मध्यरातमा निर्देशन आयो,फेवाताल किनारका अस्थायी संरचना बिहानै भत्काइयो

पोखरा। फेवातालको संरक्षण गर्नको लागि पोखरा महानगरपालिकाले अभियान सुरु गरेको छ।

फेवाताल किनारमा रहेका मापदण्ड विपरीतका अस्थायी संरचनामा पोखरा महानगरको डोजर चलेको छ । विगत केहि वर्ष अघि ६५ मिटरको मापदण्ड बारेमा सर्वोच्च अदालतले पनि फैसला गरेको छ। वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले पनि फेवाताल मापदण्ड चासो राखेका छन।

व्यवसायी कर्ण शाक्यको वाटर फ्रन्ट रिसोर्टको स्विमिङ पुल, गेट र पर्खाल सहितका अस्थायी संरचनामा डोजर चलेको हो । बिहान साढे चार बजेदेखि नै प्रहरी परिचालन गरेर अतिक्रमित अस्थायी संरचनाहरू भत्काउन थालिएको हो ।

गृह मन्त्रालयको निर्देशन अनुसार शनिबार बिहानैदेखि तालको ६५ मिटर भित्र पर्ने अस्थायी संरचना भत्काउन थालिएको हो ।जिल्ला प्रहरी कार्यालय, बैदाम प्रहरी, नगर प्रहरी र सशस्त्र गरी झण्डै डेढ सय प्रहरीलाई फिल्डमा खटाइएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) हरीबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कुनै ठुलो अवरोध नभए पनि केही स्थानीयले सामान्य असहमति जनाएका छन् ।

संरचना भत्काउन मध्यरातमा काठमाडौँबाट निर्देशन आएको थियो । त्यसकै आाधारमा प्रहरीले सम्बन्धित निकायसँग समन्वय गरेको थियो । मध्यराति नै पोखरा महानगरसँग प्रहरीले समन्वय गरेको हो ।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यका अनुसार हटाइएका सबै अस्थायी संरचना हुन। उनले संरचना हटाएपनि मुआब्जा पाउनुपर्ने जग्गाधनीलाई समस्या नहुने बताएका छन।

प्रतिक्रिया दिनुहोस