लेखनाथ उद्योग बणिज्य संघको अधिवेसन भदौ २० र २१ मा, जानुका पराजुली प्यानलले उम्मेदवार टुंगायो

लेखनाथका व्यवसायीहरुको स्थापित संस्था लेखनाथ उद्योग वाणिज्य संघको आगामी भदौ २० र २१ मा २९ औं साधारणसभा तथा १५ औं अधिवेशन हुँदैछ ।अधिवेशनले २ वर्षका लागि नयां नेतृत्व छनौट गर्ने छ। आगामी नेतृत्वका लागि चुनावी दौडधूप सुरुवात भएको छ ।

बणिज्य संघमा आगामी नेतृत्वका लागि हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र हालका महासचिव जानुका पराजुली अधिकारीले अध्यक्षमा उम्मेदवारी दिने यसअघि नै घोषणा गरेका छन् । संघमा पहिलोपल्ट महिला नेतृत्वको लागि उम्मेवारी घोषणापछि त झन् चुनावी माहोल तातेको छ ।

संघको नेतृत्वको लागि निर्वाचन हुने करिब निश्चित देखिएको छ।उमेदवारहरुले आफ्ना ऐजेन्डाहरु पनि नारा सहित प्रस्तुत गरेका छन।‘इमानदारिता, पारदर्शिता र लगनशीलता व्यावसायिक क्षेत्रमा समक्ष नेतृत्व आजको आवश्यकता’ नाराका साथ जानुका नेतृत्वले समावेशी हुने गरी आफ्नो प्यानल टुंगाएको छ । ७ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षमा गोपीपचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुवबाबु भट्टराई (आईडी), महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगाकुमारी मल्ल र कोषाध्यक्षमा हरि बस्ताकोटीले उम्मेदवारी दिने भएका छन् ।

यस्तै, खुला सदस्यमा प्रतीक्षा रानाभाट, प्रभाकुमारी पौडेल लामिछाने, वीरेन्द्रराज भूर्तेल, भविन्द्र पुन (भविन), सुजन न्यौपाने, दीपक अधिकारी, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकीको नाम टुंगिएको छ । एसोसियट सदस्य दयाराज भण्डारी, संस्थागत सदस्यमा वीरभद्र कँडेल तथा २ महिला सदस्य शर्मिला श्रेष्ठ र गंगा परियार प्यानलमा छन् ।

लेखनाथ उद्योग बाणिज्य संघको इतिहासमै पहिलोपल्ट महिला नेतृत्व आउने लक्ष्यका साथ चुनावी दौडमा होमिएकी अध्यक्षका प्रत्यासी जानुका पराजुली अधिकारीले आफ्नो टिम समावेशी भएको दाबी गरिन् । उनले समग्र व्यवसायीको हकहित, संरक्षणसहित व्यवसाय प्रवद्र्धनका लागि आफ्नो उम्मेदवारी रहेको बताइन् । उनले व्यवसायीको हकहित र समस्या समाधानका लागि नीतिगत तहमा आफ्नो आवाज पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन् । साततालको बाटिका सहर लेखनाथलाई पर्यटकीय गन्तव्य बनाउन सरोकारवाला निकायसँग सहयोग गर्ने, पुँडिटारमा औद्योगिक क्षेत्र स्थापनका लागि ३ तहका सरकारसँग सहकार्य गर्ने, वेगनासको तालवाराह मन्दिरको प्रचार गर्ने, कृषि क्षेत्रमा ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा जोड दिने आफ्नो लक्ष्य रहेको बताइन् ।

बाणिज्य संघमा २ हजार १९ जना सदस्य छन् । चुनावका लागि संघको कार्यसमिति बैठकले वरिष्ठ अधिवक्ता खगेन्द्रराज आचार्य संयोजकत्वमा निर्माण समिति गठन पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस