पोखरा।धर्मशास्त्रीहरूले दशैँमा विभिन्न समुदाय र क्षेत्रका मानिसले लगाउने विभिन्न रङका टीकाको विशेष महत्त्व भएको बताएका छन्।
त्यसबाहेक टीका लगाउने साइत र टीका लगाएपछि दिइने दक्षिणाको पनि आ-आफ्नै महत्त्व रहेको उनीहरूले बताएका हुन्।
घटस्थापनाबाट सुरु हुने दशैँमा दशौँ दिन अर्थात् दशमीको दिन मान्यजनको हातबाट टीका थापेर दक्षिणा लिने वा दिने गरिन्छ। त्यसपछि आशीर्वाद लिने वा दिने काम गरिन्छ।
ठाउँअनुसार दशैँमा कुनै समुदायले रातो, कुनैले सेतो, कुनैले पहेँलो र कुनैले कालो रङको समेत टीका लगाउने गर्छन्।
दशैँमा धेरै मानिसहरूले खासगरी हिन्दू समुदायका धेरैले रातो टीका लगाउने गरेको पाइन्छ। राई, लिम्बु, मगर, थारु, तामाङ र गुरुङ समुदायका कैयौँले भने दशैँमा अबिर वा केशरी नमिसाइएको सेतो टीका लगाउने गरेको पाइन्छ।
कसै कसैले दशैँमा देवीका लागि बालिएको दियोमा जम्मा हुने ध्वाँसो चामलमा मिसाएर मुछेर कालो टीका बनाएर लगाएको पनि देखिन्छ।
त्यस्तै पश्चिम नेपालको दैलेखको दुल्लुमा पहेँलो टीका लगाउने चलन रहे पनि पछिल्लो समय त्यो चलन हट्दै गएको त्यहाँका संस्कृतिविद्हरू बताउँछन्।
यसरी ठाउँ अनुसार फरक फरक टीका लगाउनुको पनि आफ्नो महत्त्व रहेको संस्कृतिविद् डाक्टर कान्ता भट्टराई बताउँछिन्।
दशैँमा लगाइने टीकामा अक्षता, दही, रङका लागि अबीर वा केशरी अनि केरा मिसाउने गरिन्छ। यी सबै सामग्रीको पनि आफ्नै महत्त्व भएको डाक्टर भट्टराई बताउँछिन्।
‘हामी कृषिसँग पनि सम्बन्धित छौँ, पशुपालनसँग पनि सम्बन्धित छौँ। प्रकृतिको पर्व पनि हो। सबै विषयलाई यसले समेटेको हुनाले टीकामा अक्षता, दही, केरा र रङको प्रयोग भएको हो’, उनले भनिन्।
विजया दशमी भनेको शक्तिको उपासना गरिने पर्व हो। रातो शक्तिको प्रतीक हो, सेतो सत्वको प्रतीक हो भने कालो महाकालीको स्वरूप भएका कारण शक्तिकै प्रतीक हो। पहेँलो भनेको पनि सत्वको प्रतीक हो।
नेपालीहरुको महान चाड दशै विश्वभरिका नेपालीहरू मनाउने गर्दछन।नेपालीहरु अहिले रहेका विभिन्न ३२ देशमा टीका लगाउने गरिन्छ र साइत पनि त्यसै अनुरुप तय गर्ने गरिन्छ।टिकाको साईत भने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपाल लगायत विश्वभरि नेपाली रहेका देशहरुको घडीपला अनुसार उत्तम समय निकाल्ने गर्दछ।