कास्की।मादी गाउँपालिका वडा नं. ३ याङजाकोटमा २५७० औं बुद्ध जयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा मेला आजबाट सुरु भएको छ। श्री याङजाकोट मिलन युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त मेलाको उद्घाटन गण्डकी प्रदेश सरकारका अर्थमन्त्री माननीय जितबहादुर सेरचनले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सेरचनले यस्ता मेलाले समाजमा हराउँदै गएका कला, संस्कृति र रीतिरिवाजको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। साथै गण्डकी प्रदेश सरकारले यस्ता कार्यक्रमलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष देबिजंग गुरुङले क्लबले हरेक वर्ष मेला आयोजना गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै पालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो। उहाँले विगत वर्षझैँ यस वर्ष पनि पालिका मुख्य प्रायोजकको रूपमा सहयोग गर्ने जानकारी दिनुभयो।
त्यसैगरी वडा नं. ४ का अध्यक्ष शिव सापकोटाले मेलालाई केवल मेला मात्र नभई महोत्सवको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।
मेलामा विभिन्न सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालन हुनेछन्। जसअन्तर्गत पुरुष भलिबल, भेट्रान्स भलिबल, ठेलो प्रतियोगिता, महिला रस्साकस्सी, महिला कुर्सी खेल लगायतका प्रतियोगिताहरू समावेश छन्। साथै चर्चित डान्सर आशा विश्वकर्माको प्रस्तुति रहनेछ भने स्थानीय तथा राष्ट्रिय कलाकारहरूको पनि विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष योगेन्द्र गुरुङले गर्नुभएको थियो भने सञ्चालन क्लबका सचिव अमृत गुरुङले गर्नुभएको थियो। कार्यक्रममा मादी गाउँपालिकाका १२ वटै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
विदेशमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गरेका छन्। यूकेका अध्यक्ष वर्तमान गुरुङ तथा हङकङ परिवारका सचिव ईश्वर गुरुङले मेलाको सफलताको कामना गर्नुभएको थियो।
आज सम्पन्न भेट्रान्स भलिबल प्रतियोगितामा वडा नं. ३ लाई पराजित गर्दै वडा नं. ५ विजयी भएको छ। मेला तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
