वैज्ञानिक समाजवादी शिक्षाको आवश्यकता किन ?

व्यक्ति होईन व्यवस्था बदलौ !
शिक्षामा सुधार होइन आमूल रूपान्तरण गरौ !!

शिक्षा भनेको जन्म देखि मृत्युपर्यन्तसम्म व्यक्तिको इच्छा र आवश्यकता अनुसार ज्ञान आर्जन गरी सम्पूर्ण मानव जीवनलाई सहज, सुखी र समृद्धि बनाउनका निम्ति सक्षम गराउनु नै शिक्षा हो । अर्को अर्थमा शिक्षा भनेको असल, खराब छुट्याउन सक्ने सही र वैज्ञानिक निर्णय लिन सक्षम बनाउने, विभिन्न समस्याहरूको व्याख्या मात्र होइन समाधानको निमित्त विवेक प्रदान गराउनु शिक्षा हो । वर्गविभाजित समाजमा शिक्षा पनि वर्गिय हुने भएकाले सर्वहारावर्गिय दृष्टिकोणले शिक्षालाई परिभाषित गर्दा समाजमा हुने गरेको मानवले मानवलाई गर्ने शोषण, विभेद, असमानता पैदा गर्ने र मुनाफाका निम्ति प्राकृतिक स्रोत साधनलाई चरम दोहन गरी मानव जीवनलाई सङ्कट पार्नुका साथसाथै पृथ्वीलाई ध्वस्त बनाउने मावनताविरोधी र प्रकृतिविरोधी पूँजीवादी विचारधारालाई परास्त गरी प्रकृतिलाई रक्षा गर्दै वर्गविहीन भएको सुन्दर समाजतिर उन्मुख गराउने चेतनाको निर्माण गराउनु नै शिक्षा हो । त्यसकारण समग्रमा शिक्षा भनेको प्रकृतिलाई रक्षा गर्दै शोषणविहीन, असमानताविहीन, वर्गविहीन भएको र मानव जीवनलाई सुख, समृद्धि र खुशी बनाउने सुन्दर समाजको स्थापनाको निम्ति द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादमा आधाीरत रहेको चेतना निर्माण गराउनु नै शिक्षा हो ।

अब नेपालको शैक्षिक प्रणालीको व्याख्या गर्नुभन्दा अगाडि कुनै पनि मुलुकको शिक्षा प्रणाली उक्त मुलकमा भएको राजनीति र अर्थनीति अनुरूपको हुन्छ । नेपालको वर्तमान राज्यसत्ता दलाल पूँजीवादी संसदीय व्यवस्था हो । त्यस कारण नेपालको वर्तमान शिक्षा प्रणाली दलाल एवं निगम पूँजीवादी रहेको छ । नेपालको शिक्षा २००७ देखि २०२८ सम्मको अवधिमा वेलायत र भारतबाट निर्देशित रह्यो । २०२८ मा ल्याइएको नयाँ शिक्षा पद्धतिबाट २०३६ सालमा शिक्षामा निजीकरणलाई वैधानिक दिएसँगै नेपालको शिक्षा दलाल तथा निगम पूँजीवादी शिक्षातिर उन्मुख भयो । दलाल एवम् निगम पूँजीवादी शिक्षा भनेको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, राष्ट्रियता लगायत सम्पूर्ण क्षेत्रमा दलाली, परजीवि, परनिर्भर र दास
मानसिकता भएकोजनशक्ति उत्पादन गर्नु हो । यस शिक्षाको विशेषता यस प्रकार रहेका छन् ।

:– विदेशी तथा दातृ संस्थाद्वारा नियन्त्रित र निर्देशित शिक्षा हुनु, शिक्षालाई निजीकरण र व्यापारीकरण गरी गरीबको हातबाट शिक्षा खोस्नुको साथै ज्ञानलाई व्यापारको वस्तु बनाई नाफा कमाउनु, शिक्षालाई मुख्य गरी श्रम र उत्पादनबाट अलग गराई शैक्षिक वेरोजगार उत्पादन गरी यूवा विद्यार्थीहरूलाई दलाली, परजीवि, दास मानसिकताको विकास गराउनु, मानव–मानव बिचमा असमानता, विभेद शोषण उत्पीडन गर्ने र मुनाफाका निम्ति प्राकृतिक स्रोत साधनलाई दोहन गरी मानव जीवनसँगै प्रकृतिलाई नै ध्वस्त बनाउने प्रकृतिविरोधी र मानवताविरोधी रहेको पूँजीवादी विचारधाराको पक्षपोषण गर्ने जनशक्ति उत्पादन गराउनू, राष्ट्रिय भावना, संस्कृति, भाषा, आत्मसम्मान र स्वाभिमानलाई निषेध गर्नुका साथै विदेशीकरण गरी दास मानसिकतालाई विकास गराउनु नै दलाल एवं निगम पूँजीवादी शिक्षाको विशेषता हो । हरेक कोणबाट नियाँल्दा नेपालको शैक्षिक प्रणाली असफल सिद्ध भएको छ । त्यसकारण अन्धकारलाई उज्यालो तिर, पराजयलाई विजयतिर असफललाई सफलतातिर उन्मुख गराउने र राष्ट्रियता, आत्मसम्मान, स्वाभिमानलाई रक्षा गर्दै हरेक क्षेत्रमा परनिर्भर, परजीवि र दास मानसिकतालाई निषेध गर्ने एउटा मात्र विकल्प भनेको समाजवादी व्यवस्था र त्यौ अन्तर्गत रहने समाजवादी शिक्षा प्रणाली मात्र हो । लाखौँ यूवा विद्यार्थीहरूको भविष्य सुनिश्चित र सुरक्षित गर्ने समाजवादी शिक्षा प्रणालीको वैचारिक जग मालेमावाद नै हो । जसले ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई आत्मसात् गर्दै पूँजीवादद्वारा भएको शोषण, विभेद, असमानतालाई चिर्दै शान्ति, समानता, स्वतन्त्रता भएको समाजवादी व्यवस्थालाई थप सुदृढ बनाउँदै साम्यवादी व्यवस्था स्थापनाको निम्ति अग्रसर हुँदै जान्छ । समाजवादी शिक्षाले अधिभूतवादी आदर्शवादी दृष्टिकोणलाई निषेध गर्दछ । समाजवादी शिक्षाले श्रमजीवि वर्गीय शिक्षा हो, जसले शोषणकारी पूँजीपति वर्गीय शिक्षाको निषेध गर्दछ । समाजवादी शिक्षाकोविशेषता यस प्रकार रहेको छ ।

१. बहुप्राविधिक शिक्षामा जोड

बहुप्राविधिक शिक्षा भनेको विद्यार्थीलाई कुनै एक विषयमा मात्र सीमित र सङ्कुचित नबनाइकन सबै विषयमा उदाहरणको लागि प्रकृति विज्ञान, समाज विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र आदि विषयको आधारभूत ज्ञान सिकाएर विद्यार्थीको चौतर्फी विकास गराई सिर्जनशील, गतिशील, रचनात्मक र स्वाधिनता बनाउने गर्दछ । यस शिक्षामा सैद्धान्तिक पक्ष र व्यावहारिक पक्षलाई संयोजन गरिन्छ अथवा शिक्षालाई श्रम र उत्पादनसँग जोडिन्छ जसले गर्दा श्रम गर्न र श्रमप्रति सम्मान गर्न सिकाउँछ । यस शिक्षाले प्रविधि चलाउन होईन बनाउन सिकाउछ । त्यस कारण विद्यार्थीको चौतर्फी क्षमताको विकास गराउन यस शिक्षाले मद्दत गर्दछ, यो विज्ञानमा आधारित शिक्षा हो ।

२. निःशुल्क र समान शिक्षामा जोड

विद्यार्थीको इच्छा, चाहना, क्षमता र आवश्यकताको आधारमा उसले जुनसुकै विषयको ज्ञान निःशुल्क हासिल गर्न पाउने सट्टामा पूँजीवादीहरूले शिक्षालाई निजीकरण र व्यापारीकरण गरी शिक्षालाई व्यापारको वस्तु बनाइएको हुनाले गरीब मजदुर किसानका छोराछोरीको हातबाट शिक्षालाई खोसिरहेका छन्। जसको कारणले गर्दा गरीबका छोराछोरीहरूको इच्छा र क्षमता हुँदाहुँदै पनि लाखौँ, करोडौँ तिरेर डाक्टर, ईञ्जिनियर, वकिल आदि क्षेत्रमा दक्ष हुन पाइरहेका छैनन् । त्यसकारण २१ औँ शताव्दीमा दलाल पूँजीवादीहरूले जति नै स्वतन्त्रता र समानताको नारा लगाए ताप्नि गरीब विद्यार्थीले ज्ञान हासिल गर्ने इच्छा र क्षमतालाई पैसाले कुल्चेर गरीब विद्यार्थीहरूको सुन्दर सपना र लक्ष्यलाई दिनदहाडै हत्या गरी स्वतन्त्रता र समानाको नाराले आफ्नो आपराधिक क्रियाकलापलाई लुकाउन पूँजीपतिहरू सफल भइरहेका छन् । त्यसो भएको हुनाले समाजवादी व्यवस्था अन्तर्गत रहेकौ समाजवादी शिक्षा प्रणालीमा सर्वप्रथम ज्ञानको व्यापारको अन्त्य गरिन्छ । बुबा–आमाको खल्तीमा भएको पैसाको आधारमा नभई विद्यार्थीको ईच्छा, क्षमता र आवश्यकताको आधारमा जुनसुकै विषय पनि पढ्न पाउने व्यवस्था हुन्छ । पैसा हुनेले पढ्ने र पैसा नहुनेले नपढ्ने विभेदकारी वर्तमान शिक्षा प्रणालीलाई अन्त्य गर्दै समान र निःशुल्क रूपमा विद्यार्थीको इच्छा र आवश्यकताको आधारमा जुनसुकै विषय पनि पढ्न पाउने व्यवस्था समाजवादी व्यवस्था र त्यस अन्तरगत रहेको समाजवादी शिक्षा प्रणालीमा हुन्छ ।

. श्रम र उत्पादनसँग जोडिएको शिक्षा 

“शिक्षा र भौतिक उत्पादनको संयोजन” नै समाजवादी शिक्षा हो भनी माक्र्सले कम्युनिष्ट घोषणा–पत्रमा भन्नुभएको छ । थप माक्र्सले श्रमसँग नजोडिएको शिक्षालाई बेकम्मा भन्नुभयो । यसलाई जोड दिँदै लेनिन भन्नुहुन्छ, “पूँजीवादी शिक्षाको आधारभुत कमजोरी भनेकै श्रमबाट अलग गराउनु हो ।” त्यसकारण पूँजीवादी शिक्षाको विशेषता भनेकै सैद्धान्तिक र व्यावहारिक पक्षको तालमेल नमिल्नु हो । समाजवादी शिक्षामा विद्यालय र शिक्षालाई उद्योग र उत्पादनसँग अनिवार्य जोडिएको हुन्छ । श्रम र उत्पादन विनाको शिक्षा भनेको हातखुट्टा विनाको मानव शरीर जस्तो हुन्छ । त्यसो भएको हुनाले समाजवादी शिक्षाले प्रत्यक्ष श्रम र उत्पादनसँग जोडी मानव जीवनलाई सुख, समृद्धितिर उन्मुख गराउदछ ।

४. समाज र देशको माग आधारित शिक्षा

नेपालको वर्तमान शैक्षिक प्रणालीले व्यक्ति, परिवार, समाज र देशको माग र आवश्यकतालाई परिपूर्ति गर्ने जनशक्ति उत्पादन गर्ने नभई कुन देशमा कस्तो जनशक्ति आवश्यक छ त्यसको परिपूर्ति गर्ने काम नेपालको विद्यालय विश्वविद्यालय उत्पादन गरिरहेका छन् । जस अनुसार नेपाली युवा विद्यार्थीहरू आफ्नो आत्मसम्मान र स्वाभिमानलाई गुमाई विदेशमा सस्तो ज्यालामा श्रमशक्ति बेच्न बाध्य भएका छन् । त्यस कारण समाजवादी शिक्षा प्रणालीले देशमा भएको प्राकृतिक स्रोत साधनलाई उपयोग र परिचालन गर्दै समाज र देशको आवश्यकता परिपूर्ति गर्ने जनशक्ति उत्पादन गर्दछ ।

निष्कर्ष

नेपालको वर्तमान शैक्षिक प्रणालीलाई निजीकरण र व्यापारीकरण गरी गरीब किसान मजदुरका छोराछोरीहरूको हातबाट शिक्षालाई खोसिएको छ । साथै शिक्षालाई श्रम र उत्पादनबाट अलग गराई शैक्षिक बेरोजगार जन्माउने गरेको छ । जसको कारणले नेपाल अहिलेसम्म कसैको दास र अधिनमा नरहे तापनि नेपाली यूवाहरूलाई आधुनिक तरिकाले अर्काको देशमा दास बनाई देशको स्वाधिनता र स्वाभिमानलाई गुमाएको छ । करीव ७० लाख नेपाली यूवाहरू विदेशमा दास जीवन विताउन बाध्य भएका छन् । वर्तमान शैक्षिक प्रणालीले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक हरेक क्षेत्रमा परनिर्भर, परजीवि बनाउने जनशक्ति उत्पादन गरेको छ । यो सबै परिणाम हुनुको मुख्य कारण दलाल पूँजीवादी संसदीय व्यवस्था र यस अन्तर्गत रहेको शैक्षिक प्रणाली हो । त्यस कारण यो राष्ट्रविरोधी र जनविरोधी दलाल राज्यसत्तालाई परास्त गरी गरीब किसान मजदुरको व्यवस्था वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गरी त्यस अन्तर्गत हुने समाजवादी शिक्षा प्रणाली लागु गर्नुपर्छ । जसले बहुसङ्ख्यक मानिसको समस्या समाधान गर्दछ । त्यसो हुँदा वर्तमान दलाल एवम्निगम पूँजीवादी शैक्षिक प्रणालीको अन्त्य गरी समाजवादी शिक्षा प्रणाली स्थापना गर्नु अहिलेको आवश्यकता हो ।

लेखक नेकपा ( बहुमत ) निकट अनेरास्ववियू ( क्रान्तिकारी ) का केन्द्रिय सदस्य हुन्  । 

प्रतिक्रिया दिनुहोस