कास्की।कास्कीको प्रतिनिधिसभा क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टी राजकाजी गुरुङ’करण’ले आफ्नो घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन।सोही क्रममा गुरुङले मादी गाउँपालिका वडा नं १ स्थित पर्यटकीय गाउँ सिक्लेस मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा सिक्लेस आमा समूहले उम्मेदवार गुरुङसहितको टोलीलाई भव्य स्वागत गरेको थियो। आमा समूहकी अध्यक्ष सन्तोषी गुरुङले क्षेत्र नं. १ मा गुरुङ समुदायको उम्मेदवार पाउनु समुदायका लागि खुशीको विषय भएको बताउँदै मतदान गरेर विजयी गराउनु आफ्नो कर्तव्य भएको उल्लेख गरिन। उनले सिक्लेससम्म पुग्ने सडकको अवस्था नाजुक रहेको भन्दै सुधारका लागि पहल गरिदिन अनुरोध गरे। युवा व्यवसायी किरण गुरुङले भिजन भएका नेता राजकाजी गुरुङलाई जिताउन सम्पूर्ण गुरुङ समुदाय एकजुट हुनुपर्ने धारणा राखे।
घरदैलो कार्यक्रममा नेकपा की समानुपातिक उम्मेदवार सोमती गुरुङ र दिलु पन्तले संविधानको रक्षा गर्ने पार्टी नेपाली कम्युनिस्ट पार्टी भएकाले समानुपातिक मत पार्टीलाई दिन आग्रह गरिन।
गण्डकी प्रदेश सभाकी पूर्व सांसद गायत्री गुरुङले केन्द्रसँग प्रत्यक्ष सम्बन्ध भएका नेताका रूपमा राजकाजी गुरुङलाई विजयी गराउन अपिल गरिन। पूर्व संविधान सभा सदस्य कृष्ण गुरुङले,गुरुङ समुदाय विदेश पलायनभन्दा देशमै अध्ययन र विकासमा लाग्नुपर्नेमा जोड दिए।नेकपा केन्द्रीय सदस्य पूर्ण लामा तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले व्यवस्था र संविधान जोगाउन पार्टीलाई जिताउनुपर्ने धारणा व्यक्त गरे।

उम्मेदवार राजकाजी गुरुङ’करण’ले सिक्लेस केवल पर्यटकीय गाउँ मात्र नभई गुरुङ समुदायको ऐतिहासिक थातथलो भएकाले यसको संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पोखरा–सिक्लेस सडक सुधार, शिक्षा, स्वास्थ्य, पर्यटन र जलविद्युत विकासलाई प्राथमिकतामा राख्ने बताउँदै जलविद्युतबाट स्थानीय जनताले पाउने सेवा–सुविधामा विशेष ध्यान दिने बताए।
घरदैलो कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य तोरण गुरुङ, लालबहादुर गुरुङ,जिल्ला समन्वय सदस्य रन्जन गुरुङ, मादी गाउँपालिका अध्यक्ष मित्र गुरुङ, उपाध्यक्ष अन्जु गुरुङ, सचिव रामकृष्ण अधिकारी,युवानेता रोहित सुनार र समाजसेवी रन बहादुर सुनार लगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। कार्यक्रम अन्तर्गत पर्छे, खिलाङ, चिप्ली, तप्राङलगायत स्थानमा पुगेर जनताका गुनासा सुन्दै गुरुङले सबै प्रकारका समस्याको समाधानका लागि आफू प्रतिबद्ध रहेको बताए।

