चुनावमा जाने `बिप्लव´ प्रस्ताव बिरुद्द बैठक स्थलमै नाराबाजी !

चुनावमा जानुपर्ने धारणा राख्दै आएका नेत्रविक्रम चन्द विप्लवविरुद्ध केन्द्रीय कमिटी बैठकमै नाराबाजी भएको छ ।

गएको शुक्रबारदेखि कपिलवस्तुमा जारी चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठकमा महासचिव विप्लवले चुनवामा जानुपर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्ताव अधिकांश केन्द्रीय सदस्यले अस्वीकार गरेका छन् । केन्द्रीय सल्लाहकार समितिले पनि विप्लवको प्रस्ताव अस्वीकार गरेको छ ।

६८ जना केन्द्रीय सदस्यमध्ये विप्लव र खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ मात्र चुनावमा पक्षमा देखिएका छन् । केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष असारे काकाका अनुसार सम्पूर्ण सल्लाहकार समिति र केन्द्रीय कमिटीका अधिकांश सदस्यले चुनावमा जान नहुने मत प्रकट गरेका छन् ।

अखिल क्रान्तिकारीकारी पूर्व अध्यक्षद्वय शरद रसाइली, पूर्णबहादुर सिंहले केन्द्रीय कमिटी बैठकमा विप्लवको चुनावी प्रस्तावको चर्को विरोध भएको बताए । सल्लाहकार समितिले विप्लवविरुद्ध बैठकस्थलमै नाराबाजी समेत गरेको छ । ‘चुनावका नाममा पार्टीलाई बल्खु दरबारमा बुझाउने मुर्दावाद !’ भन्दै विप्लवविरुद्ध सल्लाहकार समितिले नाराबाजी गरेको छ । नाराबाजी भएपछि केन्द्रीय कमिटीको बैठक केही बेर रोकिएको थियो ।

विप्लवले चुनावमा एमालेसँग तालमेल गरेर जान सकिने धारणा राखेका छन् । एमालेसँग तालमेल गर्ने धारणा आएपछि बैठकमै नाराबाजी भएको हो । २०६९ सालमा तत्कालीन एकीकृत माओवादी र ०७१ मा मोहन वैद्य ‘किरण’ बाट पनि विभाजित भएका थिए विप्लव । त्यसपछि सशस्त्र क्रान्ति गर्ने भन्दै भूमिगत भएका विप्लव र उनको पार्टीमाथि प्रतिबन्ध पनि लागेको थियो । @शिलापत्र

प्रतिक्रिया दिनुहोस