ओली सरकारकाे विरुद्ध श्रमजीवी मजदुरको प्रतिरोध

ठुल–ठुला झोला बोकेका, खुट्टामा पुराना जुत्ता–चप्पल लगाएका, कोहीले स–साना बच्चा डोरयाएका, कोही लौरो टेकेका, कोही हिँड्दा–हिँड्दै लखतरान परेर बिचबाटोमा फालिएकाहरू तस्बिरहरू सार्वजनिक भइरहेका छन् । कोरोना भाइरस ‘कोभिड १९’ महमारीले विश्व आक्रान्त भइरहेको बेला यी दृश्यले नेपालको आन्तरिक जीवनको यथार्थ झलक पनि दिएको छ । कोरोनाले सबैभन्दा बढी सहरमा श्रम गरेर निर्वाह गर्ने श्रमजीवी मजदुरहरूलाई प्रभावित गरेको छ । राजमार्गमा रुँदै र पानीमा भिज्दै हिँडिरहेका श्रमजीवी मजदुरहरू भनिरहेका छन्– सहरमा बसेर न खान पाइन्छ, न भनेको ठाउँमा जान पाइन्छ । चुनाव फेरि आउला नि, त्यतिखेर जानिएको छ ! भोको पेट लिएर दौडिरहेको दृश्यले बोलिरहेको छ, भित्रैबाट विद्रोहको ज्वाला उठ्दै छ । अन्ततः मजदुरहरूले शान्त विद्रोहको नीति अपनाए, काठमाडौँबाट हिँडेरै आ–आफ्ना गाउँघरतिर जाने अर्थात् बसाइँ हिँड्ने ताँती नै तयार भयो । यसो सोच्छु, यो ताँती शान्त विद्रोहभित्र कति भयानक ज्वालामुखी छ !

लेखक :- खेम थपलिया

काठमाडौँका चार नाका रात परेपछि गुल्जार हुन थाल्छन् । रातमा श्रमजीवी मजदुरहरू हुलका हुल कोटेश्वर, कलङ्की, बालाजु, बल्खु हुँदै चारनाका काट्छन्, त्यो पनि लुकीलुकी । सरकार लकडाउन लगाउँछ तर व्यवस्थापन गर्दैन । प्रधानमन्त्री भन्छन्– घरमा चामल छैन भने हामीलाई फोन गर्नुस्, नेकपा पोको बोकेर आउँछ । यथार्थमा सरकार श्रमजीवी मजदुरको लङमार्चको दर्शकसिवाय अरू केही बन्न सकेको देखिएन । विश्वका मजदुरहरू एक होऔँ नारा लगाउने कथित कम्युनिस्ट सरकारको यही लाचारीका कारण गह्रुङ्गा गह्रुङ्गा झोला–बोरा बोक्दै फित्तेचप्पल पट्याक पट्याक पट्काउँदै आ–आफ्ना गन्तव्यतिर सोझिइरहेका छन् । यी फित्तेचप्पलले कति टाढासम्मको यात्रा गराउने हो ? भन्न सकिने अवस्था छैन । अझ तालुको पसिना पैंतालामा भिज्नेगरी तातो खाडीमा काम गर्ने श्रमजीवी मजदुरहरूको बारेमा पनि यो सरकार बेखबर रहेको छ । यो बाध्यता, आवश्यकता वा नियमित आकस्मिकता के हो ? यसबारे मानिसहरू त्यति धेरै खुलेर बोल्ने आँट गरिरहेका छैनन् । मलाई लाग्छ, यो मौन विद्रोह हो, यो ओली सरकारप्रतिको तीव्र असहमति हो । भनिन्छ नि धेरै पीडा भएपछि आँसुको भण्डार सुख्खा हुन्छ । आँसु नै रित्तिन्छ । त्यो भयानक हुन्छ । नेपालमा ओली सरकारको असक्षमता र लाचारीले यही अवस्था निम्त्याइरहेको छ ।

उहिलेको कुरा अलग्गै हो । जतिबेला सवारीको कुनै सवारी साधन थिएन । मानिसहरू आफ्नो आवश्यकताले धेरै टाढा–टाढासम्म पनि पुग्दथे तर आज नितान्त फरक परिस्थिति छ । सबै हिसाबले विश्व एउटा गाउँको रूपमा बदलिएको छ । आजको दिनमा कमै मानिसले कल्पना गर्न सक्छन् कि काठमामाडौँबाट हिडेर झापा, सुनसरी, बाँके, बर्दिया, सुर्खेत, महेन्द्रनगरसम्म पुग्नु ! वीरगञ्जबाट हिँडेर नेपालगञ्ज, महेन्द्रनगर अनि महेन्द्रनगरबाट हिँडेर वीरगञ्ज पुग्नु सामान्य परिघटना हुनै सक्तैन । भारतका विभिन्न सहरदेखि हिँडेरै नेपालका गाउँ–गाउँसम्म पुग्नु झन् कति कष्टकर ! आफ्नो नागरिकप्रति सरकार यतिखेर उदासी बन्न मिल्ला र ! श्रमजीवी मजदुरको आँसु नदेख्ने आखिर यो कसको सरकार ! प्रष्ट छ, यो दलालहरू सरकार हो ।

दृश्यहरूले मन असाध्यै कुँडिएको छ । सरकार पटक्कै गम्भीर छैन । मजदुरहरू जहाँ छन्, त्यहीँ खाने र बस्ने व्यवस्था गर्नुपर्दथ्यो । यति पनि गर्न नसकिए विभिन्न तहसँग समन्वय गरेर सुरक्षित तवरबाट सम्बन्धित क्षेत्रमा क्वारेन्टिनमा बस्नेसम्मको व्यवस्था मिलाउन पनि सक्नुपर्दथ्यो । सरकारको दायित्व लकडाउन गर्नु मात्र थिएन । यस्तै सकसको बेलामा त सरकार चाहिने, पार्टी चाहिने, सङ्गठन चाहिने । कस्ता कस्ता युद्धको बेलामा त सरकारले आफ्ना नागरिकहरूको व्यवस्थापन गरेको हुन्छ । यो शासकीय कुशलताको कुरा पनि हो । झन् भारतका विभिन्न स्थानबाट मजदुरहरू स्वदेश फर्किरहेका छन् । त्यसरी फर्किएका मजदुरहरूलाई सीमामा रोकिएको छ । कोही–कोहीले महाकाली नदीमा हामफाल्दै स्वेदशी माटोमा पाइला टेकेका छन् । फेरि तिनलाई गिरफ्तार पनि गरिएको छ । कैयौँ सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ । मजदुरहरू ओली सरकारविरुद्ध नारा लगाइरहेका छन् । यहाँ पनि सरकार मूकदर्शक बनेको छ । महाकाली नदी तरेर स्वदेश फर्किनेक्रममा केहीको डुबेर ज्यानसमेत गएको छ । के यस्ता कुरालाई तपाईंको मुटु पोल्दैन !
प्रश्नहरू उर्लिएका छन्– त्यति टाढासम्म पैदल .. ? यस्तो हालतमा ? बच्चाहरू पनि छन् ? महिलाहरू पनि छन त ? वृद्धहरू पनि ? अथवा भनौँ सबै उमेर समूहका मजदुरहरूको लस्करले जन्माएको प्रश्न । उत्तर पनि आँधीजस्तै आइरहेका छन्– सबै थाहा छ, थाहा भएर मात्र पनि नहुँदो रहेछ । काम नभएपछि पैसा भएन, पैसा नभएपछि खान पाइएन । आजसम्म सरकारले भनेको मानियो तर ऊ पनि भन्ने मात्र त हो । काठमाडौँमै बसे भोकभोकै मरिनेजस्तो लाग्यो, त्यसैले हामी रातमै नै हिँड्यौँ । दिनमा त निस्किनै दिन्नन् । यी प्रश्न र उत्तरले मेरो मन निकै कुँडिन्छ । हैट ! आजको विश्वमा पनि यस्तो ! अनि सम्झन्छु प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा गरेका सम्बोधन । हुन त प्रम ओली हाँसो–ठट्टा गर्न माहिर छन् । सम्बोधनको क्रममा उनले लकडाउनलाई जेलजीवनसँग तुलना गरेर आफ्ना अनुभव पनि सुनाएका थिए । ज्याला मजदुरीमा काम गर्नेहरूलाई भोकै मर्न नदिइने कुरा पनि गरेका थिए । उनको कुरा एक दिन पनि टिकेन । मजदुरहरूले सरकारका तर्फबाट आफूलाई साथ र बास दिने भरपर्दाे कुनै संयन्त्र देखेनन् । उनीहरूले सरकारलाई विश्वास गर्ने आधार देखेनन् । अनि मर्नुभन्दा बौलाउनु निको भन्दै निस्किए, चाउचाउ चपाउँदै र बच्चालाई काखमा च्याप्दै सयौँ किलोमिटरलाई पैतालाले नाप्न ।

भनिन्छ, श्रमजीवी मजदुरहरूको कुनै देश हुँदैन । यी सर्वहारा हुन् । यी वास्तविक कम्युनिस्ट हुन् । यी क्रान्तिकारी हुन् । विश्व नै यिनको घर हो, देश हो । श्रमजीवी मजदुरहरू साम्यवादी आदर्शका नायक र गायक दुवै हुन् । यो विश्वलाई यहाँसम्म झिलीमिली बनाउने पनि यिनीहरू नै हुन् । सबका सबलाई यसै भएर पनि होला, उनीहरूलाई साथ दिने पनि कोही देखिएनन् । सिंहासनमा पु¥याउने पनि यिनीहरू हुन् तर पनि सबैभन्दा उत्पीडित नै यिनीहरू रहेका छन्, आखिर किन ? प्रष्ट कुरा छ, यो विश्व मजदुरहरूको होइन । यो सत्ता मजदुरहरूको होइन । र, त यस्तो भइरहेको छ । यथार्थ यस्तो भएपछि कथित जनप्रतिनिधिहरूले पनि किन हेर्थे । यो चुनावको बेला पनि होइन । कसैले केही सहयोग नगरेपछि र गर्ने अवस्था नदेखिएपछि श्रमजीवी मजदुरहरूको यो लङमार्च सुरु भएको हो । यो विद्रोहको लङमार्च हो । यो सत्ताको विरुद्धको लङमार्च हो । यी महानु मजदुरहरू रहरले यसरी हिँडेका होइनन् । यी दृश्यले एउटा प्रश्न भने अवश्य उब्जाइदिएको छ, के मजदुर हुनु भनेको अनागरिक हुनु हो ? के मजदुरहरू भोटबैंक मात्र हुन् ? इतिहासका निर्माता मजदुरहरूलाई यो सरकार वा सम्बन्धित निकायले व्यवस्थापन गर्न सक्दैन ? यसले राज्य र सरकारको असफलतालाई इङ्गित गरेको छ । मजदुरहरू भोकभोकै दिन काटिरहेका छन् । मजदुरहरूका यस्तो सकस आखिर केका लागि ? गज्जब त के पनि भएको छ भने विश्वका विभिन्न देशमा पीआर र ग्रीनकार्डधारीहरूको बचाउमा बोल्ने राष्ट्रपति विद्या भण्डारी स्वदेशी श्रमजीवी मजदुरबारे एक शब्द पनि खर्चिन तयार भइनन् । आहा कस्तो वर्गीयता ! कस्तो अपूर्व वर्गीयप्रेम ।

मनमा अनेक प्रश्न सलबलाइरहेका छन्– तिनै श्रमजीवी मजदुरको पसिनाबाट टिकेको काठमाडौँ उनीहरू लकडाउनपछि फर्किएनन् भने के होला ? श्रमजीवी मजदुरहरूले यसपल्ट काठमाडौँलाई नजिकबाट चिन्ने अवसर पाएका छन् । प्रतिकूल अवस्थामा सामान्य सहयोग पनि गर्न नसक्ने जनप्रतिनिधिलाई अर्को चुनावमा भोट हाल्न तिनका हात उठ्लान् ? मजदुरहरू खुलमखुला भनिरहेछन्– काठमाडौँ मानवता भएको सहर हैन रहेछ, काठमाडौँ त श्रम लिने तर विपत्मा सहयोग नगर्ने रहेछ । के साँच्चै काठमाडौँ यतिविधि अमानवीय भइसकेको हो ? के काठमाडौँ यति धेरै क्रूर र मतलबी भइसकेको हो ? के काठमाडौँ यति धेरै स्वार्थी भइसकेको हो ? यदि यस्तो हो भने यो कुरा काठमाडौँलाई धेरै महङ्गो पर्नेछ । मजदुरहरूले भनिरहेका छन्– काठमाडौँले हामीलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गरिरहेको छ । भोटरका आधारमा राहत बाँडिएको छ । यो कोरानाको सन्दर्भमा भोट र नोट नभएका मजदुरहरूको हविगत दयनीय रहेको छ । पुँजीवादले मजदुरको रगत–पसिनाबाहेक केही देख्न सक्तैन । यतिबेला विश्वभरका मजदुरहरू गम्भीर समस्यामा रहेका छन् । अमेरिकामा मात्र डेडकरोड बढी मजदुर बेराजगार भएको खबर छ । भारतमा लकडाउनको समयमा एकैपटक तीनलाख मजदुर प्रहरीसित भिडे । यसले अबको विश्वको नयाँ विश्व व्यवस्थाको आवश्यकतालाई इङ्गित गरेको छ ।

म सम्झन्छु कार्ल माक्र्सले भन्नुभएको कुरा । माक्र्सले भन्नुभएको थियो– मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ । आज नेपालको मात्र होइन, विश्वभरका मजदुरको अवस्था उस्तै उस्तै छ । माक्र्सको भनाइ मजदुर मुक्तिसँग जोडिएको छ । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने माक्र्सको सोच देखिन्छ । मजदुरवर्गको मुक्ति भनेकै मजदुरवर्गीय राज्यसत्ता हो । माक्र्सको यो भनाइ समकालीन विश्व र नेपालमा आज पनि उत्तिकै सान्दर्भिक छ । यी मजदुरहरू कारोना–सोरोना छोड् भनेर यो सरकार र सत्ताका विरुद्ध सडकमा उत्रिएको दिन कस्तो होला ! यी भोका श्रमजीवी मजदुरहरू आफ्नै सत्ता प्राप्तिको निर्णायक लडाइँमा उत्रिएको दिन के होला ।

नेपालको सबै परिवर्तनको मजदुरको महत्वपूर्ण भूमिका रहँदै आएको छ । महान् जनयुद्धमा मजदुरले ठूलो बलिदानको कोटा चुक्ता गरेका थिए । आज सत्तामा जनयुद्धकालीन नेतृत्व रहेको पार्टी छ । मजदुर नेताहरू मन्त्रीसमेत भएका छन् । बालुवाटारमै मजदुर नेता ढलीमली गरिरहेका छन् । फेरि नेपालमा यतिबेला कम्युनिस्टको सरकार भएको हल्ला पनि गरिँदै छ । आफूलाई किसान–मजदुरको सरकार पनि भएको भनिँदै छ । विश्वमा जति पनि परिवर्तन भएका छन्, जति पनि राजनीतिक–सामाजिक उथल–पुथल भएका छन्, त सबैमा मजदुरको अहम् भूमिका रहँदै आएको छ । महान् मजदुरहरू महान् क्रान्तिका नायकलाई किन अपमान गरिँदै छ । अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन ठुल–ठुला कार्यक्रम पनि हुन्छन् । चर्को चर्को भाषण पनि गरिन्छ तर मजदुरको जीवनमा सकारात्मक रूपान्तरणका लागि ठोस कदम चालेको देखिँदैन । मजदुर हक अधिकारको कुरा केवल नारामा मात्रै सीमित छ । मजदुरहरूलाई सत्तामा पुग्ने भ¥याङको रूपमा उपयोग गरिँदै आएको छ । यस्तो देखिँदै छ कि मान्छेहरू कोरोनाले भन्दा बढी भोकले मर्दै छन् । हुन त भोकको मृत्युको सङ्ख्या कैयौँगुणा बढी रहेको छ । यस्तो लाग्दै छ, सरकारको काम लकडाउन गरेर मस्त निंदाउनु हो । गरिखाने जनताको कष्टकर दैनिकीबारे यो सरकार पुरै बेखबर छ । राहतकोष राहतका लागि हैन, आहतका लागि भएको छ । रेमिट्यान्सबाट चलेको सरकार परदेशमा रहेका नेपाली श्रमिक मजदुरको पीडामा सारथी बनिरहेको छैन । कमसेकम ओली सरकारले यस्तो महासङ्कटको बेला कमिसन नखाए पनि त हुने नि !
दुनियाँमा आदर्श नभएको पनि केही चीज हुन्छ र ? हामी पेरिस कम्युनलाई सर्वहारावर्गको आदर्श मान्छौँ । वर्गसमाजमा हरेक वर्गको आ–आफ्नो आदर्श हुन्छ । बसिखाने वर्गको एउटा आदर्श हुन्छ भने गरिखाने वर्गको आदर्श अर्को हुन्छ । ओली सरकार र उसको पार्टी बसिखाने वर्ग हो, राजमार्गका श्रमजीवी मजदुरका ताँती गरिखाने वर्ग हुन् । पेरिस कम्युन स्थापनालाई संसारभरका श्रमजीवीहरूले एक आदर्श एवम् गौरवशाली दिनका रूपमा स्मरण गर्छन् । हामी सबैलाई थाहा छ कि करिब डेडसय वर्षअघि पेरिसका श्रमजीवीहरूले आफ्नो राज्यसत्ता स्थापना गर्न सशस्त्र विद्रोहको थालनी गरेका थिए । यही सशस्त्र विद्रोहमार्फत विश्वइतिहासमै पहिलोपटक मजदुरहरूको आफ्नो राज्यसत्ता पेरिस कम्युनको स्थापना भएको थियो । श्रमजीवी जनतामाथि झन् बढी दमन र थिचोमिचो हुन थालेपछि उठेको विद्रोह र त्यसको विष्फोटस्वरूप पेरिस कम्युन जन्मेको हो । के यो ऐतिहासिक तथ्यलाई ओली मण्डली एकपटक स्मरण गर्न तयार छ ? राजमार्गका श्रमजीवी मजदुरका ताँतीले एकपटक पेरिस कम्युनको ऐतिहासिकतालाई स्मरण गर्न आवश्यक छ ।

ओहो, मजदुरहरूले भनिरहेका छन्– हाम्रो गोडाभन्दा पनि बढी मन दुखिरहेको छ । यसको मुख्य कारण भेद्भाव हो । मानिसमाथि हुने सबै भेदभावको अन्त्य भएको आदर्श समाजको स्थापना हामी सबैको चाहना हो । इतिहासको निर्माता श्रमजीवी जनताले पेरिस कम्युनमा देखाएको वीरता, त्याग र बलिदानको उदात्तभावले आज पनि संसारभरका क्रान्तिकारीहरूलाई उत्प्रेरित गरिरहेको छ । पेरिस कम्युनमा श्रमजीवी जनताद्वारा प्रस्तुत गरेको सर्वहारावर्गीय आदर्श विश्वभरिका क्रान्तिकारी आन्दोलनका लागि प्रेरणाको स्रोत बनिरहेको छ । पेरिस कम्युनको गौरवशाली मोर्चामा पुँजीपतिहरू ‘मेरो छोराछोरीका लागि’ भन्दै बाँच्न चाहन्थे भने श्रमजीवी वर्ग ‘हाम्रा छोराछोरीका लागि’ भन्दै बलिदान हुन तयार हुन्थे । मानवमुक्तिका लागि गरिएको त्यो अपूर्व बलिदान आजको क्रान्तिकारी आन्दोलनमा पनि ऊर्जाको स्रोत बनिरहेको छ । पेरिस कम्युनको गौरवशाली झन्डा एक लाखभन्दा बढी सर्वोत्तम छोराछोरीहरूको बलिदानको जगमा फहराइएको पेरिस कम्युनको झन्डा आज विश्वव्यापी रूपमा फैलिएको छ । यही भावमा कोरोनापछि यसको इपिसेन्टर नेपाल पनि हुन सक्तछ । माक्र्सले भन्नुभएको थियो– पेरिस कम्युन असफल हुन सक्छ तर त्यसले सुरु गरेको सामाजिक क्रान्तिको विजय हुनेछ । त्यसको जन्मथलो सर्वत्र छ ।

सञ्चारका विभिन्न माध्यमबाट कल्पना नै गर्न र हेर्नै नसकिने तस्बिरहरू सार्वजनिक भइरहेका छन् । सुन्नै नसकिने कथा–व्यथाको प्रसार भइरहेको छ । मान्छेका खुट्टा पटपटी फुटेका छन् । केहीको मृत्यु पनि भएको भएको छ । अभाव, अन्याय, अपमान र असहयोगद्वारा भतभती पोलिएका यी मजदुरहरूले आज जसरी झिटीगुन्टा बोकेर गाउँतिर लम्किरहेका छन्, त्यसरी नै सडकमा उत्रिएर सशस्त्र विद्रोह गर्ने स्थिति नजकिै आउँदै छ । नाङ्गो खुट्टा, भोको पेट र अपमानद्वारा थिचिएर हिँडिरहेका मजदुर अनि आफ्नै देशको सिमानाभित्र पस्न तड्पिनुपर्ने अवस्थाले समकालीन नेपाली शासक र नेपाली राज्यसत्ताको असलियत प्रमाणित गरेको छैन र ! मजदुरहरूको यस्तो अवस्थाले धेरैको हृदय छियाछिया भएको महसुस गर्छु ।

लाग्छ, अवस्था कम दर्दनाक छैन । कवि तथा गीतकार शरद पौडेलले ‘आँखा खोल माराज हो, जनताको आँधी याद गर, भोकले ल्याउने तुफानले, उडाइलैजाला होस गर’ भनेजस्तै अवस्था छ । ओली सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको राजनीतिक प्रतिबन्धको यतिबेला, कोरोना भाइरसले सिर्जना गरेको सन्त्रासको यतिबेला ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतको खुब याद आइरहेको छ । त्यतिबेला म जन्मेको पनि थिइनँ, जतिबेला २०२६ सालमा जेबी दाइले लव प्रधानद्वारा लिखित ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतमा स्वर–सङ्गीत दिनुभएको थियो । यो पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनको आवाज थियो । यो राज्यबाट शोषित–उपेक्षित श्रमजीवी किसान–मजदुरको आवाज थियो । यो अन्याय र असमानताले थिचिएका विपन्नहरूको आवाज थियो । यो आमूल परिवर्तनको आवाज थियो । यो ओली सरकारका विरुद्ध श्रमजीवी मजदुरको प्रतिरोधी आवाज हो आज पनि यो गीत भुइँमान्छेहरूको आवाज बनिरहेछ, प्रतिरोधलाई आह्वान गरिरहेछ ।
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदछ
लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ ।

प्रतिक्रिया दिनुहोस