यातायात व्यवसायी महासंघको अध्यक्षमा सरोज सिटौला लगायतको उम्मेदवारी

कास्की। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि पुण्यप्रसाद (सरोज) सिटौलाले उम्मेदवारी दर्ता गराएका छन् । पोखरामा जारी महाधिवेशनमा सिटौलाले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर रहेका छन् भने समर्थकमा महासंघका प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहेका छन् । सिटौला वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत हुन् । वैशाख २९ गतेसम्म पोखरामा सञ्चालन हुने महासंघको महाधिवेशनका लागि सिटौलाले ‘शक्तिशाली महासंघ र सुरक्षित लगानी’ भन्ने मूल नारासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले १३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गर्दै महासंघलाई राजनीतिक वादविवादभन्दा माथि उठाएर सम्पूर्ण व्यवसायीको साझा र बलियो छाता संगठन बनाउने प्रतिबद्धता जनाएका छन् ।

यातायात क्षेत्रको सुधार, व्यवसायीको हकहित संरक्षण र लगानी सुरक्षालाई मुख्य एजेण्डा बनाएका सिटौलाको उम्मेदवारीलाई व्यवसायीहरूबीच अर्थपूर्ण रूपमा हेरिएको छ ।

हरिशरण केसी र केदार क्षेत्री पनि अध्यक्षको उमेदवारी दर्ताको प्रक्रियामा छन।

यसैबीच,वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार ऐनकुमार साई,वरिष्ठ उपाध्यक्षमा केदार पौडेल महासंघको महासचिवमा ज्ञानेन्द्र श्रेष्ठ तृतीय उपमहासचिव पदमा उम्मेदवारी दिएका भानुभक्त बराल र सचिवमा चेत प्रसाद गौतम चुनावी मैदानमा उत्रिएका हुन् । यस अघि शाई बरिष्ठ उपाध्यक्ष, बराल सचिव पदमा एक कार्यकाल रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस