मादी गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कास्की। जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजना तथा मादी गाउँपालिकाको समन्वय र सहजीकरणमा संघ, प्रदेश तथा स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवा तथा विकास आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम मादी गाउँपालिका वडा नं. ७ मा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङ ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ को उपस्थिति रहेको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बराल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्की, सशस्त्र प्रहरी बल कास्कीका प्रमुख, मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण भण्डारी, गाउँपालिकाका वडाध्यक्षहरू, वडा सचिवहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत तथा शुभकामना मन्तव्य मादी गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष दुर्गा बहादुर गुरुङ ले व्यक्त गर्नुभएको थियो। उहाँले मादीवासीको प्रतिनिधित्व गर्दै स्थानीय जनताका गुनासा, सुझाव तथा समस्याहरू प्रमुख जिल्ला अधिकारीसमक्ष प्रस्तुत गर्नुभयो।

वडाध्यक्ष गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन र राहत वितरणलाई प्रभावकारी बनाउनुपर्ने, मध्यपहाडी लोकमार्ग निर्माण कार्यलाई शीघ्र अगाडि बढाउनुपर्ने, प्रभावित नागरिकलाई उचित मुआब्जा तथा राहत उपलब्ध गराउनुपर्ने, साथै काहुँखोला–सिक्लेस खण्डअन्तर्गत विजयपुरदेखि थाक उकालोसम्मको सडकको मर्मत तथा स्तरोन्नतिलाई प्राथमिकता दिनुपर्ने विषयमा विशेष ध्यानाकर्षण गराउनुभयो।

सार्वजनिक सुनुवाइका क्रममा सहभागी स्थानीयवासीहरूले जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी निकाय र मादी गाउँपालिकाबाट प्रवाह भइरहेका सेवाका सम्बन्धमा देखिएका समस्या, गुनासा तथा सुधारका सुझावहरू खुलस्त रूपमा राखेका थिए।उठाइएका प्रश्न तथा सुझावहरूमाथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नविन कार्की, मादी गाउँपालिकाका अध्यक्ष देविजङ गुरुङ तथा प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङले जवाफ दिँदै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्देश्य तथा सार्वजनिक सुनुवाइको औचित्यमाथि सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले प्रकाश पार्नुभएको थियो। उहाँले सार्वजनिक सुनुवाइले नागरिक र सरकारी निकायबीचको दूरी घटाउँदै सुशासन, उत्तरदायित्व र प्रभावकारी सेवा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

कार्यक्रममा स्थानीय नागरिकहरूले आफ्ना समस्या र सुझाव प्रत्यक्ष रूपमा सम्बन्धित निकायसमक्ष राख्ने अवसर पाएका थिए। सहभागीहरूले यस्तो सार्वजनिक सुनुवाइ कार्यक्रमले जनप्रतिनिधि, प्रशासन र नागरिकबीच समन्वय तथा विश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस