मादी गाउँपालिका वडा नं.३ देउरालीमा अवस्थित देउराली लम्तरी मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। देउराली लम्तरी मन्दिर निर्माण समितिका अध्यक्ष योगेन्द्र गुरुङका अनुसार लामो समयदेखि जिर्ण अवस्थामा रहेको मन्दिरलाई पुनःनिर्माण गरी व्यवस्थित बनाउने कार्य अहिले अन्तिम चरणमा पुगेको हो।
मन्दिर पुनःनिर्माणमा देउराली आमा समूहको सक्रिय भूमिका रहेको छ। आमा समूहकी अध्यक्ष सोममाया गुरुङले मन्दिर संरक्षण र निर्माण कार्यलाई सफल बनाउन स्थानीय महिलाहरूले उल्लेखनीय योगदान दिएको जानकारी दिइन।
निर्माण कार्यका लागि करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा मादी गाउँपालिकाबाट ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। बाँकी रकम विभिन्न संघ–संस्था, धर्मप्रति आस्था राख्ने व्यक्तिहरू तथा यङजाकोट गाउँमा बसोबास गर्ने देश–विदेशमा रहेका नेपालीहरूको सहयोगबाट जुटाइएको हो।
लम्तरी डाँडामा अवस्थित लम्तरी माईको मन्दिर धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिन्छ। निर्माण कार्य सम्पन्न भएपछि यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
२०४३ सालमा भवन निर्माण गरिएको भएता पनि २०४४ सालमा लम्तरी डाँडामा अवस्थित लम्तरी माईकी साइँली छोरीलाई यङजाकोटको देउरालीमा ल्याई झाँक्री श्री प्रसाद गुरुङ र बेलबहादुर गुरुङले देउरालीमा रहेको भवनमा स्थापना गरेका थिए। उक्त धार्मिक कार्य सफलतापूर्वक सम्पन्न भएको र त्यसले स्थानको धार्मिक महत्व अझ बढाएको विश्वास गरिन्छ।
हाल मन्दिरको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र यही महिनाको अन्तिमसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ समिति सक्रिय रूपमा लागिपरेको समाजसेवी खड्क गुरुङले जानकारी दिए।
उनले हालसम्म सहयोग तथा समर्थन गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि थप सहयोग गर्न सबैमा अपिल गरेका छन।