नेपालको दुईदिने भ्रमणमा आएका मिस्रीले सत्तापक्ष र विपक्षी दलका नेताहरूको भेटघाट तीव्र बनाएका हुन् ।
भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको तस्वीरमा नेपालका प्रधानमन्त्री ओलीका अगाडि भारतीय विदेश सचिव मिस्रीले उपरखुट्टी लगाएको देखिन्छ । मिस्रीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमै गएर ओलीसँग भेट गरेका हुन् । मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटका क्रममा गरेको आसनको अवस्थालाई लिएर धेरैले चर्चा गरेका छन् ।
यद्यपि, तिनै मिस्रीले सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बूढानीलकण्ठस्थित निवासमा भेट दिँदा सार्वजनिक भएको तस्वीरमा भने फरक आसन देख्न सकिन्छ । उनले त्यहाँ उपरखुट्टी लगाएका छैनन् । त्यस्तै, प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग खुमलटारस्थित निवासमा भेटका क्रममा सार्वजनिक भएको तस्वीरमा पनि मिस्रीको आसन प्रधानमन्त्री निवासमा जस्तो देखिँदैन ।
मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । उक्त भेटमा समेत मिस्रीको बसाइ अन्य नेताहरूलाई भेट्दाको जस्तै देखिन्छ।