गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता २०८२ मा LG कास्की फुटबल टिमले अत्यन्तै सशक्त प्रदर्शन गर्दै समूह चरणका सबै खेलमा विजय हासिल गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
असार १५ गतेदेखि पोखरा रंगशालामा सुरु भएको यो प्रदेशस्तरीय प्रतियोगितामा गण्डकी प्रदेशका सात जिल्लाहरू – बागलुङ, कास्की (पोखरा), गोरखा, नवलपुर, तनहुँ, स्याङ्जा र लमजुङ लगायतका टिमहरूको सहभागिता रहेको छ। प्रतिस्पर्धात्मक वातावरणका बीच LG कास्कीले सबै खेलहरूमा जित निकाल्दै उपाधिका लागि बलियो दाबेदारको रूपमा आफूलाई प्रमाणित गरेको हो।
LG कास्कीको उत्कृष्ट प्रदर्शन पहिलो खेल LG कास्कीले गोरखालाई ५–२ ले पराजित गर्दै प्रतियोगितामा बलियो सुरुवात गरेको थियो।दोस्रो खेलमा पनि LG कास्कीले स्याङ्जाविरुद्ध ८–० को एकतर्फी जित हात पार्दै सबभन्दा ठूलो अन्तरको विजय दर्ता गर्यो।तेस्रो अन्तिम समूह चरणको खेलमा बागलुङविरुद्ध ३–२ को जित निकाल्दै अपराजित हुदै LG कास्की फाइनलमा प्रवेश गरेको हो।
टिमको व्यवस्थापन र रणनीतिक पक्ष सशक्त बनाउनु साथै खेलाडीहरूको मनोबल उच्च राख्न सफल LG कास्कीका टिम म्यानेजर तथा क्लबका सचिव ईश्वर बस्यालले टिमको निरन्तर अभ्यास,अनुशासन र खेलाडीहरूको प्रतिबद्धतालाई नै यो सफलताको मूल आधार भएको बताए।
सचिब बस्यालले भने, “खेलाडीहरूको निरन्तर मेहेनत, समर्पण र एकताको परिणामस्वरूप आज हामी फाइनलमा छौँ।हामीले सुरुबाटै उपाधि लक्षित तयारी गरेका थियौँ र अहिले त्यो लक्ष्य नजिक छ।”
अब उपाधिका लागि निर्णायक भिडन्त
अब LG कास्की प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टिम बनेको छ। अर्को समूहबाट आउने उत्कृष्ट टिमसँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल खेलको मिति र समय आयोजकले चाँडै घोषणा गर्ने जनाएको छ।
गण्डकी प्रदेश फुटबल संघको आयोजनामा भएको यस प्रतियोगिता प्रदेशस्तरीय प्रतिभा पहिचान तथा विकासको महत्वपूर्ण माध्यम बनेको छ। एलजी कास्कीको निरन्तर उत्कृष्ट प्रदर्शनले आगामी दिनमा राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धा गर्ने सम्भावना बलियो बनाएको देखिन्छ।