भूमिका
राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, प्राविधिकलगायत नयाँ विशेषताका आधारमा साम्राज्यवाद भूमण्डलीकृत साम्राज्यवादमा विकास भएको छ । मुलुकको हरेक क्षेत्रमा आज दलाल पुँजीवाद हाबी छ । विश्वमा र नेपालमा परिवर्तन भएको नयाँ परिस्थितिले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत शिक्षा क्षेत्रमा पनि हस्तक्षेप र प्रभाव परिरहेको छ । भूमण्डलीकृत साम्राज्यवादको समाधान वैज्ञानिक समाजवाद हो । दलाल पुँजीवाद एवम् दलाल संसदीय व्यवस्थाको अन्त्यपछि स्थापना गरिने समाज वैज्ञानिक समाजवाद हो । शिक्षा राजनीति र अर्थनीतिको प्रतिबिम्बन हो । कुनै पनि मुलुकको शिक्षाप्रणाली त्यो मुलुकको राजनीति र अर्थनीतिअनुरूपको हुन्छ । मानव–मानवमा हुने विभेद, उत्पीडन, शोषणको अन्त्य गरिएको, सबै नागरिकहरूलाई बस्न, खान, लगाउन, शिक्षा, स्वास्थ्य, रोजगारीको अधिकार भएको व्यवस्था वैज्ञानिक समाजवाद हो । दलाल पुँजीवादी व्यवस्थाको सेवा दलाल पुँजीवादी शिक्षाप्रणालीले गरेजस्तै समाजवादी शिक्षाप्रणालीले वैज्ञानिक समाजवादको सेवा गर्दछ । विगतमा जनवादी शिक्षाको अवधारणा, उद्देश्य, आधार, अन्तरवस्तु र विशेषताहरूसहितको सर्वोत्तम रूप र सार वैज्ञानिक समाजवादी शिक्षामा अभिव्यक्त र विकास हुनेछ । अबको हाम्रो आन्दोलन र बहस वैज्ञानिक समाजवादी शिक्षाका लागि सञ्चालन गरिनेछ । वैज्ञानिक समाजवादी शिक्षालाई रुस, क्युबा, जनगणतन्त्र कोरियालगायत मुलुकको अन्तर्राष्ट्रिय अनुभव र हाम्रो मुलुकको मौलिक विशेषतामा प्रयोग र विकास गरिनु पर्दछ ।
विषय प्रवेश
शिक्षा मानव जातिले हजारौँ वर्षको व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषण गरेको ज्ञान हो । अर्को अर्थमा शिक्षा भनेको सामाजिक रूपान्तरणका लागि समाजमा बाँच्नका लागि गरिने सङ्घर्षबाट प्राप्त अनुभव हो । शिक्षा चेतना हो जसले व्यक्ति, समाज र राज्यलाई बदल्न सहयोग पु¥याउँछ । क. माओको शब्दमा उत्पादनका लागि सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगबाट ज्ञान अर्थात् शिक्षा प्राप्त हुन्छ । शिक्षा पुरानो पुस्ताबाट ज्ञान, सीप, दक्षता र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने योजना र ज्ञानको प्रशिक्षण पनि हो । शिक्षाले मानिसलाई सर्वश्रेष्ठ प्राणी बनायो । शिक्षा जन्मदेखि मृत्युपर्यन्त आवश्यक पर्ने र त्यस अवधिमा प्रभाव पार्ने सम्पूर्ण ज्ञान हो । नागरिकलाई सही शिक्षा, चेतना र ज्ञान दिने, जनताको जीवनलाई सुख र उन्नतिर डोर्याउने र जनतालाई शोषणरहित मुक्त, समान नयाँ वैज्ञानिक भविष्यतर्फ अग्रसर भएपछि मात्र समाजवादी शिक्षा लागू गराउन सकिन्छ । समाजवादी शिक्षाले पँुजीवादी शिक्षामा भएको निजीकरण, व्यापारीकरण, अवैज्ञानिक, दृष्टिकोणविहीन, अव्यावहारिक, असमानलगायत तमाम खराबी र समस्याहरूको समाधान दिन्छ । हाम्रो सङ्गठनको काठमाडौँमा सम्पन्न विशेष राष्ट्रिय भेलाले वैज्ञानिक समाजवादी शिक्षाको प्रारम्भिक अवधारणा बहसका लागि प्रस्ताव गरेको छ ।
परिभाषा
वर्गविभाजित समाजमा शिक्षा पनि वर्गीय नै हुन्छ । समाजवादी शिक्षा श्रमजीवी वर्गीय शिक्षा हो । सन् १८४८ मा प्रथमपटक प्रकाशित कम्युनिस्ट घोषणापत्रमा उल्लेख भएको ‘सार्वजनिक विद्यालयमा बालबालिकाहरूलाई निःशुल्क शिक्षा दिने । बालबालिकालाई अहिलेजस्तो कारखानामा काम गराउन प्रतिबन्ध लगाउने । शिक्षालाई औद्योगिक उत्पादनसँग जोड्ने’ हरफ समाजवादी शिक्षाप्रणालीको मार्गदर्शक बनेको छ । समुदायमुखी श्रमप्रेमी उत्पादनशील मानवको निर्माण समाजवादी शिक्षाले गर्दछ । समाजवादी शिक्षा विज्ञानमा आस्था राख्ने, श्रममा विश्वास गर्ने शिक्षा हो । समाजवादी शिक्षाप्रणाली त्यस्तो जनप्रिय शिक्षा प्रणाली हो जुन सबै जनताले सिक्न, पढ्न पाउने हकको सुनिश्चितताको जिम्मा राज्यले लिन्छ । समाजवादी शिक्षाले मानिसलाई स्वतन्त्र र सिर्जनात्मक बनाउँछ । मानिसलाई क्रान्तिकारी, मेहनती र कम्युनिस्ट बनाउने शिक्षा समाजवादी शिक्षा हो । सीप, श्रम र उत्पादनसँग जोडिएको जीवनोपयोगी, वैज्ञानिक, निःशुल्क र समान शिक्षा वैज्ञानिक समाजवादी शिक्षा हो जसले नागरिकलाई वस्तुवादी र वैज्ञानिक शिक्षा, चेतना र ज्ञान दिन्छ, जनतालाई आत्मसम्मानपूर्वक बाँच्ने आधार प्रदान गर्दछ । जनतालाई सबै शोषणहरूबाट मुक्त गराई नयाँ भविष्यतिर अग्रसर गराउन मद्दत गर्दछ ।
उद्देश्य
– वैज्ञानिक समाजवादको निर्माण र सेवा गर्नु
– स्वतन्त्र र सिर्जनात्मक क्रान्तिकारी कम्युनिस्ट उत्पादन गरेर नयाँ र पूर्ण मानव निर्माण गर्नु
– शोषणरहित, मुक्त, समान, समृद्ध मानव समाजको निर्माण र सभ्य संस्कृतिको निर्माणमा जोड दिनु
–शिक्षामा हुने गरेको असमानता, विभेद, अन्याय, अवैज्ञानिकतालगायत तमाम समस्याहरूको हल गर्नु
– स्वतन्त्र, सिर्जनशील, मेहनती र क्रान्तिकारी नयाँ मान्छेको निर्माण गर्नु
– विद्यार्थीमा उत्पादक श्रमिक व्यापक विकास गर्नु
– मानवीय हितलाई केन्द्रमा राखेर सुख र उन्नतितिर डोर्याउनु
समाजवादी शिक्षाको वैचारिक जग
समाजवादी शिक्षाको वैज्ञानिक जग मालेमावाद हो । यसले ऐतिहासिक द्वन्द्वानात्मक भौतिकवादी दर्शनलाई आत्मसात गर्दछ । माक्र्सवाद दुनियाँलाई बदल्ने दृष्टिकोण हो । यो एउटा वैज्ञानिक दृष्टिकोण हो । माक्र्सवादले वस्तुलाई प्राथमिक ठान्दछ र चेतनालाई द्वितीय ठान्दछ । वैज्ञानिक समाजवादी शिक्षाले अध्यात्मवादी र आदर्शवादी दृष्टिकोणलाई निषेध गर्दछ । समाजवादी शिक्षाले श्रमिक वर्गको हितको पक्षपोषण गर्दछ । समाजवादी शिक्षा श्रमजीवीवर्गीय शिक्षा हो ।
विशेषता
क. बहुप्राविधिक शिक्षामा जोड
कार्ल माक्र्स र क्रुप्सकायाले बहुप्राविधिक शिक्षाका पक्षमा धेरै वकालत गर्नुभएको छ । समाजवादी शिक्षाप्रणालीमा बहुप्राविधिक शिक्षा लागू गरिन्छ । बहुप्राविधिक शिक्षा एकातिर शिक्षाको पहिलो चरणसँग र अर्कोतिर व्यावसायिक शिक्षासँग अभिन्न रूपले जोडिएको हुन्छ । बहुप्राविधिक शिक्षा सामान्य श्रम–दक्षता सिकाउनुमा मात्र सीमित हुँदैन । यहाँ श्रमप्रक्रिया, उत्पादन सम्बन्ध र सामाजिक महत्व पनि बुझाउँछ । कुनै मेसिन चिन्ने र चलाउने मात्र होइन, मेसिन बनाउने दक्षता पनि सिकाउँछ । लेनिनको विचारमा बहुप्राविधिक शिक्षा कुनै विशेष विषयहरूको शिक्षा होइन । यो एक दृष्टिकोण हो । यो सबै विषयहरूमा व्यक्त हुनु पर्दछ । प्रकृति विज्ञान, समाज विज्ञान, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र आदिको आधारभूत ज्ञान सिकाएर विद्यार्थीको चौतर्फी विकास गर्न सहयोग गर्दछ । जसले कामदार सेवक र पराधीनताको मनोविज्ञानबाट माथि उठाएर सिर्जनशील, स्वतन्त्र र स्वाधीन नागरिक बन्न प्रेरित गर्दछ । सामूहिक श्रम गर्न र श्रमप्रति सम्मान गर्न सिकाउँछ । भूतप्रेत, ईश्वर, पूर्वजन्म, भाग्यजस्ता भ्रमबाट मुक्त गराएर भौतिक विज्ञान र समाज विज्ञानको ज्ञानले प्रशिक्षित गरेर वैज्ञानिक चेतनाको विकास गराउँछ ।
ख. समान शिक्षा
शिक्षा व्यक्तिगत विषय होइन, सामूहिक व्यवहार, प्रयोग र अनुसन्धानबाट संश्लेषित ज्ञान हो । तसर्थ शिक्षा व्यापारको वस्तु होइन, जनताको अधिकार हो । समाजवादमा शिक्षालाई अधिकारका रूपमा मात्र होइन, अनिवार्यताका रूपमा ग्रहण गरिन्छ । समाजवादी शिक्षाप्रणालीमा सम्पूर्ण शिक्षाको दायित्व राज्यको हुन्छ । हरेक नागरिकलाई शिक्षाको समान अवसर प्रदान गरिन्छ । पैसा हुनेहरूले निजीमा पढ्नुपर्ने, पैसा नहुनेले सरकारीमा पढ्नुपर्ने विभेदकारी प्रणाली खारेज गरिन्छ । शिक्षामा हुने निजीकरण, व्यापारीकरण खारेज गरिन्छ । समाजवादी शिक्षाले सबै संस्कृति र भाषाको समान सम्मान गर्दछ र सिक्ने अवसर प्रदान गर्दछ। समाजवादी शिक्षाको मूल सार समानता हो ।
ग. प्रत्यक्ष श्रम र उत्पादनसँग जोडिएको शिक्षा
माक्र्सले श्रमसँग नजोडिएको शिक्षालाई बेकम्मा भन्नुभयो । शिक्षालाई श्रमसँग जोड्ने विषयमा लेनिन भन्नुहुन्छ, ‘पुँजीवादी शिक्षाको आधारभूत कमजोरी भनेकै शिक्षाबाट अलग गराउनु हो ।’ माओका विचारमा स्कुल कम्पनी र किसानका फार्महरूसँगै सञ्चालन गर्नुपर्दछ । समाजवादी शिक्षाप्रणालीमा शिक्षाको प्रमाणपत्र मात्र दिइँदैन, शिक्षालाई प्रत्यक्ष श्रम र उत्पादनसँग एकाकार गरिन्छ जसले देशको अर्थतन्त्रमा र विकास निर्माणमा प्रत्यक्ष योगदान पुर्याउँछ । किम इल सुङको विचारमा शिक्षालाई व्यवहारसँग जोडेपछि मात्र यसले आफ्नो उद्देश्य पूरा गर्दछ । समाजवादी शिक्षामा विद्यार्थीलाई किताबी ज्ञान र कक्षाकोठामा मात्र सीमित गरिँदैन, बरु विद्यार्थीलाई उत्पादनमूलक श्रमसँग जोडेर शिक्षा दिइन्छ । विद्यार्थीलाई स्याउ फलाउने विधि किताबमा घोकाएर होइन, स्याउ फलाउन लगाएर सिकाइन्छ । शिक्षालय र उद्योगलाई एकाकार गरिन्छ । शिक्षाको एक तह हासिल गरिसकेपछि कोही नागरिक बेरोजगार बस्नु पर्दैन । हरेक नागरिक उद्यमशील र सिर्जनशील बन्छन् ।
घ. मुलुक र सामाजिक आवश्यकतामा आधारित शिक्षा
बजारमा कस्ता कामदार आवश्यक छ, पुँजीपतिहरूलाई कस्ता कामदार चाहिएको छ, कस्तो शिक्षा बेच्दा बजारमा नाफा हुन्छ भन्ने आधारमा पुँजीवादी शिक्षाप्रणालीमा जस्तो समाजवादी शिक्षा निर्धारित हुँदैन । अन्तर्राष्ट्रिय स्तरको बनाउने नाममा विदेशी शिक्षाको हुबहु नक्कल पनि गरिँदैन । समाजवादी शिक्षा समाजसापेक्ष हुन्छ । जहाँ समाजसापेक्षको अर्थ समाजको संस्कृति, भाषा, स्रोतसाधनको उपलब्धता, सामाजिक मनोविज्ञान र जनताको आवश्यकता हुन्छ । जुन शिक्षाले राष्ट्रिय शिक्षानीतिका नाममा हरेक समाजमा निरपेक्ष नीति बनाउँदैन, बरु राष्ट्रिय समृद्धिमा सहयोग गर्ने गरी, स्थानीय सम्भावनालाई उपयोग गर्ने गरी सामाजिक मौलिकतामा आधारभूत शिक्षा लागू गरिन्छ । जस्तै ः स्याउ फलाउने शिक्षा तराईमा दिनुको अर्थ हँुदैन । नेवाः भाषाको शिक्षा किराँती समुदायमा दिनु उपयुक्त हुँदैन ।
ङ. अनिवार्य शारीरिक शिक्षा
शारीरिक शिक्षा समाजवादी शिक्षाप्रणालीको अभिन्न अङ्ग हो । प्लेटोको विचारमा स्वस्थ शरीरमा स्वस्थ मस्तिष्क हुन्छ । शारीरिक शिक्षाको उद्देश्य बालबच्चा तथा विद्यार्थीको शारीरिक विकाससँग छ । माक्र्सले पनि शारीरिक शिक्षालाई जोड दिनुभएको छ । शारीरिक शिक्षा विद्यार्थीको शारीरिक स्फुर्ति र शारीरिक विकाससँग मात्र महत्वपूर्ण छैन बरु उनीहरूको दिमाग र इच्छाशक्ति सबल बनाउन उपयोगी छ । शारीरिक शिक्षामार्फत विद्यार्थीले साहस, निर्भीकता, निडरता र जाँगर बढाउँछ । शारीरिक रूपमा स्वस्थ व्यक्तिले श्रममा भाग लिन सक्छ, देशका लागि लड्न सक्छ र समाजवादको रक्षा गर्न सक्छ । माओका विचारमा शारीरिक शिक्षाले विद्यार्थीलाई पूर्ण बनाउँछ । वैज्ञानिक समाजवादी शिक्षाप्रणालीमा शारीरिक शिक्षालाई अनिवार्य गरिन्छ । सक्षम, निरोगी, आत्मविश्वास भएको साहसी, निडर नागरिक उत्पादन गर्नु समाजवादी शिक्षाको उद्देश्य हो ।
च. वैज्ञानिक चेतनाको विकास र समाजवादी संस्कृतिको निर्माण गर्ने शिक्षा
वैज्ञानिक चेतना प्रकृति, मानव समाज र राजनीतिक घटनाहरूलाई तथ्यहरूबाट प्रमाणित गर्ने वैज्ञानिक ज्ञान हो । वैज्ञानिक समाजवादी शिक्षाको आधारभूत विशेषतामध्ये वैज्ञानिक चेतना दिनु पनि हो । १८ घन्टासम्म परिश्रम गर्ने श्रमिक गरिब हुनुको कारण पूर्वजन्मको फल वा खराब भाग्य होइन, पुँजीपतिहरूले गरेको शोषणको उपज हो । मानव समाजमा लादिएको विभेद, उत्पीडन र असमानताको उपज हो । यसका विरुद्ध सङ्घर्ष गर्नु हरेक उत्पीडित र श्रमजीवीको अधिकार हो भन्ने वैज्ञानिक चेतना समाजवादी शिक्षाले दिन्छ । समाजवादी शिक्षाले काल्पनिक, ईश्वरीय, अध्यात्मवादी, भाग्यवादी र अवैज्ञानिक चेतनाबाट मुक्त गराएर घटना र तथ्यहरूका आधारमा विज्ञानद्वारा प्रमाणित शिक्षा प्रदान गर्दछ । पुँजीवादी शिक्षाले व्यक्तिलाई अंशबाट सोच्ने, समाधान फुटकरमा खोज्ने निम्नपुँजीवादी चिन्तनसहितको चरम व्यक्तिवादी नागरिक उत्पादन गर्दछ । समाजवादी शिक्षाले सामूहिक भावनाहरूलाई प्रोत्साहित गर्दछ । समग्र मानवको भलाइका साथै सामूहिकतामा क्षमताको विकास र समस्याहरूको समाधान खोज्न सिकाउँछ । पुरातनवादी अवैज्ञानिक पुँजीवादी संस्कृतिको विकल्पमा प्रगतिशील समाजवादी संस्कृति निर्माणमा समाजवादी शिक्षाले मद्दत गर्दछ ।
छ. श्रमजीवी जनताको पक्षपाती हुन्छ
वर्गविभाजित समाजमा शिक्षा पनि वर्गीय नै हुन्छ । पुँजीवादी शिक्षाप्रणालीले मुठीभर पुँजीपति वर्गको सेवा गरिरहेको छ र श्रमिक जनतालाई चेतनाविहीन, इमानदार नोकर बनाउन प्रयोग गरिरहेको छ । समाजवादी शिक्षाले बहुसङ्ख्यक श्रमजीवी जनताको हितको पक्षपोषण गर्दछ । श्रमजीवी जनतामा आलोचनात्मक चेतको विकास गराउँछ । जीवन र जगत्को वैज्ञानिक ज्ञान प्रदान गर्दछ । गरिबीको वास्तविक कारण बुझाउँछ । श्रमजीवी जनतालाई आफ्नो अधिकारका बारेमा सचेत गराएर सङ्घर्ष गर्ने विचारको हतियार प्रदान गर्दछ । नागरिकको व्यक्तित्व र भ्रातृत्व विकास गराउँछ । नागरिकलाई स्वतन्त्र, सिर्जनशील, स्वाधीन बन्न प्रेरित गर्दछ । नागरिकलाई कसैको नोकर होइन, आफ्नो श्रमका बारेमा स्वयम् आफैँ निर्णय गर्नसक्ने स्वतन्त्र श्रमजीवी बन्न सिकाउँछ ।
संरचना
क) पूर्वविद्यालय (अनिवार्य र निःशुल्क)
विद्यालय शिक्षाका लागि पूर्वाधार तयार गर्ने, बच्चाको शारीरिक, मानसिक, संवेदनशील र सामाजिक भावना, विकास गर्ने
ख) आधारभूत तह (निःशुल्क र अनिवार्य)
प्रारम्भिक ज्ञान र पढ्न–लेख्न सक्ने, बुझ्न सक्ने, सामान्य श्रममा लगाउन सक्ने, सामूहिक मूल्य–मान्यता सिकाउने, बहुप्राविधिक शिक्षाको आधार तयार गर्ने, आधा सैद्धान्तिक आधा प्रयोगात्मक ।
(ग) माध्यमिक तह (समान र अनिवार्य)
व्यवसाय र प्रविधिको सैद्धान्तिक र व्यावहारिक ज्ञान, सीप दिइने, प्रत्यक्ष श्रम र उत्पादनसँग जोड्ने, नैतिकवान् नागरिक निर्माण गर्ने
घ) उच्च शिक्षा (ऐच्छिक र निःशुल्क)
उच्च शिक्षामा २ वटा शाखा हुन्छन् :
१) प्राविधिक शिक्षा
प्रत्यक्ष राष्ट्रको विकास निर्माणमा जोड्ने, प्रत्यक्ष श्रम र उत्पादनमा सहभागी गराउने, नयाँ प्रविधिको आविष्कार र प्राविधिक विशेषज्ञता हासिल गराउने
२) साधारण शिक्षा
अनुसन्धानात्मक, प्रत्यक्ष देशको नीति निर्माणसँग जोड्ने, नयाँ विचार सिद्धान्तको खोज र विकास गर्ने ।
शिक्षण विधि
समाजवादी शिक्षाप्रणालीमा विद्यार्थीको इच्छा र आवश्यकतामा आधारित स्वतन्त्र शिक्षण विधि अवलम्बन गरिन्छ । माक्र्सको भाषामा श्रम गरेर सिक्ने विधि, माओको भाषामा जनताबाट सिक्ने विधि, किसानको फार्म र कारखानामा गएर सिक्ने विधि अपनाइन्छ । शिक्षालाई किताबी ज्ञान र एउटा कक्षाको ल्याबमा मात्र सीमित गरिँदैन, विद्यार्थीको अनुभव, प्रयोग, अन्तरक्रिया र अनुसन्धानबाट सिक्ने विधि लागू गरिन्छ । विद्यार्थीलाई निष्क्रिय श्रोता बनाउने विधि खारेज गरिन्छ र काम गरेर सिक्ने स्वतन्त्र शिक्षण विधि लागू गरिन्छ । विद्यार्थीले सिक्ने किताब, विद्यालयको अलावा परिवार, समाज कृषि फार्म, कारखाना आदि हुन्छ ।
मूल्याङ्कन विधि
समाजवादी शिक्षाप्रणालीमा रचनात्मक र निरन्तर मूल्याङ्कनप्रणाली अवलम्बन गरिन्छ । मूल्याङ्कन विद्यार्थीलाई असफल गराउन, डर उत्पन्न गरेर तर्साउन, कसैलाई कमसल कसैलाई असल भनी छुट्ट्याई विभेद गर्न नभएर विद्यार्थीको रचनात्मक क्षमता र व्यक्तित्व विकास गर्नका लागि हुनुपर्छ भन्ने मान्यता राखिन्छ । मूल्याङ्कनप्रणाली शिक्षक नियन्त्रित हुँदैन । श्रममा सहभागिता, उत्पादन कार्य र सामाजिक व्यवहारका आधारमा मूल्याङ्कन गरिन्छ जहाँ मूल्याकनकर्ता शिक्षक मात्र नभएर सहपाठी, अभिभावक, समाज र स्वयम् विद्यार्थीलाई पनि मूल्याङ्कनकर्ता मानिन्छ । मूल्याङ्कन विधिले एकअर्कामा प्रतिस्पर्धा गराएर व्यक्तिलाई आत्मकेन्द्रित व्यक्तिवादी, स्वार्थी बनाएर भ्रातृत्व कम गराउँदैन, बरु सहकार्य र सहयोगमा जोड दिई परिपूरक बन्न र सामूहिक भावनाको विकास गराउन प्रोत्साहन गर्दछ । विद्यार्थीलाई रचनात्मक, सिर्जनशील र स्वाधीन बन्न मद्दत गर्दछ । परीक्षा र मूल्याङ्कनलाई निश्चित समयमा सङ्कुचित गरिँदैन, सम्भावित आवश्यकताका आधारमा विद्यार्थीअनुकूलको लचिलो परीक्षा र मूल्याङ्कनप्रणाली लागू गरिन्छ । समाजवादी शिक्षाको मूल्याङ्कन प्रणालीले परिणाम मात्र होइन, कारण र असरलाई समेत ध्यान दिन्छ ।
पाठ्यक्रम
समाजवादी शिक्षाले अनिवार्य श्रममा सहभागी गराउने, उत्पादन बढाउने, सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्न सकिने पाठ्यक्रमको वकालत गर्दछ । केन्द्रीकृत र सङ्कुचित पाठ्यक्रमको विकल्पमा जनताको आवश्यकता र स्थानीय स्रोत–साधनको उपलब्धताका आधारमा लचिलो पाठ्यक्रम निर्माण गरिन्छ । शिक्षक, विद्यार्थी, अभिभावक, समाज र स्वयम् पाठ्यक्रमको निर्माता हुन्छ । समाजवादी शिक्षाले पाठ्यक्रम सरल, आवश्यकताकेन्द्रित, व्यावहारिक, वैज्ञानिक बनाउँछ । भाषिक, सांस्कृतिक विविधतालाई सम्मान गरिन्छ ।
व्यवस्थापन
शिक्षाको सम्पूर्ण दायित्व राज्यले बहन गर्दछ । शिक्षा केवल सैद्धान्तिक ज्ञान हासिल गर्ने अनुत्पादक विषय नभएर प्रत्यक्ष श्रम र उत्पादनसँग जोडिने हुँदा शिक्षा स्वयम्बाट नै खर्चको बहन गर्न सकिने हुन्छ । शिक्षा व्यक्तिको नभएर समाज र राज्यको हुन्छ । शिक्षा प्राप्त गर्दा विद्यार्थीले पैसा तिर्ने होइन, उल्टै कमाएर जाने प्रणाली विकास गरिन्छ । शिक्षालाई श्रम र उत्पादनसँग जोडिने हुँदा यो स्वयम्मा आत्मनिर्भर हुन्छ, बरु राष्ट्रिय समृद्धिमा समेत टेवा पुर्याउँछ ।
निष्कर्ष
मानव जातिले अहिलेसम्म प्राप्त ज्ञान र अनुभवका आधारमा आजका दिनसम्मको उत्कृष्ट शिक्षाप्रणाली वैज्ञानिक समाजवादी शिक्षाप्रणाली हो । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादन र आविष्कारसँग अनिवार्य जोड्नु समाजवादी शिक्षाको आधारभूत सर्त हो । समाजवादी शिक्षाप्रणाली पुँजीवादी शिक्षाप्रणालीमा भएका तमाम खराबीहरूको समाधान हो, जनवादी शिक्षामा गरिएको विकास हो । राज्यसत्ताको चरित्रअनुरूपको शिक्षाप्रणाली हुने हुँदा दलाल पुँजीवादी सत्तामा समाजवादी शिक्षाप्रणाली लागू गर्न सकिँदैन । यद्यपि दलाल व्यवस्थामा गरिने शैक्षिक सङ्घर्षले आंशिक सुधार मात्र गर्न सक्छ । वैज्ञानिक समाजवादी शिक्षा लागू गर्नका लागि वैज्ञानिक समाजवादी क्रान्तिमा अग्रदस्ताको भूमिका निर्वाह गर्नु युवा विद्यार्थीको आजको मुख्य कार्यभार हो ।