कास्की।नेपाली कांग्रेस कास्कीको प्रतिनिधिसभा क्षेत्र नं. १ ले चुनावी अभियानका लागि दुई स्थानमा सम्पर्क कार्यालय स्थापना गरेको छ।बुधबार पोखरा महानगरपालिका वडा नं. ३० को खुदी र वडा नं. ३१ को मोहरियामा सम्पर्क कार्यालय स्थापना गरिएको सूचना, सञ्चार तथा आइटी समितिका संयोजक नवीन सिग्देलले जानकारी दिए ।
दुवै स्थानमा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलकबहादुर रानाभाटले देशलाई संकटबाट जोगाउनका लागि कांग्रेसलाई बहुमत आवश्यक रहेको बताए। उनले आफू देश र जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनता र देशको आवश्यकता नै आफ्नो प्राथमिकता भएको बताए।
नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले कांग्रेसको नेतृत्वमा नै देशले निकास र विकास पाउने बताए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसीले पार्टीभित्रका सबैजना नेता तथा कार्यकर्ता आफूलाई नै तिलक रानाबाट ठानेर निर्वाचनमा होमिनुपर्ने उल्लेख गरे ।
पूर्वमन्त्री एवं नेपाली कांग्रेस काशीका पूर्व सभापति यज्ञबहादुर थापाले कांग्रेस नै देशको भविष्य भएको बताए।
नेपाली कांग्रेस कास्कीका सभापति किशोर दत्त बरालले सुधारिएको कांग्रेसप्रति जनताको आकर्षण बढिरहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ३० का सभापति ध्रुवराज न्यौपाने,वडा नं. ३१ का कार्यवाहक सभापति भानुभक्त पौडेल, उपसभापतिहरू डम्मरु बल्लभ चापागाई, वीरबहादुर लामा वाइबा, सचिवहरू रामचन्द्र अधिकारी, श्रीराम कडेल वीरभद्र कडेल, युवा नेता प्रतापमोहन पौडेल लगायतले बोलेका थिए।