर्वाचनसम्ममा नेपालमा वामपन्थी कम्युनिष्ट पार्टीहरु रक्षात्मक र कमजोर हुने उनले प्रक्षेपणसमेत गरेका छन् ।

एमाले नेता गुरुङले कम्युनिष्ट मत जोगाउने उपाय पनि सञ्जालमा सुझाएका छन् । उनले कम्युनिष्ट मतदातालाई बुर्जुवा पार्टीमा मत नहाल्न अपील गर्दै भनेका छन्,‘कम्युनिष्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझे अर्को कम्युनिष्ट पार्टीमा हालौं, तर बुर्जुवातिर सार्ने गल्ती नगरौं ।’ उनले एमाले कार्यकर्तालाई पार्टीमा चित्त नबुझे बरु नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तारा चिह्नमा मतदान गर्न आग्रह गर्दै भनेका छन्,‘ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौँ, तर अन्य पार्टीमा नहालौँ ।’

प्रतिक्रिया दिनुहोस