ऐतिहासिक चैते दशैं छ्याङदि मेला २०८२ सुरु

लमजुङ जिल्लाको दोर्दी गाउँपालिका वडा नम्बर ८ अन्तर्गत खिन्चोकमा ऐतिहासिक चैते दशै छ्याङदि मेला २०८२ भव्य रुपमा शुरु भएको छ। “खेलकुद युवाको पहिचान, समृद्ध नेपाल साझा अभियान” भन्ने मूल नाराका साथ तमु कल्याण युवा क्लबले मेलाको आयोजना गरेको हो।

मेलाको उद्घाटन समाजसेवी लाल बहादुर गुरुङले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले मेलामा सञ्चालन हुने फुटबल लगायतका खेलहरू अनुशासित ढंगले खेल्न खेलाडीहरूलाई आग्रह गरे। साथै, झै–झगडा नगरी खेलकुदलाई स्वस्थ प्रतिस्पर्धाको माध्यम बनाउनुपर्नेमा जोड दिए।

उनले यो मेला दोर्दी गाउँपालिकाको पुरानो तथा ऐतिहासिक परम्परासँग जोडिएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले हातेमालो गर्नुपर्ने बताए।

मेलामा पुरुष तथा महिला फुटबल, ३५ वर्षमाथिका खेलाडीका लागि भेट्रान्स फुटबल प्रतियोगिता तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ। मेला आगामी चैत २१ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रमका विशेष अतिथि तथा वडा नम्बर ८ का वडा अध्यक्ष नारायण गुरुङले मेला भव्य र सभ्य बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

क्लबका अध्यक्ष सिंह बहादुर घलेले मेला सफल बनाउन सहयोग गर्ने विभिन्न संघसंस्था, राजनीतिक दल, आमा समूह, क्लब सदस्य तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै सबैलाई मेला अवलोकनका लागि आमन्त्रण गरे।

खेल मेलामा ठेलो प्रतियोगितामा अनिल गुरुङ पहिलो र सनिश गुरुङ दोस्रो भए।

कार्यक्रम सन्चालन सुजन घले गरेका थिए भने स्वागत मन्तव्य क्लबका पूर्व अध्यक्ष पुष्पराज गुरुङले राखेका थियो।

प्रतिक्रिया दिनुहोस