पोखरा।कास्कीको प्रतिनिधिसभा क्षेत्र नं.१ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङ करणले संविधान रक्षाका लागि नेकपाले जित्नुपर्ने बताएका छन् । पुराना दलहरु नेपाली कांग्रेस र नेकपा एमाले तथा विध्वंश मच्चाएर आउनेहरुले संविधानको रक्षा गर्न नसक्ने बताउँदै उनले भने,‘अहिलेको संविधान हाम्रो संविधान हो । त्यसैले यो संविधान रक्षाका लागि हाम्रो पार्टीले जित्नुपर्छ ।’
उम्मेदवार गुरुङले जनतालाई धनी बनाउने अभियान नेकपाले शुरु गरेको बताए । जनतालाई धनी बनाउने हो,उनले अगाडि भने,‘जनतालाई धनी त बनाउने हो तर विदेशीसँग मागेर होईन । हाम्रो जल, जमिन, डाँडाकाँडालाई जोडेर जलविद्युत, पर्यटन र कृषिमार्फत रोजगारी र स्वरोजगार बनाएर जनतालाई धनी बनाउने हो ।’
उनले नेकपा भ्रष्टाचारविरोध सुशासनको अभियन्ता पार्टी भएको बताए । भ्रष्टाचारबिरुद्द अभियान चलाएकै कारण कांग्रेस–एमाले मिलेर आफ्नो पार्टीलाई सरकारबाट हटाएको स्मरण गर्दै उनले भने,‘सुशासन र समृद्दिका लागि हामी निर्वाचित भएर आएपछि दत्तचित्त भएर लाग्छौं ।’
उम्मेदवार गुरुङले जेनजीको मुद्दा पनि नेकपाले नै उठाउँदै आएको बताए । आफूहरुले उठाउँदै आएको मुद्दा नै जेनजीको पनि मुद्दा भएकाले त्यसको सम्बोधन नेकपाले गर्ने उनको भनाई थियो । उनले संविधानले आम जनतालाई अधिकार दिएको बताए । तर त्यत्तिले मात्रै नपुग्ने बताउँदै उनले थपे,‘अब जनतालाई रोजीरोटीको ज्ञारेन्टी गर्नुपर्छ । उनीहरुलाई दक्ष र सीपयुक्त बनाएर नेपालमै बस्ने वातावरण निर्माण गर्नुपर्छ । त्यसैले यसका लागि पनि नेकपाले जित्नुपर्छ ।’