सरकार सञ्चालनको लागि सात बुदें सहमति गरेका कांग्रेस र एमाले बिच गभर्नर नियुक्तिमा समस्या आएको छ।सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले आफ्नो भागबण्डामा परेको गभर्नर ४८ घण्टाभित्र नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित गराउँदै ओलीलाई प्रतिबद्धता अनुसार गभर्नर नियुक्त गर्न अल्टिमेटम दिएका हुन्।
सरकारमा रहेका दुई दलबीच गभर्नर कांग्रेसले इच्छाएको व्यक्तिलाई दिने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को बहाना गर्दै टार्दै आएका छन्।
सोमबार साँझ देउवाले ‘मन्त्रिपरिषद बैठक किन बस्नुपर्यो’ भन्दै रोकिदिएपछि प्रधानमन्त्री ओलीले उनलाई भेट्न बुढानिलकण्ठस्थित निवासमै आउने खबर पठाएका थिए।
तर देउवाले बुढानिलकण्ठमा समेत ओलीसँग भेट्न अस्वीकार गरेको स्रोतले बतायो। मन्त्रिपरिषद बैठक रोकिएपछि कुरा गर्न ओलीले देउवाकहाँ आउँछु भने पनि आफू अस्वस्थ भएकाले नआउन खबर दिएका हुन्।
कांग्रेसमा ओली सरकारप्रति यस अघिदेखि नै तीव्र असन्तुष्टि व्यक्त हुँदै आएको थियो। प्रतिबद्धता अनुसार गभर्नर नदिने ओलीले देउवालाई प्रधानमन्त्री दिन्छन् भन्ने कुरामा विश्वास नरहेको भन्दै कांग्रेसका नेताहरुले उनलाई सचेत रहन आग्रह गर्दै आएका थिए। सोमबारको घटनापछि कांग्रेस र एमाले सम्मेलित ओली नेतृत्वको सरकारको दिनगन्ती सुरु भएको छ।