कास्की। कास्कीको प्रतिनिधिसभा क्षेत्र नं. १ का उम्मेदवार राजकाजी गुरुङले मादी गाउँपालिकामा मतदातासँग घरदैलो कार्यक्रम तीव्र पारेका छन्। कार्यक्रम वडा नं. ५ को ठुलोस्वाँराबाट सुरु भई चित्रे मगरगाउँ, भैसे, वडा नं. ४ तारकाङ–माझाहाटी, वडा नं. ३ याङ्जाकोट–देउराली तथा वडा नं. २ को घाम्राङ र ताङतिङ लगायतका स्थानमा सम्पन्न भएको छ।घरदैलो अभियानको क्रममा उम्मेदवार राजकाजी गुरुङलाई संस्कृतिविद् जगमान गुरुङले शुभकामना दिएका छन।
घरदैलोका क्रममा ठुलोस्वाँराका भीम गुरुङले २०६४ सालमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देव गुरुङलाई मतदान गरेर विजयी बनाएको स्मरण गर्दै यसपटक पनि गुरुङ समुदायका छोरा राजकाजी गुरुङ उम्मेदवार बन्नु सबैका लागि खुशीको विषय भएको बताए। संविधान निर्माणका क्रममा महत्वपूर्ण भूमिका खेलेका नेताले विकासका कामलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै उनले ठुलोस्वाँरामा बाटो र खानेपानीको समस्या समाधान गर्न आग्रह गरे। साथै, ठुलोस्वाँरामा होमस्टे सञ्चालनको सम्भावना रहेकाले पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखे।
घरदैलो कार्यक्रममा नेकपा का केन्द्रीय नेता तेज कुमारी पौडेल, गायत्री गुरुङ, पूर्ण लामा, कृष्ण गुरुङ, समानुपातिक उम्मेदवार सोमति गुरुङ, दिलु पन्त लगायतको उपस्थिति रहेको थियो। भेटघाटका क्रममा मतदाताहरूले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा विशेष ध्यान दिन उम्मेदवारलाई आग्रह गरेका थिए।
समानुपातिक उम्मेदवार दिलु पन्तले आफू मादीकै चेली भएको उल्लेख गर्दै तारा चिन्हमा मतदान गर्न अनुरोध गरिन्। उम्मेदवार राजकाजि गुरुङले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पर्यटनलाई प्राथमिकतामा राख्दै जनताका न्यूनतम आवश्यकतामा केन्द्रित भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज श्रीनाथ बरालले संविधानको रक्षा र विकासका लागि राजकाजी गुरुङलाई विजयी बनाउनुपर्ने धारणा राखे।