स्थानीय चुनावमा लेबर पार्टीको ठुलो हारपछि सो पार्टीका संसद् सदस्यहरूले राजीनामा दिन आह्वान गरेसँगै बेलायतका प्रधानमन्त्री केयर स्टारमर आफ्नो राजनीतिक अस्तित्वका लागि लडिरहेका छन् । सोमबार एक सम्बोधनमार्फत स्टारमरले ‘धेरै कठिन’ नतिजाको जिम्मेवारी लिए र ‘थप ठुलो चुनौतीको सामना गर्ने’ र ‘बलियो र निष्पक्ष बेलायत’ बनाउने वाचा गरे ।
पार्टीले गल्ती गरेको स्वीकार गर्दै प्रधानमन्त्री स्टारमरले आफूहरूले गरेका ठुला राजनीतिक छनोट सही भएको दाबी गरे । तिनमा उनले इरानसँग युद्धमा संलग्न नहुने विकल्पलाई समेत समावेश गरे ।
गत साता सम्पन्न स्थानीय तहको चुनावमा केन्द्रमा सत्तारुढ लेबर पार्टीले इंग्ल्यान्डमा लगभग एक हजार ५०० काउन्सिलर गुमाउनुपर्यो । लेबरले गुमाएका प्रायः धेरै सिट रिफर्म युके र ग्रिन्सले जितेका छन् । लगत्तै ‘ब्याकबेन्चर’ लेबर सांसद क्याथरिन वेस्टले क्याबिनेट मन्त्रीहरूलाई स्टारमरलाई प्रतिस्थापन गर्ने दिशामा ‘छिटो कदम चाल्न’ आग्रह गरिन् ।
३० भन्दा बढी लेबर सांसदले स्टारमरले राजीनामा दिनुपर्ने वा आफ्नो प्रस्थानको समयतालिका तय गर्नुपर्ने माग राखेका छन् । यस्तो माग राख्नेमा स्टारमरसँग नजिक रहेका पूर्वसहयोगी जोस साइमन्स पनि समावेश छन् । उनले ‘द टाइम्स’मा एक लेख लेख्दै स्टारमरले ‘देशको विश्वास गुमाएको’ बताएका छन् ।