राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन् ।
मंगलबार हेटौंडा पुगेका थापाले पत्रकार सम्मेलन गरी आफूले राप्रपा परित्याग गरेको घोषणा गरेका हुन् ।
थापाले मंगलबार नै एक विज्ञप्ति जारी गरी पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।
उनले अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु। पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टी भित्रै बिताउने र पार्टी मै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्,‘राप्रपामा रहँदा पार्टीका साथी सहयोगी र शुभचिन्तकबाट प्राप्त सहयोग, सद्भाव र स्नेह प्रति म सदैव आभारी रहने छ। पार्टीमा रहँदा बिताएका क्षणहरूप्रति म सदैव गौरव गरिरहने छु। राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन सबैको भलो होस् भन्ने कामना गर्दछु।’