घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि कोरला नाकाबाट मालवाहक ट्रक आउन सहज

नेपाल र चीनबिच मुस्ताङबाट जोडिएको सिमाना कोरला नाकाबाट सामग्रीहरू भित्रिने क्रम बढेपछि धेरै टन सामान बोकेका ‘ट्रक’ तथा ‘कन्टेनर’हरू घमी खोला पार गरेर मुस्ताङबाट बाहिरिन समस्या भइरहेको थियो । यात्रुवाहक र अन्य साना सवारीहरू सञ्चालन गर्नको लागि खोलामा काठ, रड र सिमेन्ट प्रयोग गरेर बनाइएको पुरानै पुलले काम गरिरहेको भए पनि मालवाहक ‘ट्रक’हरू गह्रौँ सामग्रीहरू बोकेर खोल पार गर्न नसक्ने अवस्था रहेको थियो ।

घमी खोला पुल निर्माणमा ढिलाइ हुँदा मालवाहक ‘ट्रक’हरू भन्सारमा नै रोकिएर बस्नुपरेको थियो । खोलामा सडक ‘डाइभर्सन’ नहुँदा चीनबाट आयात गरिएका उपकरण तथा निर्माण सामग्रीसहितका १० पाङ्ग्रे ‘ट्रली’ तथा ‘ट्रक’हरू भन्सार कार्यालय न्हेचुङमै थन्किएका थिए । मुस्ताङ भन्सार कार्यालयमा जाँच पास भएर पनि ‘डाइभर्सन’को अभावमा रोकिएका मालवाहक सवारीहरू अब सहजै मुस्ताङबाट बाहिरिन पाएका छन् ।

मुस्ताङको लो–घेकेर दामोदर गाउँपालिका–२ स्थित घमी खोलामा अस्थायी ‘डाइभर्सन’ बनेपछि मालवाहक ‘कन्टेनर’हरू आवतजावत गर्न सहज हुने भएको छ ।

घमी खोलामा २०७५ सालदेखि पुल निर्माणको काम चलिरहेको छ । करिब सात करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुल लामो समयसम्म पनि पुरा नहुँदा समस्या भइरहेको छ । तर अब असारसम्ममा पुल निर्माणको काम सकिने र कोरला नाकाबाट आयात झनै सहज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस