नविन के सी
मध्यमवर्ग कुनै स्थिर आर्थिक आधारमा उभिएको वर्ग होइन। यसले आफ्नो पहिचान उद्योग, उत्पादन वा पूँजीको मजबुत संरचनाबाट होइन, बरु जागिर, वैदेशिक आम्दानी, साना व्यवसाय र राज्यसँगको पहुँचबाट बनाएको छ। यस्तो आधार आफैंमा अस्थिर हुन्छ। जब आधार अस्थिर हुन्छ, व्यवहार पनि स्थिर रहँदैन—यो स्वाभाविक प्रक्रिया हो, नैतिक कमजोरी होइन।
लामो राजनीतिक इतिहासले पनि यही कुरा देखाउँछ।जनयुद्ध र वि.स २०६२/२०६३ जनआन्दोलन पछि मध्यमवर्गले परिवर्तनको पक्षमा उभिएर ठूलो भूमिका खेलेको थियो। तर परिवर्तनपछि अपेक्षा पूरा हुन नसक्दा निराशा बढ्यो। यही निराशाले उसलाई नयाँ विकल्प खोज्न बाध्य बनायो। कहिले केपि ओलि को राष्ट्रवादतर्फ आकर्षित भयो, कहिले बालेन शाहा जस्ता नयाँ अनुहारतर्फ। फेरि राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता शक्तिहरूमा आशा देखायो। प्रत्येक मोडमा उसको समर्थन छिटो बदलिएको देखिन्छ—र त्यहीँबाट “अवसरवाद” को आरोप जन्मिन्छ।तर यस व्यवहारलाई केवल अवसरवाद भनेर व्याख्या गर्नु अधुरो हुन्छ। मध्यमवर्गको भित्री यथार्थ “बाँच्ने रणनीति” हो। सीमित आम्दानी, अनिश्चित रोजगारी, सामाजिक प्रतिष्ठा जोगाउने दबाब र भविष्यको असुरक्षाले उसलाई निरन्तर अनुकूलन गर्न बाध्य बनाउँछ। ऊ स्थिर रहन चाहन्छ, तर परिवेशले स्थिर रहन दिँदैन। त्यसैले ऊ परिस्थिति अनुसार आफ्नो धारणा, समर्थन र प्राथमिकता बदल्छ।यहाँ एउटा महत्वपूर्ण भिन्नता बुझ्न आवश्यक छ। बाँच्ने रणनीति भित्रको आवश्यकता हो; अवसरवाद बाहिर देखिने व्यवहार हो। जब कुनै वर्ग आफ्नो अस्तित्व जोगाउनका लागि निर्णय लिन्छ, त्यो निर्णय अरूको आँखामा फाइदाको पछि दौडिएको जस्तो देखिन सक्छ। तर त्यो निर्णयको जरोमा नैतिक कमजोरीभन्दा बढी संरचनात्मक बाध्यता हुन्छ।

डिजिटल युगले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ। सामाजिक सञ्जालले विचारहरूलाई छिटो बनाउँछ, तर त्यत्तिकै छिटो बदल्छ पनि। मध्यमवर्ग यस प्रवाहको मुख्य उपभोक्ता र उत्पादक दुवै हो। परिणामस्वरूप, उसले लिने धारणा धेरैजसो प्रतिक्रिया-आधारित हुन्छ, दीर्घकालीन प्रतिबद्धतामा होइन।
अन्ततः, नेपालको मध्यमवर्गलाई अवसरवादी भनेर मात्र परिभाषित गर्नु सजिलो छ, तर पर्याप्त छैन। ऊ अस्थिर छ भने त्यो उसको स्वभावभन्दा बढी उसको परिवेशको प्रतिबिम्ब हो। जबसम्म आर्थिक संरचना बलियो हुँदैन, अवसरहरू समान रूपमा वितरण हुँदैनन् र शासन प्रणाली विश्वसनीय बन्दैन, तबसम्म मध्यमवर्गबाट स्थिरता अपेक्षा गर्नु यथार्थवादी हुँदैन।
मध्यमवर्गको आलोचना गर्नुभन्दा, उसलाई यस्तो बनाउने संरचनामाथि प्रश्न उठाउनु आवश्यक छ। किनकि समस्या व्यक्तिमा होइन—व्यवस्थामा गहिरो जरा गाडेर बसेको छ।