भिम बहादुर बि.क क्षितिज
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले रुकुम (पश्चिम) गएर फागुन २१ मा हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा रुकुम (पूर्व) बाट उठ्ने उद्घोष गरे सँगै राजनीतिमा फेरि नयाँ बहस सिर्जना भएको थियो । प्रचण्डले ०६४ मा रोल्पा र काठमाण्डौं–१० बाट, ०७० मा सिरहाबाट, ०७४ मा चितवनबाट ०७९ मा गोरखाबाट निर्वाचित हुँदै ०८२ को निर्वाचनमा रुकुम पूर्वमा उम्मेदवारी दिएका छन् । प्रचण्डले जनयुद्धको आधार क्षेत्र रोल्पाबाट आफ्नो संसदीय यात्रा आरम्भ गरे, अहिले जीवनको उत्तार्धमा फेरी अर्को जनयुद्धको आधार क्षेत्र रुकुमबाट उठ्नु पनि आफैमा रणनैतिक महत्व राखेका होलान् नै । यो सँगै नेपालमा निरन्तर ५ वटा निर्वाचनमा भिन्न-भिन्न निर्वाचन क्षेत्रबाट उठ्ने एक मात्र दृष्टान्तको रुपमा प्रचण्ड उदाएका छन् । कतिपयले यो कदमलाई गतिशील र राजनेताको वास्तविक पहिचानको रुपमा अर्थाएका छन् भने कतिपयले प्रचण्ड आफूलाई सुरक्षित ठाउँ रोज्दा रोज्दै त्यहाँ पुगेको टिप्पणी सहित आलोचना गरेका छन् । यसै बहसको सन्दर्भमा यो संक्षिप्त आलेख तयार पारिएको छ ।
नेपालको वर्तमान शासनव्यवस्था संसदीय लोकतन्त्रमा आधारित छ, जहाँ प्रधानमन्त्री राष्ट्रको कार्यकारी प्रमुखका रूपमा स्थापित छन् । यद्यपि नेपालको संविधानमा राष्ट्र प्रमुख राष्ट्रपति भएता पनि अधिकारको हिसाबले प्रधानमन्त्रीलाई नै कार्यकारी प्रमुख मानिन्छ । प्रधानमन्त्री राष्ट्रको सर्वोच्च भूमिकामा भए पनि व्यवहारिकरुपमा हेर्दा दायरा प्रायः सीमित रूपमा प्रतिविम्बित हुने गरेको छ । विशेषतः एउटै निर्वाचन क्षेत्रबाट अबिच्छिन्न निर्वाचित हुने परम्पराले प्रधानमन्त्री भएका नेताहरूको समेत राजनीतिक दायरा क्षेत्रीय तहमै सिमित गरिदिएको छ । यस पृष्ठभूमिमा प्रचण्डद्वारा विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिँदै आएको अभ्यासलाई नेपालको संसदीय राजनीतिक इतिहासमा राष्ट्रिय नेतृत्व निर्माणका दृष्टिले एक महत्वपूर्ण पहलकदमीको रूपमा लिन सकिन्छ । जसलाई निम्न बमोजिम स्पष्ट पार्न खोजिएको छ ।

१. राष्ट्रिय नेतृत्वको अवधारणा
सैद्धान्तिक रूपमा प्रधानमन्त्री राष्ट्रको समग्र हित, विकास र कूटनीतिक दायित्वहरू वहन गर्ने व्यक्तित्व हो । तर यथार्थमा प्रधानमन्त्री भएकाहरू पनि अबिच्छिन्न एउटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र मुख्यरुपमा त्यहि क्षेत्रको विकासमा केन्द्रित भएकोले आम जनताको धारणा भिन्न देखिन्छ । पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली झापाबाट र शेरबहादुर देउवा डडेल्धुराबाट निरन्तर उठ्ने र प्रधानमन्त्री भएपनि मुख्यरूपमा त्यहीको विकासमा ध्यान दिने गरेको देखिन्छ । प्रधानमन्त्री जस्तो उच्च पद र प्रभावलाई राजनीतिक र प्रशासनिक रुपमा राष्ट्रिय व्यक्तित्व रुपमा नकार्न नमिलेता पनि जनतामा उनीहरूको विकासको मोडेललाई मुख्यतः आफ्नो स्थानीय क्षेत्रका प्रतिनिधि रूपमा बुझिने मनोवैज्ञानिक प्रवृत्ति विद्यमान छ । जसले गर्दा एउटै क्षेत्रमै सीमित राजनीतिक सक्रियताले कुनै नेताको राष्ट्रिय चरित्र निर्माणमा अवरोध पुगेको देखिन्छ । क्षेत्रीय सीमितताबाट माथि उठी नेतृत्वको राष्ट्रव्यापी दृष्टिकोण निर्माण गर्न र जनतामा प्रधानमन्त्री राष्ट्र प्रमुख हुन् पक्षपात नराखी समग्र राष्ट्रको विकास गर्छन् भन्ने भावना बृद्धि गर्न प्रचण्ड मोडेल सहि देखिन्छ ।
२. सन्तुलित विकास
नेपालको विकासमा असमानता छ । संघीयता कार्यन्वयनको एक दशक भएता पनि अझै पनि काठमाण्डौं र मुख्य शहर केन्द्रित विकास नै हावी छ । कर्णाली, सुदूरपश्चिम, मधेश तथा पहाडी भेगहरूका धेरै भाग अझैपनि पर्याप्त सरकारी लगानी, पूर्वाधार, शिक्षा र स्वास्थ्य सेवामा पिछडिएको अवस्थामा छन् । नेपाल राष्ट्रको समग्र विकासको लागि राष्ट्रिय तहका नेताहरूले विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने अभ्यास सन्तुलित विकासका दृष्टिले महत्वपूर्ण हुन सक्छ । पहिलो कुरा त यसले राष्ट्रका विविध क्षेत्रका समस्या, आवश्यकताहरू र सम्भावनाहरू प्रत्यक्ष रूपमा बुझ्न नेतालाई सक्षम बनाउँछ । दोस्रो, हेविवेट नेताहरू नयाँ क्षेत्रमा उठ्दा त्यस क्षेत्रले राष्ट्रिय प्राथमिकतामा स्थान पाउने सम्भावना बढ्छ । तेस्रो, विकासका अवसरहरू एकै ठाउँमा केन्द्रित नभई भौगोलिक रूपमा समान रूपमा वितरण हुने वातावरण निर्माण हुन्छ ।
यसर्थ प्रचण्डले भिन्न भिन्न जिल्ला र क्षेत्रबाट निर्वाचन लड्दै आएको तथ्यले उनी विभिन्न क्षेत्रका जनजीवन, अपेक्षा र विकासीय अवस्थासँग निकट रूपमा परिचित हुन सकेका छन् भन्न सकिन्छ । भिन्न भिन्न क्षेत्रसँगको प्रत्यक्ष सम्पर्कले राष्ट्रिय नीति निर्माणमा समावेशी र सन्तुलित दृष्टिकोण विकास गर्न सहयोग पुर्याइरहेको एकहदसम्म अनुभूति पनि गर्न सकिन्छ ।
३.राष्ट्रिय छवि निर्माणको मनोविज्ञान
राष्ट्रिय नेता बन्ने प्रक्रिया केवल औपचारिक पदवोन्नतिमा सीमित हुँदैन । जनताको मनोविज्ञानमा ‘यो नेता हाम्रो मात्र होइन, राष्ट्रकै नेता हो’ भन्ने विश्वास सिर्जना हुनु आवश्यक छ । विभिन्न क्षेत्रका मतदातासँग प्रत्यक्ष सम्पर्क बनाउने अभ्यासले नेताको उपस्थितिलाई भौगोलिक रूपमा व्यापक बनाउँछ, क्षेत्रीय पहिचानमाथि आधारित राजनीतिक विभाजन कम गर्नुका साथै नेतृत्वको प्रतिकात्मक मूल्य र जनविश्वास बढाउँछ । यसरी राष्ट्रिय नेता ‘विशिष्ट क्षेत्र’ सँग जोडिने होइन, ‘राष्ट्रव्यापी सरोकार’ र ‘साझा पहिचान’ सँग सम्बद्ध हुने प्रक्रिया विकसित हुन्छ ।
यस परिप्रेक्ष्यमा प्रचण्डको अभ्यास महत्वपूर्ण छ, किनकि उनले कुनै एक क्षेत्रमा दिर्घकालीन राजनीतिक एकाधिकार बनाएर होइन, विभिन्न स्थानका जनतासँग सम्बन्ध विस्तार गर्दै आफ्नो राजनीतिक वैधता निर्माण गरेका छन् ।
४. उत्तरदायित्व र नेतृत्व क्षमता वृद्धिमा प्रभाव
भिन्न भिन्न क्षेत्रबाट निर्वाचित हुने नेता निरन्तर नयाँ सामाजिक–आर्थिक परिवेश, समस्या र अपेक्षासँग अवगत हुन बाध्य हुन्छन् । यसले नेताको उत्तरदायित्व बोध र नीतिगत दृष्टिकोण दुवैलाई परिष्कृत बनाउँछ । एउटै क्षेत्रमा सीमित हुँदा स्थानीय राजनीतिक जडता, व्यक्तिगत प्रभाव वा दीर्घकालीन सञ्जालको प्रभाव देखिन्छ । खासगरी पूर्व प्रधानमन्त्री जस्ता हेविबेट उम्मेदवारको लागि जीत सहजै हुन्छ भन्ने परिणामहरुले प्रमाणित गरेका छन् । तर नयाँ क्षेत्रमा भने जनसमर्थन हासिल गर्नको पुनः परिक्षण हुनुपर्छ । जसले लोकतान्त्रिक प्रतिस्पर्धा स्वस्थ बनाउने अपेक्षा गर्न सकिन्छ ।
निष्कर्षः
नेपाल जस्तो विविध भू–भाग, पहिचान, भाषा, जाती, धर्म र सामाजिक–आर्थिक संरचना भएको मुलुकमा प्रत्येक निर्वाचनमा भिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने प्रचण्डको अभ्यासलाई वास्तविक राष्ट्रिय नेताको रुपमा आफूलाई उभ्याउन खोजेको कुरालाई हामीले मनन गर्नुपर्छ । प्रचण्डको यस प्रकारको अभ्यास केवल चुनावी रणनीतिको रुपमा नबुझी राष्ट्रिय दृष्टिकोण मजबुत बनाउने, सन्तुलित विकासलाई प्रवद्र्धन गर्ने, जनतामा साझा नेतृत्वको भावना निर्माण गर्ने र राजनीतिक संस्कृतिलाई परिष्कृत गर्दै लोकतान्त्रिक चरित्रलाई सुदृढ गर्ने महत्वपूर्ण कडीको रुपमा लिनुपर्छ । काठमाडौंबाट निर्वाचनमा भाग लिइरहेका नेपाली काग्रेसका नवनिर्वाचित सभापति गगन थापा सर्लाही-४ बाट र काठमाडौंका मेयर बालेन्द्र शाहले झापा-५ बाट उम्मेदवारी दिदै प्रचण्ड मार्गमा हिड्न खोजेको देखिन्छ तर उनीहरुको कदम परिक्षणमा नै छ भने प्रचण्डले भने आफ्नो यात्रामा निरन्तर सफलता हासिल गरेका छन् । मूलतः प्रचण्ड मोडेल एक वास्तविक राष्ट्रिय नेतृत्व विकास र नेपाल राष्ट्रको समग्र विकासको लागि उत्कृष्ट मोडेल हो ।