पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ कास्कीको २५औँ वार्षिक साधारण सभा तथा प्रथम ऐतिहासिक चाडपर्व उपहार योजना–२०८२ को उपहार सार्वजनिक कार्यक्रम २०८२ पुस १९ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मोबाइल वितरक सङ्घ, गण्डकी प्रदेशको विशेष सहयोग रहेको थियो । कार्यक्रममा एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायी मात्र नभई पहिले नेपाली नागरिक भएको स्मरण गराउँदै मुलुकको हितलाई सर्वोपरी राखेर व्यवसाय गर्नुपर्नेमा जोड बताए ।राज्यसँग लिनुपर्ने विषय संवाद र छलफलबाट समाधान हुनुपर्ने उल्लेख गर्दै व्यवसायीलाई निरुत्साहित गर्ने वातावरण अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

व्यवसाय गरेकै कारण अनावश्यक आरोप र प्रहरी हिरासतसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएपछि व्यवसायिक सुरक्षाका लागि महासङ्घ गठन गरिएको अग्रवालले बताए ।नेपाल मोबाइल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सोभियत प्रसाईंले छोटो समयमै महासंघको सञ्जाल ७२ जिल्लामा विस्तार भएको जानकारी दिए ।
महासङ्घ स्थापना गर्दा देखिएका दृश्य तथा अदृश्य अवरोधलाई एकताको बलमा पार गर्दै दर्ता सफल भएको स्मरण गर्दै उनले महासङ्घ व्यवसायीको हकहितमा निरन्तर क्रियाशील रहेको उल्लेख बताए ।व्यवसायीबीच एकता नहुँदा कम्पनीको मनोमानी, मार्जिन तथा स्किममा विकृति बढेकाले महासङ्घको आवश्यकता परेको उनको भनाइ थियो ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी सङ्घ कास्कीका अध्यक्ष चिन्तामणि खरेलले २०५७ सालमा स्थापना भएको सङ्घले २०८२ सम्म आइपुग्दा छुट्टै पहिचान बनाएको बताए ।कोरोना महामारी, जेन्जी आन्दोलन तथा वैदेशिक रोजगारीका कारण बजारमा आएको आर्थिक मन्दीले व्यवसाय प्रभावित भएको उनले उल्लेख गरेका थिए ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि आवश्यक भौतिक पूर्वाधारको विकास नहुँदा अपेक्षित लाभ नपाएको उनको गुनासो थियो ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतम र पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले व्यवसायी संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको जनाउँदै व्यवसायिक आचरण र वैधानिक कारोबारमा जोड दिएका थिए ।
साधारण सभामा अध्यक्ष खरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, महासचिव रामचन्द्र तिवारीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गानाथ लामिछानेको आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत पारित गरिएको थियो ।
साथै कार्यक्रममा चाडपर्व उपहार योजना–२०८२ गरिएको थियो।उपहार पर्नेहरु अन्तर्गत कुपन नम्बर २२२१७ ले मोटरसाइकल, ३३६३१ ले स्कुटर, ४३४१९ ले टेलिभिजन सेट तथा ०४००४, ०४५३५, २९३३१, ४७१९२, ३५१७९ र १८९०९ ले स्मार्ट मोबाइल फोन प्राप्त गरेका छन् ।
कार्यक्रमको अवसरमा विहान बास्तोलाथरबाट बाजागाजा सहितको प्रभातफेरी र्याली नयाँबजार, महेन्द्रपुल र चिप्लेढुङ्गा हुँदै सभास्थलमा पुगेर समापन गरिएको थियो ।सङ्घका अध्यक्ष चिन्तामणि खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष होमविलास सापकोटाले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन सञ्चारकर्मी उपेन्द्र पौडेलले गरेका थिए ।

नेपाल मोबाइल व्यवसायी महासङ्घको तेस्रो महाधिवेशन २०८२ माघ १७ गतेदेखि काठमाडौंमा हुने जनाइएको छ ।