पिएन क्याम्पसले विद्यार्थीको परिक्षामाथि खेलवाड, समस्या समाधान गर्न अखिल क्रान्तिकारीको चेतावनी

फागुन ९, कास्की । अखिल क्रान्तिकारीले कुनैपनि पूर्वाग्रहका साथ विद्यार्थीहरुलाई नहेर्न र विद्यार्थीको भविष्य डामाडोल नपार्न पृथ्वी नारायण क्याम्पस प्रशासनलाई चेतावनी दिएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै गत बैशाख २६ गतेका दिन क्याम्पसको हल नं. ४११ मा सञ्चालित स्नातक तह पहिलो वर्षको ऐच्छिक अङ्ग्रेजी (परीक्षा नं. ४२१) अन्तर्गतको परीक्षामा प्रत्यक्ष उपस्थिति जनाएरै परीक्षा दिएकी सोही क्याम्पसमै अध्ययनरत छात्रा स्मृती पोखरेलको उपस्थित भएको हाजिरी रजिष्ट्रार पूर्वाग्रहका साथ केरेर अनुपस्थित बनाएको र अनुपस्थित नतिजा प्रकाशन गरेको भन्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति कास्कीले उक्त घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

उक्त परीक्षा हलमा सम्मिलित निरिक्षकले नियोजित र षड्यन्त्रपूर्वक ढङ्गले हाजिर काटेको भएपनि क्याम्पस प्रशासनले उक्त निरिक्षक र घटनालाई उल्टो ढाकछोप गरी विद्यार्थीको भबिष्य अन्योलमा पारेको भन्दै तत्काल निष्पक्ष रुपले छानबिन गरी उक्त निरिक्षकलाई कारवाहीको प्रकृयामा अगाडी बढाउन माग राख्दै उक्त विज्ञप्तिमा भनिएको छ, “छात्राको भविष्य माथि खेलवाड नगरी छात्राको न्यायको निम्ति प्रकृया अगाडी नबढाए या यस विषयलाई गम्भीरताका साथ नहेरी उक्त निरिक्षकलाई कारवाहीको दायरामा नल्याई लुकाउने प्रयास क्याम्पस प्रशासनले गर्छ भने हाम्रो संगठन संघर्ष गर्न बाध्य हुनेछ ।”

गत बैशाख १६ गते भएको परीक्षामा प्रत्यक्ष सहभागि भएर परीक्षा दिए पनि प्रकाशित नतिजामा अनुपस्थित भएको देखिएपछि क्याम्पस प्रशासन सँग सोधपुछ गर्दा प्रशासनले विभिन्न बहानाबाजी गरेको र समस्या समाधानको पाटो देखाउन आनाकानी गरेपछि विज्ञप्ति सहित चेतावनी दिएको क्याम्पस जिल्ला समिति कास्कीका संयोजक मनिष रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस