नेपालका महानगरपालिकाका मेयरहरूको सम्मेलन पोखरामा हुने

नेपालका रहेका महानगरपालिकाका मेयरहरूको सम्मेलन साउन १३ र १४ गते पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा मेयरहरूको सम्मेलन हुन लागेको हो ।

महानगर सञ्चालनका विद्यमान कानुन र आवश्यक सुधारका बारेमा छलफल गर्न तथा अनुभव आदान प्रदान गर्नका लागि कार्यक्रम राखिएको पोखराका मेयर धनराज आचार्यले बताए । उनका अनुसार गाउँपालिका र नगरपालिकाका समस्या सुनाउनका लागि आफ्नै संरचना भए पनि महानगरको छुट्टै संरचना नभएका कारण भेलाले साझा समस्या खोजेर समाधानका लागि सम्बन्धित निकायमा सुझाव दिनेछ ।

यसअघि पनि पोखरा महानगरको आयोजनामा हुने सम्मेलन यो दोस्रो पटक हो । दोस्रो पटक हुन लागेको सम्मेलनमा पहिलो सम्मेलनमा महानगरको सञ्चालन कानुन फरक हुनुपर्ने आवाज उठेतापनि कार्यान्वयनमा नगएपछि पुन : सम्मेलन आयोजना गरीएको बताईएको छ । यसपालि महानगरको छुट्टै सञ्चालन ऐन निर्माणका लागि छलफल हुन सक्ने बताइएको छ । यसपछि निरन्तर बैठक हुने जनाईएको छ ।

अहिले काठमाडौं महानगरमा बालेन शाह, पोखरामा धनराज आचार्य, भरतपुरमा रेनु दाहाल, ललितपुरमा चिरिबाबु महर्जन, बिराटनगर महानगरपालिका नागेश कोइराला र बिरगञ्जमा राजेशमान सिंह मेयर छन् ।

१ महिनाअघि देखि मेयर आचार्यले सम्मेलनको लागि निम्तो गरेका थिए । ६ वटा महानगरमध्ये ललितपुर र भरतपुरमा पुरानै मेयर छन् भने अरू सबै महानगरमा नयाँ मेयर निर्वाचित भएका छन् । पुराना मेयरको अनुभव सुनेर नयाँ मेयरले कामको कार्य योजना बनाउन सजिलो हुने पोखरा महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस