वैद्य कै लाईनमा आहुती, निर्वाचन बहिष्कार गर्ने !

वैद्य र विप्लवसँग एकीकरणको प्रयास

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम भेलाले माक्र्सवादी चिन्तक तथा दार्शनिक नेता आहुतिलाइ महासचिवमा चयन गरेको छ । काठमाडौंमाको प्रज्ञा भवनमा प्रारम्भ सत्र गरेको भेला दुई दिन बन्दसत्र गरेर शनिबार सम्पन्न भएको हो । प्रथम राष्ट्रिय भेलाले नेता आहुतिको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको केन्द्रीय सदस्य बिजय दर्नालले जानकारी दिएकाछन । एक केन्द्रिय समितिको कार्यकाल ४ वर्षको रहनेछ ।
भेलाले नन्दन अर्यालको संयोजकत्वमा कार्यकारी अधिकारसहितको ‘प्रबुद्ध समिति’ समेत चयन गरेको छ ।

उक्त पार्टीको भेलाले चुनाव बहिष्कार गर्ने, एमसीसीविरुद्ध संयुक्त मोर्चा निर्माणमा पहल गर्ने लगायतका ८ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको छ । साथै वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने ठोस कार्यदिशासहितको राजनीतिक प्रस्ताव, सांस्कृतिक रुपान्तरणको ठोस कार्ययोजना र विधानसमेत पास गरेको छ ।

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेला बिहीबार सुरु भएको थियो । भेलामा देशभरिबाट पार्टीका ४५० भन्दा बढी प्रतिनिधि पर्यवेक्षक सहभागी थिए ।

वैद्य र विप्लवसँग एकीकरणको प्रयास 

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती वैद्य, विप्लव लगायतका सीमित नेतालाई कम्युनिष्ट नेता मान्छन् । उनी नजिकका मित्रशक्ति पनि उनीहरुलाई नै ठान्छन् । तथापि उनीहरुसँग एकता हुन सकेको छैन ।
एकताका लागि पहल गरेपनि नेताहरुको रुचि नदेखिएको आहुतीको भनाइ छ । ‘हामीले क्रान्तिकारी धाराका पार्टीहरुलाई चिठ्ठी नै लेखेर छलफल गरौं भनेर अपिल गरेका थियौं । छलफल पनि भयो’, आहुती भन्छन्, ‘तर कार्यदिशाको मामिलामा छलफलका लागि त्यति रुचि राख्नु भएन । उहाँहरु जे तय गरिएको छ, त्यही ठीक हो भन्नेमा हुनुहुन्छ ।’
आफूहरुले जस्तै विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवादीको कुरा गरेको भएपनि त्यो सोभियतकालीन भएको उनको भनाइ छ । ‘नेकपाले सोचेको वैज्ञानिक समाजवादको विशेषता पनि पुरानो र सोभियतकालीन हो,’ विप्लवबारे आहुती भन्छन्, ‘क्रान्तिको कार्यदिशाबारे पनि उहाँहरुको मूर्त केही छैन । एकीकृत जनक्रान्ति भन्नुभएको छ, तर आजदेखि भोलिसम्म के गर्ने भन्ने श्रृंखला नै छैन ।’ वैद्य र ऋषि कट्टेलहरु ‘नयाँ जनवादी क्रान्ति’ गर्ने लाइनमा भएकाले समाज विश्लेषणमै आफूहरुसँग नमिल्ने आहुतीले बताए ।

प्रतिक्रिया दिनुहोस