अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकीको आरोप : बालेन सरकार सुकुम्बासी र मजदुरको विपक्षमा !

पोखरा।अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले १३७ औं अन्तराष्ट्रिय मजदुर दिवस (मई दिवस)को अवसरमा विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर बालेन सरकारले गरिबी हटाउनुपर्नेमा गरीब हटाएर उल्टो बाटोमा हिंडिरहेको आरोप लगाएको हो । पुराना दलहरुले केहि गरेन भनेर त्यसको जगमा जनअनुमोदित भएर आएको सरकारले संविधानले ज्ञारेन्टी गर्दै मौलिक हकका रुपमा राखेको गाँस, बास र कपासको व्यवस्था गर्नुपर्नेमा उल्टै उनीहरुको उठीबास लगाउनु दुर्भाग्य भएको अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले बताए । उनले भने,‘हटाउनुपर्ने गरिबी थियो तर बालेन सरकारले अहिले गरीब हटाईरहेको छ । पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य बृद्धि र त्यसका कारण बढेको महङ्गीले जनता बाँच्न नसक्ने अवस्थामा पुगेको बेला श्रमिकहरुको दैनिक जीवन सहज बनाउनुको सट्टा उल्टै सुकुम्बासी हटाउने नाममा गरीब जनताको घर टहरामा डोजर लगाएर जनतालाई सडकमा मर्न बाध्य बनाईनू दुर्भाग्य हो ।’

महासंघ गण्डकीले वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी नहटाउन आग्रह गरेको छ । काठमाडौंमा वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर लगाइएको घटनाको घोर भत्र्सना गर्दै उसले आगामी दिनमा त्यस्तो कार्य नदोहोराउन चेतावनी दिएको छ । सुकुम्बासी विकासको बाधक कहिल्यै नबन्ने अध्यक्ष गौतमले बताए । हिजो जसले हजारौं विघा जमिन सत्ता र शक्तिको दुरुपयोग गरेर हडपेर धनी बन्यो आज त्यसैले गरीबलाई विकासको बाधक भन्दै डोजर चलाएको उनको आरोप छ । ‘सुकुम्बासी विकासको बाधक हिजो पनि थिएन, आज पनि होईन र भोलि पनि हुँदैन’–उनले भने ।

बसपार्क निर्माणका लागि सरकारले २०३२ सालमा २०५ रोपनी क्षेत्रफल छुट्याएको थियो । त्यसबेला पोखराको पृथ्वीचोकको करीब दुई सय मिटर पूर्वपट्टी रहेको सेती डिल किनारबाट पश्चिमतर्फ, पृथ्वी राजमार्ग हाईवेबाट दक्षिणतर्फ, पुरानो एयरपोर्टबाट उत्तरतर्फ र पुरानो ट्राफिक कार्यालयबाट पूर्व तर्फको भाग बसपार्क बनाउनका लागि भनेर छुट्याएकाले त्यो सबै क्षेत्र खाली गरेर बसपार्क बनाउनुपर्नेमा महासंघ गण्डकी रहेको अध्यक्ष गौतमले बताए । सो २०५ रोपनी जमिनमध्ये हाल करीब १९ रोपनीमा मात्रै बसपार्क छ । सत्ता र शक्तिको आडमा त्यहाँको अधिकांश जमिन हडपेर व्यक्तिको नाममा लालपूर्जा बनेको गौतमको दाबी छ । पहिला सो जग्गामा डोजर चलाउनुपर्नेमा महासंघ गण्डकी रहेको उनले प्रष्ट्याए । गरीबको उठीबास लगाउने र धनीले हडपेकोचाहिं छाड्ने कदापी स्वीकार्य नहुने बताउँदै उनले भने,‘हामी बसपार्क बनाउनुपर्छ भन्नेमै छौं । तर बसपार्क कति क्षेत्रफलमा बन्छ र घरटहरा भत्काउन कहाँबाट शुरु गरिन्छ भन्ने हामी हेरिरहेका छौं ।’

महासंघ गण्डकीले सुकुम्बासी बस्ती खाली गर्ने नाममा आतंक सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेको छ । वैकल्पिक व्यवस्था नगरी पोखरा बसपार्क क्षेत्रमा बसेको सुकुम्बासी बस्ती खाली गर्नेबारे पोखरा महानगरपालिकाको ३५ दिने सूचनाले स्थानियमा आतंक सिर्जना गरेको उनको भनाई छ । बास्तविक सुकुम्बासीलाई वैकल्पिक व्यवस्था गरेर मात्रै त्यहाँ डोजर चलाउन उनको आग्रह छ । अन्यथा महानगरले निकालेको ३५ दिने सूचनाको हदम्याद सकिएको भोलिपल्ट ३६ औं दिनमा आफूहरु पनि दश हजार मजदुर र सुकुम्बासी डोजर लिएर सडकमा निस्किने उनले चेतावनी दिए । तपाईंहरु डोजर देखाएर गरीब, निमुखा जनतालाई देखाएर डर, त्रास देखाउने काम बन्द गर्नूस्,उनले भने,‘डोजर हामीसँग पनि छ, हामीसँग डोजर चलाउने पनि छन् र डोजर पनि छन् । कहाँकहाँ डोजर चलाउनुपर्छ हामीलाई पनि थाहा छ ।’

महासंघ गण्डकीका बरिष्ठ उपाध्यक्ष भोजराज खत्रीले आफूहरु पनि पोखरा बसपार्क बनाउनुपर्ने पक्षमा रहेको बताए । ‘तर त्यहाँ बस्दै आएका भुमिहीन सुकुम्बासीलाई बेहाल र बेघर बनाएर होईन, वैकल्पिक व्यवस्था गरेर बसपार्क बनाईनुपर्छ’खत्रीले भनेका छन ।

प्रतिक्रिया दिनुहोस