लेखनाथ, असार ११। लेखनाथ खानेपानी उपभोक्ता समितिले साउन एक गतेदेखि पानीको महशुल घटाउने र सेवा सुलभ बनाउने निर्णय गरेको छ । समितिको हालै सम्पन्न छैटौ अधिवेशन पश्चात् आयोजित पदस्थापन कार्यक्रममा अध्यक्ष मुरारी शर्माले यस्तो घोषणा गरेका हुन् ।
अधिवेशनमा अध्यक्ष पदका लागि निर्वाचन सम्पन्न भएकोमा शर्मा विजयी भएका थिए । निर्वाचन अगावै सर्वसम्मतिको प्रयास भएको तर सफल नभएपछि निर्वाचन प्रक्रियामा जानुपरेको शर्माले बताए । उनले हारेका प्रतिस्पर्धीलाई सम्मानजनक ढङ्गले स्वीकार गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे ।
अहिलेसम्म सहलगानी (पहाडी भुभाग) क्षेत्रका उपभोक्ताले धारा जडानमा ३७ हजार ८ सय २५ रुपैयाँ र समथर भुभागका उपभोक्ताले २३ हजार ८ सय २५ रुपैयाँ शुल्क तिर्दै आएकामा अब देखि एउटै दरमा अर्थात २३ हजार ८ सय २५ रुपैयाँमै धारा जोड्न पाउने भएको हो ।
पानी उपभोगको दरमा पनि उल्लेख्य कटौती गरिएको छ । न्युनतम पाँच युनिटको अव देखि रु सय मात्र तिरे हुन्छ भने पाँच देखि बीस युनिटसम्म प्रति युनिट २२ रुपैयाँ, बीसदेखि तीस युनिटसम्म अघिल्लो ३२ रुपैयाँको सट्टा २७ रुपैयाँ र त्योभन्दा माथिका युनिटहरूमा दस–दस युनिटको फरकमा पाँच रुपैयाँ मात्र थपिने व्यवस्था गरिएको उनले बताए । पहिले ४५ रुपैयाँ प्रति युनिट तिर्नुपर्ने सब भन्दा उच्च दर अब ३६ रुपैयाँमा झारिएको छ ।
गरिबीको रेखामुनि रहेका उपभोक्ताले हालसम्म दुई वा तीन युनिट पानी खपत गर्दा समान रूपमा एक सय ५० रुपैयाँ तिर्नुपर्ने बाध्यता थियो । अब भने उनीहरूलाई पाँच युनिटसम्म पानी मात्र सय रुपैयाँमा उपलब्ध गराइने अध्यक्ष शर्माले बताए ।
पदस्थापना समारोहमा अध्यक्ष शर्माले रतज वर्षको अवसर भएकाले कर्मचारीहरूको माग सम्बोधन गर्दै सबै स्थायी कर्मचारीलाई एक–एक ग्रेड बढुवा दिने निर्णय समेत गरेको छन् । अस्थायी कर्मचारीहरूलाई भने प्राविधिक कारणले ग्रेड प्रणाली लागू नहुने भएकाले प्रत्येकलाई एक–एक हजार रुपैयाँ मासिक थप गरिएको छ ।
अध्यक्ष शर्माले सबै क्षेत्रीय संयोजकहरूलाई आ–आफ्नो क्षेत्रका प्लम्बर र मिटर रिडरसँग तत्काल बैठक गरी समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरे । उपभोक्ताले पानी नआएको गुनासो गरेमा संयोजकमार्फत सहजै समाधान हुने व्यवस्था मिलाउन उनले निर्देशन दिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले नेपालीको संस्कार अनुसार पानी खुवाउने कार्यलाई पुण्य कमाउने अवसरको रुपमा पनि लिईने भएकाले खानेपानी जस्तो संस्थामा रहेर काम गर्न धेरैको चासो र ईच्छा हुने गरेको वताए।
संस्थाले वितरण गर्ने पानी कुनै दलको वा कुनै भेगको नहुने वताउँदै यस किसिमका संस्थामा राजनितिक रंग देखीन नहुनेमा उनको सुझाव थियो।
कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता समितिको हालै सम्पन्न छैटौँ अधिवेशनको निर्वाचन प्रक्रियामाथि उठेका प्रश्नहरूको जवाफ दिँदै निर्वाचन समितिका संयोजक नबराज सापकोटाले निर्वाचन पूर्णतः विधिसम्मत र तटस्थ रहेको दाबी गरेका छन् ।
सापकोटाले भने, “मतपेटिकामा जसले जति मत प्राप्त गर्यो, उही विजयी भएको हो। हामीले कसैको पक्ष वा विपक्षमा कुनै भूमिका निर्वाह गरेनौँ।“ निर्वाचन प्रक्रियामाथि प्रश्नचिन्ह उठाइएकाले आफूले यो स्पष्टीकरण दिनु आवश्यक भएको उनले बताए । निर्वाचनका सम्पूर्ण कागजात र प्रक्रियाहरू कुनै पनि कानुनी जानकारलाई देखाएर जाँच्न समेत उनले खुला चुनौती दिए ।
निर्वाचनका क्रममा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका तीन जनाले पछि आफ्नो उम्मेदवारी फिर्ता लिई सदस्य पदमा सार्न खोजेको प्रयासलाई निर्वाचन समितिले अस्वीकार गरेको सापकोटाले जानकारी दिए । “निर्वाचन पद्धति र मूल्य–मान्यताले यस्तो अनुमति दिँदैन । त्यसैकारण हामीले यसपटक निर्वाचन प्रक्रियामा कडाइ अपनायौँ ।
कार्यक्रममा सस्थाका नवनिर्वाचित सचिव सुर्यनाथ भण्डारी र सस्थाका उपाध्यक्ष भरतराज न्यौपानेले आम उपभोक्ताको हितमा काम गर्ने योजना ल्याएने र तिनै तहको सरकारसँग समोन्वयकारीको भुमिका निभाउदै मादी नदीबाट प्रति मिनेट एक सय ९५ लिटर पानी ल्याउने योजनाको डिपिआर भईसकेको र यसलाई छिटो भन्दा छिटो कार्यन्वयनमा ल्याउन आफुहरु लागी पर्ने बताए । उक्त कार्यक्रमको संचालन सस्थाका साहक ब्यवस्थापक बिश्व भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य कार्यलय प्रमुख शिव प्रसाद अमात्यले गरेका थिए ।