कास्कीको मादी गांउपालिकाको स्थगित सभा सुरु बजेट प्रस्तुत,तेस्रो सन्तान जन्माउनेलाई ५० हजार

कास्कीको मादी गाउँपालिकाको १७औं गाउँसभा अनिश्चितकालका लागि स्थगित भएपछि आगामी आर्थिक वर्षको बजेट आउन नआउने अन्योलताको बिच आज बाट स्थगित सभा सहमतिमा सुचारु भएको छ।

नेपालको संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने प्रावधान छ।

मादी गांउपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट अक्षररुपी रु ६० करोड पचास लाख बिस हजार रुपैयाँ (रु.६०,५०,२०,०००।-) सभा सदस्यहरु तथा अध्यक्षको उपस्थीतिमा उपाध्यक्ष कल्पना गुरुङले प्रस्तुत गरेकी छन।
उक्त बजेट मध्य चालु प्रशासनिक खर्चतर्फ १४ करोड ३० लाख, वडाका लागि १९ करोड २० लाख र विभिन्न शाखातर्फ १८ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको उनले जनाइन् । यसपालिको बजेटमा केही नविन र सामाजिक सन्देश दिने स्थायी कार्यक्रमहरू समेटिएको पालिकाले पोखराक्लिकलाई उल्लेख गरेको छ । मादी गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने र जो कसैले तेस्रो सन्तान जन्माउछन सो शिशुको नाममा गाउँपालिकाले ५० हजार रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ । शिशु बालिग भएपछि मात्र उक्त रकम झिक्न सकिने गरी योजना बनाइएको उपाध्यक्ष गुरुङले जनाइन।

यसैगरी, दलित समुदायकी युवती जो २० वर्ष उमेर पुगेपछि मात्र विवाह गरेको खण्डमा गाउँपालिकाले उनलाई १५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउने भएको छ । बालविवाह न्यूनीकरण र कानुनी उमेरमा विवाहलाई प्रोत्साहन गर्न सो कार्यक्रम ल्याएको पालिका अध्यक्ष देविजंग गुरुङले बताए ।

गाउँपालिकामा घट्दो जन्मदर र बढ्दो बसाइँसराइको सन्दर्भमा जनसंख्या वृद्धिदरलाई सन्तुलित बनाउन यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भूजेलका अनुसार, यो सुविधा पाउनका लागि स्थायी मादीबासी हुनु पर्ने, अन्यत्र दीर्घकालीन बसाइँसराइ नगरेको हुनु पर्ने, र वडा अध्यक्ष तथा वडा सचिवको सिफारिस अनिवार्य रहनेछ।

बजेट एक सातासम्म स्थगित हुनुमा आन्तरिक राजनीतिक मतभेदको भूमिका रहेको हो। अध्यक्ष देविजंग गुरुङले असार ९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि छलफलका क्रममा नियमसम्बन्धी आपत्ति आइ बैठक असार १० गतेसम्म स्थगित भएको थियो। एमालेका केही सदस्यहरूले कार्यपालिकाको प्रक्रिया र सदनमा देखिएको पार्टीगत व्यवहारप्रति असहमति जनाएका थिए। अन्ततः सबै पक्षबीच सहमति जुटेपछि मंगलबार गाउँसभा सम्पन्न भएको हो।

गाउँपालिकाले कृषिलाई आधार मानेर पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा समेत प्राथमिकता दिएको जनाएको छ। मादी गाउँपालिकाका स्थायी बासिन्दालाई प्रोत्साहन गर्न उक्त कार्यक्रम कोषेढुंगा सावित हुने मादी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष दुर्गा गुरुङले विश्वास व्यक्त गरे । उक्त बजेटले ल्याएका कार्यक्रमले कृषि सहित गाउँ पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने उनले जनाए ।

प्रतिक्रिया दिनुहोस