स्याङ्जा।हरिनास गाउँपालिका वडा नं. ४ मा आयोजित आठौँ अध्यक्ष कप २०८३ वडा स्तरीय पुरुष, महिला, भेट्रान्स भलिबल तथा ब्याडमिन्टन खेलकुद प्रतियोगिता सुरु भएको छ।खेलकुद प्रतियोगिता वडा नं. ४ स्थित भलिबल खेल मैदानमा सञ्चालन गरिएको हो।
पुरुष भलिबलतर्फ प्रथम पुरस्कार रु. ७० हजार, द्वितीय रु. ५० हजार, तृतीय रु. ३५ हजार र सान्त्वना रु. २० हजार प्रदान गरिने आयोजकले जनाएको छ। महिला भलिबलतर्फ प्रथम रु. ४० हजार, द्वितीय रु. ३० हजार, तृतीय रु. २० हजार र सान्त्वना रु. १० हजार पुरस्कार रहेको छ।
त्यस्तै भेट्रान्सतर्फ प्रथम रु. ४० हजार, द्वितीय रु. ३० हजार, तृतीय रु. २० हजार र सान्त्वना रु. १० हजार पुरस्कार राखिएको छ। ब्याडमिन्टनतर्फ प्रथम रु. १० हजार, द्वितीय रु. ७ हजार ५००, तृतीय रु. ५ हजार र सान्त्वना रु. २ हजार ५०० पुरस्कार प्रदान गरिनेछ।
प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धर रहनुभएको थियो।विशेष अतिथिमा इन्दुकुमारी थापा रहनुभएको कार्यक्रममा स्वागत मन्तव्य गाउँपालिका प्रवक्ता ओमप्रकाश सिग्देलले राख्नुभएको थियो। कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख विदुर सिग्देलले गर्नुभएको थियो।
कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मानन्धरले हरिनास गाउँपालिका भलिबल खेलको ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले यसको विकासका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहने बताउनुभयो। पालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको उहाँको भनाइ थियो।
प्रतियोगितामा सातवटै वडाको सहभागिता रहनेछ भने खेल यही २६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिता अवलोकन गर्न दर्शकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता हरिनास गाउँपालिका वडा नं. ४ का अध्यक्ष तथा खेलकुद समितिका संयोजक सन्तबहादुर थापाले गर्नुभएको थियो।