काठमाडौँ । फागुन २१ गते हुने २७५ सदस्यीय प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ ११० जनाको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै प्रमुख राजनीतिक दलहरुको ध्यान प्रत्यक्षतर्फका उम्मेदवारतिर सोझिएको छ ।
प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल आ-आफ्नो पार्टीबाट जित्न सक्ने उम्मेदवारको खोजी गर्न आन्तरिक तयारीमा लागेका छन् । त्यसका लागि सबैजसो दलका नेता- कार्यकर्ता कुन क्षेत्रमा कसलाई उठाउँदा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सकिन्छ ? कुन क्षेत्रमा कसको मत कति छ ? प्रतिस्पर्धीले कसलाई उठाउँदैछ ? र, कसको लोकप्रियता कति छ ? भनेर आन्तरिक जाँचपड्तालसहितको कांग्रेस,एमाले,नेकपा र रास्वपा लगायत दलहरु हिसाबकिताबमा व्यस्त भएका छन् ।
सामान्यतया दलहरुले प्रत्यक्षतर्फको उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय, इमानदार,पार्टीप्रति आस्थावानका साथै चुनाव जित्न सक्ने व्यक्तिलाई प्राथमिकता दिएर उम्मेदवार बनाउने दाबी गरेका छन् ।